चितवन राइनोजलाई पराजित गर्दै पोखरा प्रिमियर लिग क्रिकेटको उपाधि पोखरा पल्टनलाई

काठमाडौं । पोखरामा सम्पन्न भएको पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि पोखरा पल्टनले जितेको छ । मंगलवार भएको फाइनलमा राष्ट्रिय टिमका कप्तान समेत रहेका पारस खड्का नेतृत्वको टिम चितवन राइनोजलाइ ३ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो । विदेशी खेलाडी रवी इन्दर सिंहको अर्धशतक मद्दतमा चितवनले दिएको १६१ रनको लक्ष्य पोखराले १९.२ ओभरमा ७ विकेट गुमाएर पुरा गर्दै सर्वाधिक धनराशीको क्रिकेट प्रतियोगिता जितेको हो। रवीले ५८ बल खेल्दै १३ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक ९० रन बनाए। विनोद भण्डारीले अन्तिम ओभरको दोस्रो बलमा चौका प्रहार गर्दै पोखरालाई जित दिलाए।

च्याम्पियन पोखरा पल्टनले पीपीएलको ट्रफी सहित नगद २७ लाख आफ्नो बनाएको छ। नेपाली घरेलु क्रिकेट इतिहासमा यो सर्वाधिक धनराशीको क्रिकेट प्रतियोगिता हो।यस्तै शरद भेषावकरले पहिलो पटक पारस खड्काको टोली विरुद्ध जित हात पारेको छ। यसअघि एभरेष्ट प्रिमियर लिग र धनगढी प्रिमियर लिगको फाइनलमा शरदको टोली पारसको टोलीसँग पराजित भएको थियो।पोखरा रंगशालमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले कप्तान पारस खड्काको अर्धशतक मद्दतमा ५ विकेट गुमाएर रन बनाएको थियो। पारसले ३७ बल खेल्दै ९ चौकाको मद्दतमा ५१ रन बनाए। पीपीएलमा उनको यो पहिलो अर्धशतक समेत हो।

दोस्रो ओभरमै चितवनले ओपनर हरिशंकर शाह (८) लाई गुमाएको थियो। तर कप्तान पारस र अर्का ओपनर अनिल शाहले दोस्रो विकेटका लागि ७६ रनको साझेदारी गरे। अर्धशतक बनाएलगत्तै पारस रनआउट भए। तेस्रो विकेटका लागि अनिल शाहले सन्नी पटेलसँग ४० रनको साजेदारी गरे। अनिलले ३८ बल खेल्दै ३७ रन बनाए। आक्रमक ब्या६ङ गरेका सन्नी पटेलले ४३ रनको योगदान गरे। २१ बल खेलेका उनले ३ चौका र ४ छक्का प्रहार गरे। आरिफ शेख १४ रनमा नटआउट रहे।

बलिङमा पोखराका कृष्ण कार्कीले दुई तथा ललित नारायण राजवंशी र मोहम्मद नाभिदले एक-एक विकेट लिए। यस प्रतियोगिताकै सबै भन्दा ठूलो लक्ष्य भेट्टाउदै जित हात पारेको पोखराको सुरुवात भने खराब थियो। पहिलो बलमा चौका हानेका ओपनर कुशल भर्तेल पहिलो ओभरको दोस्रो बलमै आउट भए। त्यसपछि क्रिजमा पुगेका रवी इन्द्र सिंहसँग अर्का ओपनर आसिफ शेखले दोस्रो विकेटका लागि ६१ रनको साझेदारी गरे। आसिफ १२ रन बनाएर आउट भए।

चौथो नम्वरमै ब्याटिङ गर्न गएका मोहम्मद नाभिद र रवीले त्यसपछि आक्रमक ब्याटिङ गर्दै रन गती बढाए। यी दुईले तेस्रो विकेटका लागि ३३ रनको साझेदारी गरे। नाभिदले १४ बल खेल्दै १ चौका र ३ छक्काको मद्दतमा २५ रनको योगदान गरे। सबै खेलाडीसँग राम्रो साझेदारी गरेका रवीले कप्तान शरद भेषावकरसँग चौथो विकेटका लागि ५० रनको साझेदारी गरे। शरदले २३ बल खेल्दै २२ रन बनाए। बलिङमा भुवन कार्कीले २ तथा करण केसी, सन्नी पटेल, पारस खड्काले १-१ विकेट लिए।

Comments

comments

सम्बन्धित शिर्षकहरु