चियापानमा आएका रक्षामन्त्रीको हेलिकोप्टर ल्याण्ड गर्न क्रिकेट प्रतियोगिता स्थगित

बारा । पार्टीको चियापानमा सहभागी हुन शनिबार हेलिकोप्टरमा सदरमुकाम आएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका कारण जिल्लास्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता स्थगित भएको छ । कलैयाको सिद्देश्वर क्रिकेट मैदानमा हेलिकोप्टर ल्याण्ड गर्नुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय बाराले त्यहाँ जारी जिल्लास्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता स्थगित गर्न लगाएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

प्रतियोगिता रोक्न लगाएपछि शनिबारका दुई खेल प्रभावित भएको कलैया क्रिकेट क्लबका एक पदाधिकारीले बताए । रक्षामन्त्रीका कारण दुई खेल रद्द हुँदा आयोजकलाई आर्थिक भार थपिनुका साथै कार्यक्रमको पूर्व निर्धारित तालिका समेत बिग्रीएको छ ।

बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईले सिद्देश्वर क्रिकेट मैदानमा हेलिकोप्टर ल्याण्ड गर्दा प्रतियोगिता रोकिएको बारे शनिबार मात्र जानकारी पाएको बताए । ‘प्रतियोगिताका आयोजकले खेल भइरहेको नभनेकाले रक्षामन्त्रीज्यूको हेलिकोप्टर रोक्नका लागि उक्त स्थान तय गरिएको हो’, प्रजिअ भट्टराईले भने ।

कलैयामा अन्यत्र पनि हेलिकोप्टर ल्याण्ड गर्नका लागि पर्याप्त स्थान रहेको प्रजिअ भट्टराईले बताए । ‘त्यस बाहेकका ठाउँमा पनि रोक्न सकिन्थ्यो तर खेलका बारेमा हामीलाई जानकारी थिएन’ प्रजिअ भट्टराईले भने ।

बाराको आधाभर स्थित नेपाली सेनाको जङ्गल वारफेयर शिक्षालयको नीरिक्षणका लागि बारा आएका रक्षामन्त्री पोखरेल नेकपा बाराले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन जिल्ला सदरमुकाम कलैया पुगेका हुन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु