मदनलाई छिन्द्रिङ छिन्द्रिङ साइकल, विद्यालाई १८ करोडको गाडी ?

रामान- जननेता मदन भण्डारी । उनको तस्बिर, सादगी जिन्दगी अनि वाकपटुता मात्र होइन, १२ वर्षे जनयुद्ध र रक्तफाल्सासमेत समायोजन हुने गरी उनले त्यतिखेरै प्रतिपादन गरेको सिद्धान्तः बहुदलीय जनवाद । जब यो जनतामा पुग्न लाग्दै थियो । मदनले फोन गरेर भने अरे, ‘थपिदिनुहोस् जनताको ।’ अर्थात् बहुदलीय जनवाद बन्यो छापिने बेला बन्यो ‘जनताको बहुदलीय जनवाद ।’ मदनका किस्साहरु कम ओजिला, चोटिला अनि गर्विला थिएनन् ।

त्यहीमध्ये एउटा किस्साः पार्टीको खर्चमा एकपटक एक नेता (नाम नभनौँ) कोरिया भ्रमणमा गएछन् । भ्रमणबाट फर्कँदा उनले रंगीन टेलिभिजन ल्याएछन् । पार्टीको खर्चमा गएपछि आएको उपहार पार्टीकै हुनुपर्ने । तर ती नेताले टेलिभिजन घर लगेछन् । मदनले पटकपटक भन्दा पनि नमानेपछि दोहोर्याएछन्ः ‘टेलिभिजिन पार्टी कार्यालयमा ल्याउने कि कारबाही गरौँ ?’ ती नेताले लुसुक्क टेलिभिजन पार्टी कार्यालयमा बुझाएछन् ।

मदनको अर्को चोटिलो किस्सा छः पत्रकार राजकुमार रेग्मीले एकपटक मदनसँग टाइम लिएर अन्तरवार्ता लिन गएछन् । पार्टी कार्यालय पुग्दा मदन थिएनन् । रेग्मीले सोधेछन्ः ‘महासचिवज्यू आउनु भएको छैन ?’ कसैले आउन बाँकी सुनायो । रेग्मी गेटतिर रल्लिए । एउटा मान्छे छिन्द्रिङ छिन्द्रिङ थोत्रो साइकल बजाउँदै पार्टी कार्यालयतिर छिरे । रेग्मीलाई लाग्योः ‘महासचिव त गाडीमा आउँछन् । साइकलमा आउने के काम परेर कार्यालय आए होलान् ।’ पार्टी कार्यालय छिर्दा त तिनै साइकलमा आउने पो रेग्मीलाई ‘म तपाईंलाई अघिदेखि खोज्दै थिएँ’ भन्दै पार्टीको कुरा अन्तरकुन्तर सुनाउन लागे । रेग्मीले सोधेः ‘तपाईंले त मेरो नाम र पत्रिकासमेत सोध्नु भएन ।’ मदनले भनेः ‘मलाइ तपाईंबारे राम्रो थाहा छ, पत्रकार होइन रहेछ भने पनि पार्टीको कुरा एउटा मान्छेलाई भन्न–बुझाउन सकेँ ।’

धेरै भन्छन्– नेताहरुमा माधव नेपाल अच्छा । समयमा कार्यक्रममा पुग्छन् । पछिल्लो समय नारायणकाजी श्रेष्ठ पनि समय पालनामा वफादार छन् । तर समयमा पुग्ने नेता मात्र थिएनन् मदन । पार्टी कार्यालयमा आउने फोनसमेत आफैँ उठाउँथे । मदनको यही कुरा नेताहरुले सुनाउँदै ‘फोन नउठाउने’ भनेर गुनासो गरेपछि माधव नेपालले यस्तै गर्न थाले । फेसबुकमा कमेन्टसमेत लेख्न भ्याउँछन् ।

मदनलाई कसैले भनेछन्, ‘कमरेड, तपाईंले पनि काठमाडौंमा घडेरी नजोड्ने ?’ मदनको सपाट जवाफ थियो रे, ‘मेरा लागि त सिंहदरबार या बालुवाटार नै खाली होला नि ?’ बालुवाटार मात्र होइन, विद्या भण्डारीलाई दोहो¥याएर शीतल निवास नै खाली भयो ।

अहिलेका सबै नेतामा एउटै रोग छ, त्यो होः एमाले वा माओवादी (नेकपा) थाहा छैन, म चैँ किन भइनँ ? मेरो भूमिका के हो ? म विना सम्भव छ यो सबै ? यसो भन्नेमा वामदेव गौतमको नाम अगाडि छ चाडपर्वयता । तर २०४८ सालमा चावहिलमा मदनको भाषण सुनेका अग्रज पत्रकार बालकुमार नेपाल सुनाउँछन्, ‘यो मदन भण्डारी जित्ला–नजित्ला, आउला–नआउला तर सूर्य त आयो–आयो, एमाले त आयो–आयो ।’ त्यही वाणीले मदनप्रति अगाध श्रद्धा जागेको सुनाउने पत्रकार नेपाल भन्छन्, ‘अहिलेका नेता म विना‘.भन्दै कोहोहोलो हालेको पनि टुलुटुलु हेर्नु पर्ने दिन आयो हे बरै !’

एकपटक बालकुमार नेपालसहितको टोली मदनलाई कालो झण्डा देखाउने भन्दै गएछन् । त्यहाँ पुगेपछि त मदनले यस्तो ‘कन्भिन्स’ गरे कि, उनीहरुमध्ये कसैले खल्तीको कालो झण्डा निकाल्ने जाँगैरै गरेनन् । यस्ता नेताले बनाएको पार्टी थियो नेकपा एमाले, जनताको बहुदलीय जनवाद । त्यही पार्टीले नेकपा माओवादी केन्द्रसँग निर्वाचनमा सहकार्य ग¥यो । दुईतिहाइको बहुमतको सरकार बन्यो । त्यो सरकार नौमहिना पुगिरहँदा समाचार आए, ‘राष्ट्रपतिलाई गाडी किन्न १८ करोड ।’

राष्ट्रपति अर्थात् विद्या भण्डारी दोहोर्याएर राष्ट्रपति बन्ने नेत्री । यिनै प्रिय मदनको हत्यापछि राजनीतिमा उदाएर बलशाली बन्दै राष्ट्रपतिसम्म दोहोर्याएर यात्रा गर्दा पार्टीमा उनको ऊर्जाको अहिले पनि प्रशंसा हुन्छ । तर त्यस्ता सादगी नेतापत्नी, जो मदन जेल बस्दा खाना पुर्याउन जानेबेलादेखिको संगत विवाहमा रुपान्तरण भएको नेत्री राष्ट्रपति बन्दा किन पटकपटक विवादमा तानिने काम भइरहेको छ ? स्वयम् राष्ट्रपतिलाई पनि केही महसुस नभएकै हो कि ?

विवाद १ः दशैँमा टीका लगाउने बेला पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीलाई घुँडा टेकाइयो । माधवकुमार नेपाललाई समेत निहुराइयो । हामीले बुझेको यही हो कि, जतिसुकै माथि पुगौँ । वरिष्ठ वरिष्ठ नै हो । मन नपरेर सम्मान नगरे हुन्छ, अपमान गर्ने छुट कसैलाई हुन्न । नेपाल प्रधानमन्त्री हुँदा राष्ट्रपति रक्षामन्त्री थिइन् । यसमा जोसुकैको गल्ती होस्, तर विवादमा राष्ट्रपति तानिए । किनभने उनका परिवारका सदस्यले टीका लगाएको तस्बिर पनि सामाजिक सञ्जालमा आएपछि अरु प्रमाण जुटाउनु पर्थेन ।

विवाद २ः राष्ट्रपतिलाई हल्ला भयो, तनाव भयो, प्रहरी तालिम केन्द्र काभ्रे सारिनु पर्छ । प्रहरी प्रशिक्षण प्रतिष्ठान सार्नु पर्ने कारणमा पनि राष्ट्रपतिलाई शान्ति चाहिएको विषय जोडियो । थोत्रो चिनियाँ फिनिक्स साइकलमा काठमाडौंमा हिँड्ने महासचिव मदन भण्डारी पत्नीमा यति धेरै बिलासिता बढेको हल्ला गरिएको हो या राष्ट्रपतिमा यो भोक बढेकै हो ?

विवाद ३ः राष्ट्रपतिका लागि १८ करोडको गाडी । सेनामार्फत भुक्तानी । यो समाचारले त झन जनताको पार्टीका नेता राष्ट्रपति हुँदाको दुई तिहाइको शर्मनाक हुर्मत लिएको छ । किनभने भर्खरै पाकिस्तानमा प्रधानमन्त्री भएका इमरान खानले सरकारी निबास र हेलिकोप्टर बेचेर राष्ट्रका लागि खर्च जुटाएका छन् । हाम्रा राष्ट्रपति चैँ एकपछि अर्को शौखिन र बिलासी बन्दै गएका छन् ।

यहाँनिर किन पनि विमति दर्ज गर्न चाहन्छु भने, भदौको पहिलो साता मात्रै ‘राष्ट्रपतिले गजब गरिन्’ भनेर नेकपाका कार्यकर्ताले ६० लाखको विद्युतीय सवारी साधनको तस्बिर राखेर पूजाआजा गरेका थिए । तीन महिना नपुग्दै के चिनियाँ प्रविधिको त्यो सवारी साधन ‘मेड इन चाइना, आज छ भोलि छैन’ भएकै हो त ?

विद्या भण्डारी, वर्षमान पुन र डोरमणि पौडेलले विद्युतीय सवारी साधन खरिद गरेर उधूम राम्रो गरेको भनेर स्वस्ति हवन गर्ने पुस्ता यो तीन महिनामा कुन अनुहार देखाउँदा हुन् ?

वायु प्रदुषण न्युनिकरण गर्न भारत, चीन, युरोपेली देशले सन २०३० भित्र इन्धनबाट चल्ने सवारी साधन विस्थापित गर्ने निर्णय गरेका छन् । हामी चैँ यातायातको सिण्डिकेटसमेत भत्काउन सकिरहेका छैनौँ । इमरान खानले सरकारी भवन बेचेर राष्ट्रनिर्माण गर्ने कुरा गरिरहँदा किन हामीकहाँ राष्ट्रपति र उपराष्ट्रपतिलाई सुविधा दिने नाममा पटकपटक राष्ट्रपतिलाई विवादमा ल्याउने र ‘राजतन्त्र राम्रो थियो’ भन्ने पारिँदैछ ?

प्रचण्डलाई गाली गलत थियो ?

यदि काठमाडौँ खाल्डो शान्तै पार्न पर्ने भए, त्यो पनि राष्ट्रपति र उपराष्ट्रपतिलाई सुकलामा खलल पुग्ने नाममा हो भने केही वर्षअघि प्रचण्डलाई गरिएको गाली गलत थियो ? प्रचण्डले ७२ हजारको घडी लगाएको, डेढलाखको पलङमा सुकला भएको कुरामा खिल्ली उडाउने पार्टी त्यही थियो, जुन पार्टीबाट अहिले राष्ट्रपति र प्रधानमन्त्री छन् । र डेढ लाखको पलङमा सुकला गर्ने चैँ पार्टी अध्यक्ष इनकमिङ प्रधानमन्त्री । अब डेढलाखको पलङमा सुकला भएको विरोध गल्ती थियो भनेर कार्यकर्ताले आत्मालोचना गर्ने बेला आएको हो त ?

किन बोल्दैनन् नेताहरु ?

राष्ट्रपतिलाई गाडी किन्ने कुरामा संसदमा गलफत्ती बढेपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमै जवाफ दिनु परेको थियो । तर यतिखेर लगातार राष्ट्रपतिलाई विवादमा ल्याइँदा पनि माउ पार्टीका नेताहरु चुइँक्क बोलेको सुनिन्न । राष्ट्रपतिलाई विवादमा ल्याएर कम्युनिष्ट शासन खुल्याउने काम भइरहँदा नेताहरुको मौनता बुझिसाध्ये छैन । यसले पार्ने ‘खति’बारे अनुमान नै नभएर पो हो कि ?

सचिवालय भजनमण्डली ?

नेताहरुको बदख्वाइँ बढिरहनुमा सबैभन्दा बढी जिम्मेवार छ निजहरुको सचिवालय । सरकारको आलोचनामा केपी ओलीको होइन, मन्त्री र सल्लाहकारहरुको आलोचनाको धूँवा पुत्पुताइरहेको छ । राष्ट्रपति कार्यालयमा हुने त्रुटिमा पनि कहिले सेनालाई त कहिले कसलाई पन्छाउने गरिएको छ । अग्रज पत्रकार बालकुमार नेपाल भन्छन्, ‘सचिवालय भजनमण्डलीमा परिणत हुँदा तमासे बनेका छन् जनता र उनीहरु ठानिरहेका छन् ‘प्रजा ।’ सचिवालयले परेका बेला बोल्दै नबोल्ने, बोल्न नपर्ने विषयमा बाठो भएर बोल्ने कामले लोकप्रियता खस्कनुमा सचिवालय परालको लौरो परेका कुरा थाहा नपाएकै होलान् त राष्ट्रपति, प्रधानमन्त्री, पार्टी अध्यक्ष, वरिष्ठ नेताहरुले ?

माफ पाउँ महोदय

यो लेखको आसय कतै पनि अहिलेका नेताहरु सुकुलमा सुतुन्, साइकलमा हिँडून् । हात्तीछाप चप्पलमा भेटिउन् भन्ने होइन । २०५२ सालमा शेरबहादुर देउवाले भित्र्याएको ‘पजेरो संस्कृति’ बाट नेताहरुमा भ्रष्ट हुने लोभ पलाएको हो । पजेरो बेचेर २० लाखले काठमाडौंमा घर किन्ने नियत खराब थिएन होला तर नेता भ्रष्ट हुन सिकाउने देउवा हुन् । यसलाई ‘नीतिगत’ र ‘संस्थागत’ बनाएका हुन् डा. रामशरण महतले । यसमा कम्युनिष्ट नेताहरु पनि रत्तिए । सुख, समृद्धिका नाममा जीवन निर्वाह होस्, तर गरिबका देशमा नसुहाउने ‘सयल’को मयल नदेखाउनुहोस् भन्ने मात्र हो, मन दुख्न गएमा प्रजा र रैतीका तर्फबाट अहिले त माफी मागौँला तर आफ्नै एजेन्डामा बहुमत आएको पार्टी माओवादी अर्को चुनावमा ‘तेस्रो’ हुँदै ‘मर्जर’मा गएको त यहाँहरुले बिर्सनु भएको छैन होला ! स्रोतः जनतासमाचार

Comments

comments

सम्बन्धित शिर्षकहरु