डलरले भोकै मार्दै छ केटाकेटी


तस्बिरकी बालिका अबरार इब्राहिम हुन्। यमनकी १२ वर्षीया केटी। उनको तौल मात्र साढे १२ किलो छ। उनको बारेमा मैले जे लेखे पनि त्यो उनको तस्बिरजति साँचो र तीक्ष्ण बन्न सक्दैन। आठ वर्षका याकुब वालिदका हातगोडा काठका लट्ठीजस्ता छन्। खान नपाएर उनी यो हालतमा पुगेका हुन्।

तर, उनी न रुन्छन्, न गुनासो नै गर्छन्। एकोहोरो अगाडि हेरिरहन्छन्। वरिपरि भएका कुनै पनि गतिविधिमा उनको ध्यान जाँदैन। किनभने, भोकको अन्तिम चरणमा मानव शरीरले अंगप्रत्यंगलाई जिउँदो राख्नमै हरेक क्यालोरी खर्चिन्छ।

याकुब बेहोश अवस्थामा अल सदाका अस्पताल ल्याइएका थिए। उनको तौल साढे १३ किलो छ। शरीरमा अनेक जटिलता छन्। उनी मर्छन्, बाँच्छन् वा उनको मस्तिष्क स्थायी रूपमा क्षतिग्रस्त हुनेछ, डाक्टरहरूलाई थाहा छैन। गरिब परिवारका उनी आठमध्ये दोस्रो सन्तान हुन्। उनको उपचारमा परिवारले केही जमिनसमेत बेच्यो।

यमनमा करिब ८५ हजार बालबालिका पहिले नै मारिइसकेका छन्। १ करोड २० लाख मानिस अनिकाल खेपिरहेका छन्। संयुक्त राष्ट्रसंघका अधिकारीहरूले यो पछिल्लो समयको सबैभन्दा खराब भोकमरी हुनसक्ने चेतावनी दिएका छन्।

यमनमा अमेरिकी समर्थनमा भइरहेको साउदी आक्रमणका कारण अबरार र याकुबको यस्तो हालत भएको हो। तीन वर्षदेखि यमनमा साउदी अरब नेतृत्वको गठबन्धनले हवाई आक्रमण गरिरहेको छ। र, यसलाई सघाइरहेको छ, अमेरिकाले। ओबामा र ट्रम्प प्रशासन दुवैले यमनमा साउदीको युद्धलाई समर्थन गरेका छन्।

साउदीसँग सैन्य गठबन्धन गरेका छन्। हतियार बेचेका छन्। गुप्तचर सूचना आदानप्रदान गरेका छन्। केही मानवअधिकारकर्मीको विचारमा यमनमा युद्ध अपराध भइरहेको छ। सो अपराधमा अमेरिका पनि सामेल छ। खास कुरा के हो भने अमेरिकीहरूले तिरेको कर यमनी बालबालिकालाई भोकभोकै मार्नमा खर्च भइरहेको छ।

अमेरिकी कंग्रेसका सदस्यहरू यमन युद्धमा अमेरिकाको समर्थन अन्त्य गर्ने उपायबारे विचार गरिरहेका छन्। उनीहरूले अबरारको तस्बिर हेर्नु उपयुक्त हुन्छ। किनभने, उनको कृशकायले अमेरिकी नीति प्रतिविम्बिन गर्छ। जसले यमनमा दशौँ हजार बालबालिकालाई मार्न सघाइरहेको छ।

अमेरिकी नागरिकका रूपमा यमनमा यात्रा गर्नु र आफ्नो देशले पुर्याएको क्षति हेर्नु मेरा निम्ति निकै हृदयविदारक छ। युद्ध भन्नेबित्तिकै हामी सोच्छौँ, गोली लागेका मान्छे, अंगभंग भएका घाइते। तर, यमन युद्धको सबैभन्दा ठूलो क्षति त्यो होइन। यहाँ त गोली लागेर सैनिक मारिइरहेका छैनन्, बच्चाहरू भोकले मरिरहेका छन्।

यमनी जनको कष्टको कारण जटिल छ। यो कुरा साँचो हो। तर, अमेरिका यो युद्धको साझेदार हो। युद्धले यमनको अर्थतन्त्र ध्वस्त पारेको छ। अबरारका बुबा समुद्री किनारको हुदेद्दाह शहरका बासिन्दा हुन्। उनी माछा मारेर जीविका चलाउँथे। युद्धका कारण उनीजस्ता मान्छेले माछा मार्न पाएका छैनन्। त्यसैकारण अबरार अस्पतालमा जीवनमरणको दोसाँधमा छिन्।

मैले पहिलो पटक सन् २००२ मा यमन भ्रमण गरेको थिएँ। त्यसबेला यहाँको सुन्दरता र मित्रवत् व्यवहार देखेर म यो देशको प्रेममा परेको थिएँ। त्यो मोहक देश अहिले ऐँठनमा परेको छ। युद्ध सुरु भएयता यहाँको कुल गार्हस्थ्य उत्पादन आधा भइसकेको छ। मान्छेहरू खाना किन्न सक्दैनन्। हवाईजहाज उडेको आवाज सुन्दा अहिले यमनीहरू आफैँमाथि बम खस्ने हो कि भनेर तर्सिन्छन्।

यी बालबालिकामध्ये थुप्रै मर्नेछन्। बाँच्नेहरूले जीवनभर मानसिक क्षति बेहोर्नुपर्नेछ। यमनका बहुसंख्यक बालबालिकाको शरीर कुपोषणका कारण सानो छ। सँगसँगै उनीहरू मानसिक रूपमा पनि कमजोर छन्। युद्ध र स्वास्थ्य सेवाको कमीले खतरनाक रोग फैलिइरहेका छन्। हैजा र डिप्थेरियाबाट मानिस मारिइरहेका छन्। देशका आधाजति अस्पताल र क्लिनिक बन्द भएका छन्।

यमनमा युद्ध किन हुँदै छ त ? अरब क्रान्तिपछि हुथी समुदायले यमनमा ज्यादाजसो भूभाग नियन्त्रण गर्यो। उनीहरू सिया सम्प्रदायका हुन्, जो इरानमा बढी छन्। त्यसैले साउदी र अमेरिकीहरू हुथीलाई इरानको कठपुतली ठान्छन्। हुथीहरू अल–कायदा र इस्लामिक स्टेटलाई हराउन सफल भएका छन्, तर उनीहरू अनुदार छन्।

मैले दुवैतर्फका यु्द्धरतहरूसँग अन्तर्वार्ता लिएँ। हुथी विद्रोहीका अध्यक्षसँग पनि कुरा गरेँ। दुवै पक्षको कुरा सुनिसकेपछि र यमनको मानवीय क्षतिको साक्षी बसिसकेपछि मैले के पत्ता लगाएँ भने यो युद्धमा अमेरिका र साउदी अरबको भूमिका अनुचित छ। हो, हुथीहरू दमनकारी छन्, तिनको भर पर्न सकिन्न, तिनलाई इरानको सहयोग छ। तर, बम बर्साउन र यमनी बालबालिकालाई भोकभोकै मार्न यो कारण पर्याप्त छैन। के यही कारणले अबरार भोकै मर्नुपर्ने ?

सबैभन्दा रिसउठ्दो कुरा त के भने खडेरी वा मौसमका कारण यो भोकमरी लागेको होइन। यो अनिकाल दुर्घटनावश उत्पन्न भएको पनि होइन। बरु रियाद र वासिंगटनको असफल र कुटिल नीतिका कारण भएको हो। यसलाई युद्धको हतियारका रूपमा प्रयोग गरिएको छ। साउदीले हुथी नियन्त्रित क्षेत्रमा आंशिक नाकाबन्दी लगाएको छ।

व्यावसायिक उडानमा प्रतिबन्ध लगाएको छ। राष्ट्रसंघका विशेष विमानमा पत्रकारहरूलाई जान दिइएको छैन। दुई वर्षदेखि म यमन पुग्न प्रयासरत थिएँ। अन्ततः राष्ट्रसंघीय प्रतिनिधि मण्डलको सदस्य भएर मात्र पुग्न सकेँ। अमेरिकी समर्थनमा साउदी अरब र युनाइटेड अरब इमिरेट्स हुथीहरूलाई कमजोर पारेर युद्ध जित्न चाहन्छन्।

साउदी र अमेरिकी सरकार याकुब वा अबरारको जस्तो तस्बिर संसारले देखोस् भन्ने चाहँदैनन्, जसले यमनी जनको कष्टलाई उजागर गर्छ। वासिंगटन र रियादका उच्चपदस्थहरू नीति बनाउँदा मारिएका मान्छेको हिसाबै गर्दैनन्। उनीहरूको विचारमा इरानलाई रोक्ने उपाय यही युद्ध हो। तर, यो तरिका असफल भइसकेको छ।

आमाबुबा भोकमरीमा परेका सन्तानको तस्बिर खिच्न दिन्छन्, किनभने उनीहरूलाई आशा छ, यो युद्धमा यमनले तिर्नुपरेको मानवीय मूल्यबारे अन्य देशका मान्छेले बुझे भने युद्ध रोक्न दबाब बढ्नेछ। तर, त्यसो भइरहेको छैन। अनिकालपछि जहिले पनि संसारले यस्तो घटना किन हुन दियो भनेर आत्ममन्थन हुने गरेको छ। तर, आत्ममन्थनले पुग्दैन।

अहिले यो प्रलयलाई रोक्न कारबाही आवश्यक छ। डाक्टरहरूलाई थाहा छैन, अबरार बाँच्छिन् या बाँच्दिनन्। तर, उनी हाम्रो आशा र प्रार्थनाको हकदार हुन्। अझ मुख्य कुरा, यो निर्लज्ज युद्ध अन्त्य हुनुपर्छ। अबरारको तस्बिर हेर्नुहोस्। अरू केही बोलिरहनुपर्छ र ?

(लेखक क्रिस्टोफ ‘द न्युयोर्क टाइम्स’ का स्तम्भकार हुन्। उनका ‘चाइना वेक्सः द स्ट्रगल फर द सोल अफ राइजिङ पावर’, ‘थन्डर फ्रम दी इस्टः पोर्टेट अफ ए राइजिङ एसिया’, ‘हाफ द स्काईः टर्निङ अप्रेसन इन्टू अपरच्युनिटी फर विमेन वल्र्डवाइड’लगायत किताब प्रकाशित छन्। यो लेख ‘न्युयोर्क टाइम्स’बाट के. गिरीले अनुवाद गरेका हुन्।)
अन्नपूर्ण सम्पूर्णवाट साभार

Comments

comments

सम्बन्धित शिर्षकहरु