ठमेलका डान्सबारबाट ३५ बालबालिकाको उद्धार, तीन सञ्चालक पक्राउ

काठमाडौं । काठमाडौंको ठमेलस्थित विभिन्न रेस्टुरेन्ट तथा डान्सबारबाट प्रहरीले ३५ बालबालिकाको उद्धार गरेको छ। टेकुस्थित महानगरीय प्रहरी परिसरको नेतृत्वमा सञ्चालन भइरहेको ‘स्टिङ अपरेसन’अन्तर्गत १८ वर्षभन्दा कम उमेरका ती बालबालिकाहरूलाई उद्धार गरिएको हो।

ठमेलका युनिक डान्सबार र बेबो डान्सबारबाट गरी ३५ बालबालिकाको उद्धार गरिएको लैनचौरस्थित महानगरीय प्रहरी वृत्तका प्रमुख एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) गौतमकुमार केसीले जानकारी दिए। जसमा १२ देखि १५ वर्ष सम्मका २७ बालिका र ८ बालक छन्।

दुई हप्तादेखि चलिरहेको अपरेसनअन्तर्गत मंगलबार सम्ममा उद्धार गरिएका ती बालबालिकाहरूलाई अभिभावकको जिम्मा लगाइएको डिएसपी केसीले जानकारी दिए।

ती बालिलकामध्ये कतिपय काठमाडौंमै अभिभावक भएका तथा कतिपय छिमेकी जिल्ला सिन्धुपाल्चोक, काभ्रे धादिङ, नुवाकोटबाट पढ्न तथा विभिन्न अवसरकाे खाेजीमा अाएकाहरू छन्।

साथै प्रहरीले बेबो डान्सबार सञ्चालक नवीन गुरुङ तथा युनिक डान्सबारका सञ्चालकद्वय विश्व श्रेष्ठ र राजु लामालाई पनि प्रहरीले पक्राउ गरेको छ। अहिले उनीहरू लैनचाैरस्थित महानगरी प्रहरी वृत्तकाे नियन्त्रणमा छन्।

डिएसपी केसीले भने, ‘उनीहरूलाई बालबालिका ऐन २०७५ अनुसार अपराधको प्रकृति हेरेर एक वर्ष कैदसम्मको कारबाही हुन सक्छ।’ तर उद्धार गरिएका बालबालिकालाई भने १८ वर्षभन्दा कम उमेरका भएकाले सम्झाइ-बुझाइ अभिभावकको जिम्मा लगाउने बाहेक कुनै कारबाही नहुने उनले बताए। ‘बालबालिका ऐन २०७५ आएपछिको यो पहिलो अपरेसन हो,’ डिएसपी केसीले नेपालखबरसँग भने, ‘यो अभियान निरन्तर जारी रहनेछ।’

Comments

comments

सम्बन्धित शिर्षकहरु