पोखरा विरूद्ध काठमाडौंको जित, प्लेअफमा संभावना बलियो

काठमाडाैँ । एभरेष्ट प्रिमियर लिग इपिएलमा काठमाडौं किंग्सले पोखरा राइनोजलाई पराजित गरेको छ। शुक्रबार किर्तिपुर क्रिकेट मैदानमा सम्पन्न खेलमा काठमाडौंले पोखरामाथि ५ विकेटको जित हात पारेको हो।

टस हारेको पोखराले निर्धारित २० ओभर खेल्दा ६ विकेटको क्षतिमा १ सय ६५ रन बनाएको थियो। काठमाडौंले जवाफी व्याटिङमा ४ बल बाँकी छँदै ५ विकेट गुमाएर १ सय ६६ रनको लक्ष्यलाई भेट्टाएको हो।

काठमाडौंको जितमा केभिन ओ ब्रायनले सर्वाधिक ५४ रन बनाए भने रोहन मुस्ताफाले ४०, सुब्रमनियन आनन्दले २७ र सागर पुनले १८ रनको योगदान दिए।

यसअघि पहिले व्याटिङ गरेको पोखराका लागि रिचार्ड लेभिले ३८, काइल कोट्जर र पल कफलिनले समान ३७–३७ रन बनाए। बिनोद भण्डारी १७ रन बनाउनु बाहेक अन्यले उल्लेखनीय रन बटुल्न सकेनन्।

पोखराविरुद्ध काठमाडौंका केभिन ओ ब्रायन र विक्रम भूषालले समान २–२ विकेट हात पारे। खेलको म्यान अफ दि म्याच काठमाडौंका केभिन ओ ब्रायन घोषित भए।

आजको जितसँगै पोखराले प्लेअफमा पुग्ने संभावना बलियो बनाएको छ। काठमाडौंले ३ खेलबाट ४ अंक बटुलेको छ। पोखराको ४ खेलबाट शून्य अंक छ।

६ टोली सम्मिलित इपिएलको अहिलेसम्मको अंक तालिका अनुसार ललितपुर प्याट्रियट्स र भैरहवा ग्लाडियटर्सको समान ६–६ अंक छ। भैरहवा वारियर्स र काठमाडौं किंग्सको समान ४–४ अंक छ। चितवन टाइगर्स र पोखरा राइनोज अंक विहिन छन्।

Comments

comments

सम्बन्धित शिर्षकहरु