टी-१० क्रिकेट सन्दीप लगातार विकेट विहिन,पाँचौ खेलमा महँगो साबित

काठमाडौं ।  यूएईमा भइरहेको टी–१० लिगको सुरुवाती ३ खेलमा लगातार विकेट लिएका नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने पाँचौ खेलमा महँगो साबित भएका छन्। नर्थन वारयिर्स विरुद्धको खेलमा सन्दीपले २ ओभर बलिङ गर्दै कूल ४७ रन खर्चिए भने कुनै विकेट लिन सकेनन्। उनले १२ बल फाल्दा ७ बलमा छक्का प्रहार भएको थियो। सन्दीपले एक बल मात्र डट फालेका थिए।

सन्दीपको महँगो बलिङसँगै केरलालाई वारियर्सले सुपर लिगको खेलमा ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ। केरलाले दिएको १ सय २ रनको लक्ष्य वारियर्सले ७.२ ओभरमा २ विकेटको क्षतिमा पार गर्‍यो। उसका लागि निकोलास पोरानले १८ बलमा २ चौका र ५ छक्काको मद्दतमा नटआउट ४३ रन प्रहार गरे।

यस्तै आन्द्रे रसेलले १० बलमा २९ रन जोडे। उनले सातौं ओभरको पहिलो ३ बलमा सन्दीपलाई लगातार ३ छक्का प्रहार गरेका थिए। हारसँगै सन्दीपको टिम केरला सुपर लिगको अंक तालिकामा ५ खेलबाट ३ अंक जोड्दै सातौं स्थानमा छ। अन्तिम २ खेल बाँकी छदा केरला पहिलो चरणबाटै बाहिरिने खतरामा परेको छ।

त्यसअघिको तीन खेलमा भने सन्दीपले लगातार विकेट लिएका थिए। अहिलेसम्म पाँच खेल खेल्दा सन्दीपको नाममा ६ विकेट छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु