देउवा निकट नेता पदाधिकारी बढाउने पक्षमा, आफ्नैबाट पौडेललाई काउन्टर

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवा निकट नेताहरु नै पदाधिकारी बढाउनु पर्न पक्षमा उभिएका छन । केन्द्रीय समितिको जारी बैठकमा आफ्नो धारणा राख्ने क्रममा देउवा निकट नेताहरु नै पदाधिकारी बढाउने अभियानमा लागेका हुन ।

बैठकमा उल्लिखित विधानमाथि छलफल हुँदै गर्दा सभापति शेरबहादुर देउवानिकट नेताहरू नै पदाधिकारी बढाउनुपर्ने पक्षमा देखिएका छन् ।नेपाली कांग्रेसको विधानको पक्ष र विपक्षमा चार दिनदेखि छलफल जारी छ । साधारण र क्रियाशील सदस्यता, पदाधिकारी बढ्नुपर्ने, क्रियाशील सदस्यले नभई प्रतिनिधिले क्षेत्र र जिल्लामा नेतृत्व चयन गर्नुपर्ने, प्रदेश समिति र केन्द्रीय समितिका प्रतिनिधि एउटै हुनुपर्नेसहितका मुख्य विषयमा बैठकमा नेताहरूले भनाइ राख्ने क्रम जारी रहेको छ ।

विधानको मस्यौदा प्रस्तुत हुँदासम्म बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहका नेताहरू पदाधिकारी बढाउने पक्षमा थिए । तर, बैठकमा विधानमाथि छलफल हुँदै गर्दा सभापति शेरबहादुर देउवानिकट नेताहरू नै पदाधिकारी बढाउनुपर्ने पक्षमा देखिएका छन् । वरिष्ठ नेताहरूले गुटगत स्वार्थअनुसार पदाधिकारीका विषयमा अडान लिन खोजे पनि केन्द्रीय सदस्यहरूले गुटगत बहस गरेका छैनन् ।

सभापति देउवा तत्काल पदाधिकारी धेरै बढाउन नहुने पक्षमा हुनुहुन्छ । तरउहानीनिकट अधिकांश केन्द्रीय सदस्यहरूले पदाधिकारी बढाउन सुझाब दिएको एक नेताले जानकारी दिए । ‘बाहिर देखिएजस्तो गुटगट आधारमा पदाधिकारी बढाउने गरी लबिङ भएको छैन,’ ती नेताले भने, ‘पहिले रामचन्द्र दाइनिकटका नेताहरू पदाधिकारी बढाउनुपर्छ भन्नेमा थिए । अहिले सभापतिनिकटका नेताहरूले नै खुलेर पदाधिकारी बढाउन सुझाब दिइरहनुभएको छ ।’

नेता बालकृष्ण खाणले केन्द्रीय सदस्य बढाउँदा पदाधिकारी बढाउनै पर्ने बताउनु भएको छ । तर, पौडेल पक्षका नेता बलबहादुर केसीले नेता व्यवस्थापनका लागि संगठनलाई झन् बढी भद्रगोल पार्ने गरी पदाधिकारी बढाउनुको औचित्य पुष्टि गर्न नसकिने बताउनु भयो  । छलफलका क्रममा डा नारायण खड्काले विधानको प्रस्तावना नै लामो रहेको भन्दै छोट्याउन सुझाउनु भएको छ । यस्तै उमाकान्त चौधरी, रत्ना शेरचनले विधानलाई प्रभावकारी कार्यान्वयन गर्न सक्ने बनाएर जानुपर्ने सुझाउनु भएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा केन्द्रीय समितिमा अझै तीन चार दिन छलफल हुने बताउनु हुन्छ । ‘आधा केन्द्रीय सदस्यले पनि बोलेर सक्नुभएको छैन,’ शर्माले भन्नुभयो, ‘सम्भवतः बुधबार राजनीतिक प्रस्ताव पनि बैठकमा प्रस्तुत हुन्छ । यसमा पनि छलफल हुँदा बैठक अझै तीन चार दिन लम्बिन्छ ।’ बैठकमा आफ्नो धारणा राख्दै नेता डा शेखर कोइरालाले मिलेर जानेबाहेक उपाय नभएको बताउनु भयो ।

‘मिलेर जानुबाहेकको बिकल्प छैन, किनकि विधान सहमतिको ‘डकुमेन्ट’ हो । पदाधिकारी बढाउने वा नबढाउनेमा दुवै पक्षले विवाद गर्दा विषय मिल्दैनन् । कोही नेतालाई व्यवस्थापन गर्ने नाममा पदाधिकारी बढाउनु हुँदैन । दुवै पक्षले सम्झौता गरेर जाऔँ,’ बैठकमा नेता कोइरालाले भन्नुभयो, ‘विधानमा विवाद झिक्दा महासमिति बैठक नै अन्योलमा पर्न सक्छ । तलबाटै सबै चुनिएर आउने व्यवस्थामा जाऔँ । श्रमिक र अपागंता भएकालाई पनि पार्टीमा आरक्षण दिनुपर्छ । अरूलाई पनि आरक्षण एकपटकलाई मात्र दिऔँ । दुईपटक जिल्ला सभापति भएकालाई बेग्लै अवसर दिऔँ ।’

बैठकमा पौडेल पक्षधर नेता बलबहादुर केसीले सभापति देउवा सभापतिजी गुटको मात्रै नेता बनेको भन्दे आलोचना गर्नुभएको थियो ।‘ सभापतिजी गुटको मात्रै नेता बन्नुभयो, पार्टीमा दुःख पाएकालाई मनोनीत गरेर नल्याउने, तर मेरो पक्षमा को छन् भनेर ल्याउँदा यो गुटबन्दीभन्दा केही होइन । पार्टीमा सबै पदाधिकारी र केन्द्रीय सदस्य निर्वाचित गर्नुपर्छ । मनोनीत गर्नै हुन्न,’ केसीको भनाई थियो ।

यस्तै महालक्ष्मी उपाध्याय डिनाले धेरै बिवाद नगरी बिधानमा सहमति कायम गर्न आग्रह गर्नुभयो । ‘हामीहरूले धेरै अध्ययन र मिहिनेत गरेर यो विधान ल्याएका छौँ । जति विषय उल्लेख गरिएका छन्, यी छलफलबाट र सुझाब संकलन गरेर नै उल्लेख गरेका विषय हुन् । त्यसैले, धेरै विवाद नगरी सहमतिबाट विधानलाई टुंग्याऔँ,’ उहाँको भनाई थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु