कविता के हो ?कसरी लेख्ने कविता कवि डा. नवराज लम्सालका यी प्रेरणादायी सूत्र :

पानी बग्दै गएपछि आफैँ सङ्लिएजस्तो स्रष्टा पनि लेख्दै गएपछि माझिँदै जान्छ तर बग्ने ठाउँ आफैँ फोहोर भयो भने कहिल्यै सङ्लिन्न । झारहरूले तुलसी छोप्ने र झारलाई नै तुलसी मानेर एकादशी मनाउनेहरूको देश हो यो । यसबाट आजैदेखि मुक्त भएर आफू आफैँ भएर बाँच्ने कला विकसित गर्नु हुन सप्रेम आग्रह छ ।


……….
१. कसैलाई खुसी पार्न कविता नलेख्नुस् आफ्नै हृदयलाई खुसी पार्न कविता लेख्नुस्, त्यो खुसी सत्यको नजिक हुन्छ ।

२. कविता अन्तरको खोजी हो, बाह्य दुनियाँ माध्यममात्र हो, यही माध्यम टेकेर अन्तरयात्रामा प्रवेश गर्नुस् । आँखा चिम्म गर्दा आफूचित्र जुन चित्र झल्झली आउँछ, त्यसैलाई पछ्याउनुस्

३. वयान, वर्णन र विवरणबाट मुक्त हुनुहोस् । यी चिन्ताका घेरा हुन् । चिन्ताभन्दा माथि चिन्तनको तहमा उक्लनुस् । यसबाट जीवन काव्यिक साधनाको नजिक पुग्छ । शब्द आगो हुन्, यसलाई खेलाँची गरेर खेर नफाल्नुस् ।

४. कुनै वाद, दर्शन, सिद्धान्त, घोषणा र प्रभावको घेराभन्दा माथि बस्नुस् र आँखामा मान्छेमात्र राख्नुस् । त्यो मान्छेमाथिको अर्जुनदृष्टिमा आफैँ आउँछ मान्छेको भूगोल, इतिहास, संस्कृति, जीवनशैली, बाँचेको समय र जिन्दगीको रङ । कविले कसैको जीवनलाई रङ दिने होइन, भएको रङ देखाइदिने हो ।

५. सम्पूर्ण संस्कृति, जाति, धर्म, विश्वास, मान्यता, भूगोल र अनुहारमाथि समान स्नेह राख्नुस् र मान्छेलाई मान्छेकै रूपमा मात्र हेर्नुस् । म फलानो वादी हुँ भनेर आफैँ नभन्नुस्, तपाईँ कस्तो कवि हो कविता आफैँले भनोस् ।

६. सोच्नुस् तपाईँको कविता कसैले पढेन भने नपढ्नेले के गुमाउँछ ?तपाईँको कवितामा के त्यस्तो शाश्वत चिज छ, जुन पढ्दा पाठकलाई आनन्द मात्र होइन, ऊर्जा, ज्ञान र दृष्टिकोण पनि दिन्छ ? सोच्नुस् रमाइलाकै लागि भए त जे गरे पनि भयो नि ? किन पढ्नु कविता ?

७. गद्य, पद्यको भ्रमबाट माथि उठ्नुस्, गद्यमा लेखेर मात्र पनि कविता
हुन्न र पद्यमा लेखेर मात्र पनि कविता हुन्न । गद्य र पद्य त माध्यम हुन् । कविता कवितै हुनुपर्छ । सबैलाई सम्मान गर्नुस् तर पद्यका नाममा भाका मिलाउने र गद्यका नाममा गन्गन गर्नेसँग कुनै विवाद गरेर समय खेर नफाल्नुस् । कविताजस्तो कविता लेख्नुस् । सम्झनोस् संगठनले होइन,
साधनाले कवि जन्माउँछ ।

८. अर्काको कुरा प्रेमपूर्वक सुन्नुस् । अरूलाई बोल्न, भन्न र आफ्नो कुरा
गर्न नरोक्नुस् । आफू अनावश्यक हावी नहनुस्, नलाद्नुस् नलादिनुस् तर विवेक वन्दकी राखेर कसैको जीहजुरी पनि नगर्नुस् । स्वाभिमान कवि र कविताको मूलशक्ति हो ।

९. दुःखको साथ भन्नुपर्छ कविता लेखनको तुलनामा आजको समालोचना धेरै पछाडि छ । उहाँहरूको मेहनत र कोशिशलाई प्रेम गर्नुस् । उहाँहरूलाई श्रद्धा गर्नुस्, कुरा पनि सुन्दिनुस् तर
नपत्याउनुस् । केही समालोचकलाई छाड्ने हो भने आजका धेरैजसो
समालोचना कुनै व्यक्ति विशेषको लहड मात्र हो । तिनीहरू खास कविताभित्र छिरेकै छैनन् ।

१०. म किन लेखिरहेछु, के लेखिरहेछु, के कारणले अरूभन्दा फरक छु र मैले नलेख्दा के हुन्छ र के छुट्छ भन्ने हेक्का राख्नुस् र आफ्नो रचनामाथि आफै समीक्षा गर्न सक्ने सामथ्र्य राख्नुस् ।
………..
आदेश वा उपदेश नसम्झनुस् । यी मेरा निजी कुरा हुन् । सम्झनोस् समय सधैँ एकनाश रहन्न । २०७५ मा यो तर्क गरिरहँदा समय २०८५ पनि आउँछ । त्यही समयले गर्छ आजको मूल्याङ्कन । हो, त्यही समयलाई पनि काम लाग्ने कविता भयो कि भएन ? यत्ति हेर्नुस्, हेर्दिनुस् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु