सेनाबाट भागेर माओवादी भएका भगतलाई सर्वस्वसहित जन्मकैद,ओली–प्रचण्डसहित २१ जनाविरुद्ध सर्वोच्चमा मुद्दा

काठमाडौं । नेपाली सेनाबाट भागेर तत्कालीन नेकपा माओवादीको ‘जनमुक्ति सेना’मा सामेल भएका एक युवाले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । मोरङको ग्रामथान गाउँपालिका–३ घर भएका ३८ वर्षीया झलकुमार भगतले प्रधानमन्त्री ओली, तत्कालीन माओवादी तथा हालको सत्तारुढ दल नेकपाका अध्यक्ष प्रचण्ड, गृहमन्त्री रामबहादुर थापा (बादल), प्रधान सेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायत २१ जनालाई विपक्षी बनाएर मुद्दा दायर गरेका हुन् ।

भगत २०६२ साल साउन ८ मा तत्कालीन शाही नेपाली सेनाबाट ‘विद्रोह’ गरी माओवादीको ‘जनमुक्ति सेना’मा सामेल भएका थिए । माओवादी शान्ति प्रक्रियामा आएपछि उनी युवा संगठन वाईसीएलको स्थानीय नेताका रुपमा सक्रिय रहे । पछिल्लो समय पार्टी राजनीतिमा खासै सक्रिय नरहेका भगतलाई ८ मंसिर २०७४ को राति आफ्नै घरमा सुतिरहेको बेला मोरङ प्रहरीले पक्राउ गरेको थियो । पछि उनलाई नेपाली सेनाको पूर्वी पृतना इटहरीको जिम्मा लगाइयो ।

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका भगतलाई पछि सेनाको जिम्मा लगाइएको थियो । केही समय सैनिक हिरासतमा रहेका भगतविरुद्ध १७ पुस २०७४ मा सैनिक अदालतले सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको छ ।

सैनिक अदालतको आदेशानुसार भगत अहिले भीमफेदी कारागार मकवानपुरमा कैदी जीवन विताइरहेका छन् । जनयुद्धका बेला माओवादीमा गएका भगतलाई सैनिक संगठनप्रति ‘गद्दारी’ गरेको अभियोगमा सैनिक अदालतले सर्वश्वसहित जन्म कैदको सजाय सुनाएको हो ।

भगतले भने विस्तृत शान्ति सम्झौता, तत्कालीन माओवादी र ७ राजनीतिक दलबीच भएको १२ बुँदै सम्झौताविपरित मुद्दा चलाइएको भन्दै सर्वोच्चमा रिट दिएका हुन् ।

रिट निवेदक भगतका पक्षबाट वरिष्ठ अधिवक्ताहरु कृष्णप्रसाद भण्डारी, शम्भु थापा, हरि फुयाँल, रमणकुमार श्रेष्ठ, गोविन्द बन्दी, बालकृष्ण न्यौपाने, उपेन्द्रकेसरी न्यौपाने, तुलसी भट्ट, शेरबहादुर केसी, रामप्रसाद श्रेष्ठ र एकराज भण्डारीले बहस गर्ने भएका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु