रक्सी खाएपछि किन अंग्रेजी बोल्छन् नेपालीहरु ? यस्तो रहेछ कारण

काठमाडौं – नेपाली समाजमा चाडपर्व होस् वा अन्य कुनै खुसी या दुःखको समय सकेसम्म रक्सी पिउने बहाना बनाइहाल्ने चलन हाबी हुँदै गएको छ । अझ सहरमा हुने प्रयः भोजहरु रक्सीले मात्तिएका हुन्छन्। अहिले त कुनै भोजमा निम्तो आउँदा पनि निम्तो पाउनेले ुआफ्नो सवारी साधन लिएर आउनु कि नलिईु भनेर सोध्ने गरेको पनि पाईन्छ । भोजमा रक्सी छ भने आफैँले सवारी साधन चलाएर गएको त फाइदा हुँदैन, मापसेमा परिन्छ। यसको अर्थ के निकाल्न सकिन्छ भने, जुनसुकै बहानामा किन नहोस् मानिसहरुको रक्सीप्रतिको आशक्ति बढ्दै गएको छ।

रक्सी एक प्रकारको मन्द विष हो। रक्सी सेवनकै कारण विश्वभरि हरेक वर्ष ३३ लाख मानिसको मृत्यु हुन्छ। रक्सी सेवनका कारण दुई सयभन्दा बढी रोग लाग्न सक्छ। रक्सी सेवन गरी सवारी चलाउँदा हुने दुर्घटना र त्यसको क्षतिको अवस्था उस्तै भयावह छ। २०-३९ वर्ष उमेर समूहमा हुने मृत्युमध्ये २५ प्रतिशत रक्सी सेवनका कारण हुने गरेको तथ्याङ्कले देखाउँछ।

तर नेपाली समाजमा जब रक्सी भित्र छिर्छ, नेपालीहरुको अंग्रेजी बाहिर आउँने प्रचलनपनि रहेको छ । कतिपय अवस्थामा अलि(अलि अंग्रेजी बोल्न जानेको मान्छे नसामा धाराप्रवाह बोलेको सुनेका पनि छौं। हामी ठान्छौं, रक्सीको सुरमा अंग्रेजी बोल्ने वा बोल्न खोज्ने मान्छेले नाटक गरेका हुन्।

हालै एक वैज्ञानिक अनुसन्धानले हामीले लामो समयदेखि ‘मिथ’ बनाउँदै आएको रक्सी र अंग्रेजी भाषाबीचको यो सम्बन्ध पुष्टि गरेको छ। उक्त अनुसन्धानले भन्छ, ‘मान्छेले कुनै नयाँ भाषा सिकिरहेको छ भने सामान्य अवस्थामा भन्दा रक्सीको हल्का नसामा बढी धाराप्रवाह बोल्नसक्छ।’

वैज्ञानिक आधार

मान्छेले कुनै पनि नयाँ काम तबसम्म गर्न सक्दैन, जबसम्म ऊ संकोच मान्छ। अनुसन्धानकर्ताका अनुसार सीमित परिमाणमा खाएको रक्सीले मान्छेको संकोच कम गराउँछ। संकोच कम भएपछि नयाँ काम गर्दा मनमा उत्पन्न हुने हड्बडाहट र हिच्किचाहटलाई सजिलै जित्न सकिन्छ। यो त मानसिक अवस्थाको कुरा भयो। यति मात्र कारणले फर्रर अंग्रेजी बोल्न सकिने होइन। यसमा रक्सीले मान्छेको शारीरिक अवस्थामा ल्याउने परिवर्तन पनि जिम्मेवार छ।

रक्सीको नसाले सबभन्दा पहिला हाम्रो मस्तिष्कको सोच्ने वा विश्लेषण गर्ने प्रणाली कमजोर बनाइदिन्छ। यसले हाम्रो स्मरणशक्तिमा मात्र होइन, सतर्क वा चनाखो रहने क्षमतामा पनि नकारात्मक असर पुर्याउँछ। सोच्ने शक्ति र चनाखो रहने क्षमतामा एकैचोटि रक्सीले प्रहार गरेपछि मान्छेको आत्मविश्वास ह्वात्तै बढ्छ। ऊ आफूलाई क्षमताभन्दा बढी आँक्न थाल्छ। र, यही अवस्थाले अंग्रेजी बोलाइ धाराप्रवाह हुन्छ।

रक्सी र भाषासँग जोडिएको यो वैज्ञानिक निष्कर्ष बेलायती तथा डच अनुसन्धानकर्ताहरूको हो। यसै साता ‘जर्नल अफ साइकोफर्माकोलोजी’ मा प्रकाशित शोधपत्रमा उनीहरूले रक्सी खाएको मान्छे कसरी र किन दोस्रो भाषा ९मातृभाषाबाहेक अन्य० बोल्न सक्षम हुन्छ भनी वैज्ञानिक जवाफ दिएका छन्।

रक्सी सेवनले तुरुन्तै पुर्‍याउने हानी

– गाडी तथा मोटरसाइकल दुर्घटना, लड्नु, डुब्नु आदि।

– झैझगडा, होहल्ला-हुलहुज्जत, रिसइवी साँध्ने, आत्महत्या, हत्याजस्ता हिंसात्मक गतिविधि बढ्नु।

– यौनजन्य दुर्व्यवहार तथा अपराध, असुरक्षित यौनसम्पर्क। जसले गर्दा अवान्छित गर्भधारण, एचआइभी एड्स जस्ता यौनजन्य रोगको संक्रमण।

– समयमै उपचार नगरेको खण्डमा ज्यानै जान सक्ने सम्भावना।

दीर्घकालीन हानी

रक्सी सेवनले तत्काल आनन्द देला, कसैलाई रमाइलो होला। तर, रक्सीको सेवनले मान्छेलाई पुर्‍याउने दीर्घकालीन हानीबारे रक्सी पिउनुअघि सोच्ने गर्नुहोला।

१. क्यान्सर: अमेरिकन क्यान्सर सोसाइटीका अनुसार कस्तो रक्सी पियो भन्ने होइन कि, कति मात्रामा रक्सी पियो त्यसको आधारमा क्यान्सर हुने जोखिम बढ्दछ्। जति बढी मात्रामा रक्सी पिउँदै गयो त्यति नै क्यान्सर हुने सम्भावना बढेर जान्छ। रक्सी सेवनले मुख, घाँटी, पेट, पित्तनली, आन्द्रा, मलद्वार, फियो, कलेजोको तथा महिलामा स्तन क्यान्सर गराउँछ।

२. हृदय रोग: रक्सीले मुटु रोग, हृदयाघात, उच्च रक्तचापजस्ता ज्यान जाने रोग निम्त्याउँदछ।

३. मस्तिस्क तथा स्नायु रोग: रक्सीको सेवनले मस्तिष्कघात हुन सक्छ। आँखाले धमिलो देख्नु, बोली लरबराउनु, हातखुट्टा लड्खडाउनु रक्सीले दिमागमा पार्ने खराब असरका लक्षण हुन्।

४. कलेजोको क्षति: रक्सी सेवन गर्ने १० देखि २० प्रतिशत मानिसको कालेजोमा क्षति पुग्छ। रक्सीले बिगारेको कलेजो रक्सी पिउन छाडे पनि निको नहुने गरी सधैँका लागि क्षतिग्रस्त हुन्छ। रक्सी सेवनकै कारण कलेजो रोगका बिरामीहरुलाई आँखा पहेँलो हुने, पेट सुन्निने, जिउ फुल्ने, रगत बान्ता हुने आदि समस्या आउँछन्।

५. पाचन प्रणालीका रोगहरु: रक्सी पिउनेहरुलाई भोक नलाग्ने, पेट पोल्ने, अपच हुने, पेट तथा अन्द्रामा घाउ हुने, प्वाल पर्ने, रक्तस्राव हुने जस्ता पाचन सम्बन्धी समस्या देखा पर्छन्।

६. कुपोषण: रक्सी सेवनका कारण शरीरले क्याल्सियम, भिटामिन डि तथा बि १२ पचाउन सक्दैन। जसले गर्दा हाडजोर्नीहरु कमजोर हुने, शरीरमा रगतको मात्रा कम हुने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, शरीर कमजोर हुने, हात खुट्टा झम्झमाउने, स्मरण शक्ति एवं एकाग्रता हराउँदै जाने जस्ता समस्या देखिन्छन्।

७. क्षयरोगः शरीरले संक्रमणबाट लड्न सक्ने क्षमता गुमाउँदा क्षयरोग जस्ता संक्रामक रोग लाग्ने सम्भावना बढ्छ।

८. मानसिक रोग: रक्सी सेवनले डिप्रेसन, अनावश्यक चिन्ताजस्ता मानसिक रोग उत्पन्न गर्छ। प्रायः पिउने मानिसहरु ‘रक्सीले फुर्तिलो बनाउँछ, तनाव र चिन्ता घटाउँछ, मस्त निद्रा लाग्छ’ भन्ने बाहना बनाउने गर्छन्। तर रक्सीले यसको ठीक विपरित नशाले छोड्नासाथ तनाव र चिन्ता बढाउँछ। शरीरलाई फुर्तिलो होइन शिथिल बनाउँछ, निद्रा भगाउँछ।

९. बाँझोपनः रक्सी सेवन गर्ने महिलामा गर्भ नबस्ने तथा बाँझोपनको सम्भावना बढी हुन्छ।

१०. सामाजिक तथा आर्थिक समस्या: रक्सीको सेवनपछि मानिसको काम गर्ने क्षमतामा ह्रास आउँछ। रक्सीले स्वास्थ्य र पैसाको नाश हुनु त छँदैछ त्यसमाथि पारिवारिक कलह र समाजमा इज्जत गुम्ने खतरा पनि उत्तिकै रहन्छ।

रक्सी खाएपछि के खाने ?

रक्सी डिहाइड्रेसन गराउने कारण भएकाले रक्सी पिउनुभन्दा कम्तीमा एक घन्टाअघि र रक्सी पिएको एक घन्टापछि फलफूलको रस, प्रशस्त पानी पिउनु बेस हुन्छ । साँझ रक्सी पिएको छ भने पेट बिग्रने सम्भावना घटाउन भोलिपल्ट बिहान एउटा स्याउ, स्ट्रबेरी वा ‘बेरी’ प्रजातिका फलफूल खानु उत्तम हुन्छ । नुनमा लवण र पानीको मात्राले ‘इलेक्ट्रोलाइट’ तत्वको क्षतिलाई ठीक गर्छ ।

जुन तत्वले शारीरिक क्रियाशीलतामा मनोवैज्ञानिक सन्तुलन मिलाउँछ । साल्मोन जातको माछामा हुने ‘भिटामिन बी–६’ र ‘ओमेगा–३’ ले टाउको वा जिउ दुःख्ने समस्या हट्छ । ओमेगा–३ ले मनस्थिति (मुड) ठीक गर्न सहयोग पु(याउँछ । साल्मोन नपाए पनि हामीकहाँ ट्राउट माछा पाइन्छ । पुदिना वा काँचो अदुवा पिसेर तिल, टिमुर आदि पनि लगाएर बनाएको चटनीले वाकवाकी, डकार, पेट तथा वायुसम्बन्धी समस्या (ग्यास्ट्रिक डिस्ट्रेस) हटाउन रक्सीपछिको खानासँग लिनु राम्रो हुन्छ । रक्सी खाएपछि कम्तीमा २४ घन्टासम्म चिया, कफीजस्ता ‘क्याफिन’युक्त पेय नलिनु उत्तम हुन्छ ।

किन हुन्छ रक्सीको ह्याङओभर ?

रक्सी खाने मानिसहरू प्रायजसो ह्याङओभर (रक्सीको असर) को कुरा गर्छन् । राति खाएको रक्सीको ह्याङओभर बिहानसम्म गएको हुँदैंन । कतिपय अवस्थामा अलग–अलग प्रकारको रक्सी मिसाएर खाँदा मानिसले अझ बढी ह्याङओभर महसुस गर्छन् ।

शरीरमा पानीको कमी महसुस हुने, टाउको दुख्ने समस्या देखापर्छन् । यसविपरित बियर पिउनुअघि वाइन पिउँदा मानिस बिरामी हुन सक्छ, तर, बियर पछि वाइन लिने हो भने केही हुँदैंन भन्ने धारणा पनि मानिसमा रहेको पाइन्छ ।

निम्न यी कुरा अपनाएमा मदिराको ह्याङओभरबाट मुक्ति मिल्न सक्छ ।

-ह्याङओभर हटाउन सबैभन्दा पहिले शरीरमा पानीको मात्रा पूरा गर्नुपर्छ । बिहान उठ्नासाथ पर्याप्त पानी पिउनुपर्छ ।

-राति पानी पिउन ओछ्याननजिक पानी र गिलासको व्यवस्था गर्नुपर्छ ।

-फलफूलको रसमा भिटामिन सी उच्च मात्रामा पाइन्छ, मदिराको ह्याङओभर हटाउने राम्रो विकल्प फलफूलको रस पनि हो ।

-अदुवा हालेको चिया पिउन सकिन्छ ।

– बिहान ताजा हावामा केही समय हिँड्नुपर्छ ।

-पोटासियमले भरिपूर्ण खानेकुरा सेवन गरौं, आलु, हरिया सागसब्जी तथा च्याउमा पर्याप्त मात्रामा पोटासियम पाइन्छ ।

– कुरीलोलेपनि शरीरको अल्कोहल घटाउँछ । कुरीलोको अचार खाँदा राम्रो हुन्छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु