आतंकवादविरुद्ध कडा कदम चाल्ने अष्ट्रेलिया सरकारको घोषणा

अष्ट्रेलिया । अष्ट्रेलिया सरकारले आतंकवादी घटनाहरुलाई नियन्त्रण गर्न कडा कदम चाल्ने घोषणा गरेको छ । आतंकवादी घटनामा दोषी पाइएका नागरिकहरुको लागि अझ कडा कानुन ल्याउने सरकारले तयारी थालेको छ । प्रधानमन्त्री स्कट मरिसनले आतंकवादी क्रियाकलापमा दोषी पाइएकाहरुको नागरिकता खोस्ने कानुन निर्माण गर्ने बताएका छन् ।

प्रधानमन्त्री मरिसनले कुनै पनि अष्ट्रेलियाली नागरिकहरु आतंकवाद सम्बन्धि क्रियाकलापमा दोषी पाइएको खण्डमा उनीहरुको नागरिकता रद्द गरिने बताएका छन् । यसअघि रहेको कानुनमा आतंकवादको क्रियाकलापमा दोषी पाइएपनि ६ वर्षसम्म सजाय पाएको हुनुपर्ने प्रावधान रहेको थियो ।

उनले नयाँ कानुनमा कुनै पनि सजायको समयसीमा नरहने तर आतंकवादी क्रियाकलापमा दोषी पाइएमात्र उनीहरुको नागरिकता खोसिने बताएका छन् । प्रधानमन्त्री मरिसनले आफूले प्रस्ताव गरेको नयाँ कानुन केही साताभित्रै पारित हुने विश्वास समेत लिएका छन् । उनले उक्त प्रस्ताव संसद्मा चाँडै लैजाने समेत जानकारी दिएका छन् ।

अष्ट्रेलियाको सुरक्षा निकायले केहीदिन अघिमात्र मेलबर्नबाट ३ जनालाई आतंकवादी क्रियाकलापमा संलग्न रहेको अभियोगमा पक्राउ गरेको थियो । त्यसका साथै केही साताअघि नै मेलबर्नमा एक ३० वर्षीय युवाले छुरा प्रहार गरि एक ब्यक्तिको हत्या गरेका थिए । मरिसनले आफ्ना नागरिकहरुको सुरक्षा महत्वपूर्ण भएको बताएका छन् ।

प्रधानमन्त्री मरिसनले ल्याउने भनिएको उक्त कानुन हतारमा ल्याउन लागिएको विपक्षी दल लेबरका नेता बिल सर्टनले प्रतिक्रिया दिएका छन् । तर उनले आफ्नो पार्टीले पनि सरकारलाई सहयोग गर्ने संकेत दिएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु