पार्टी कार्यालयबाट १२ कर्मचारीहरू बर्खास्ती, अध्यक्षका निकटकालाई हटाइएन

काठमाडौं । राजापको केन्द्रीय कार्यालयमा कार्यरत १२ जना कर्मचारी एकैपटक बर्खास्तीमा परेका छन् । कार्यालय प्रयोजनका लागि हुने खरिदमा आर्थिक अनियमितता गरेपछि ती कर्मचारी बर्खास्तीमा परेका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

२९ असोजमा पार्टीले तलब र दसैँ खर्च दिँदै आइन्दा कार्यालय नआउन भनेको थियो । कर्मचारी बर्खास्तीमा परेपछि राजपाको केन्द्रीय कार्यालयको चिठीपत्र तयार गर्ने कोठा बन्द छ । राजपाको केन्द्रीय कार्यालय बबरमहलमा सारेदेखि नै कर्मचारीहरू आर्थिक अनियमिततामा मुछिएका हुन् ।

पार्टी एकताको क्रमसँगै ६ वटै समूहबाट आएका कर्मचारीहरूबीच सुरुदेखि आर्थिक कारोबारका विषयमा विवाद भइरहेको थियो । राजपाबाट बर्खास्तीमा परेका एक कर्मचारीका अनुसार आर्थिक कारोबारको जिम्मा पाएका प्रदीप पाठकले कमिसन एक्लै बुझ्ने गरेको भन्दै पार्टी पदाधिकारीलाई अन्य कर्मचारीले पटकपटक सुनाउने गरेका थिए ।

कार्यालयको पुनर्निर्माण तथा आवश्यक सामग्री खरिद गर्दा कमिसन लिने गरेको भन्दै पार्टीभित्र निकै पहिलादेखि चर्चा भइरहेको थियो । यही प्रकरणका कारण कार्यालय सचिव प्रदीप पाठक र राजेश चौधरीबीच बोलचाससमेत बन्द थियो ।

खुला प्रतिस्पर्धाबाट नयाँ कर्मचारी भर्ना गर्न पुराना कर्मचारीलाई हटाएको महासचिव मनीष सुमनले जानकारी दिए । सुमनका अनुसार कार्यालयमा जथाभावी भइरहेको भन्ने गुनासो व्यापक आएका कारणले पनि उनीहरूलाई हटाइएको हो ।

राजपाको कार्यालयमा समूहगत कर्मचारी थिए । पूर्वतमलोपाका ६ जना कर्मचारी थिए । संयोजक महन्थ ठाकुरको स्वकीय सचिव सतेन्द्र मिश्र, प्रदीप पाठक, सुरेन्द्र मण्डल, तिलक राउत, विद्यानन्द झालगायत कर्मचारी थिए । त्यसैगरी, राजेन्द्र महतोको समूहबाट राजेश चौधरी र दिलीप साह थिए । शरतसिंह भण्डारी समूहबाट रञ्जित सिंह र महेन्द्रराय यादवबाट महावीर शाही थिए ।

राजपाका सचिवसमेत रहेका राजाराम पासवनले समेत तलब लिने गरेका थिए । राजेन्द्र महतो पक्षधर पासवान केन्द्रीय कार्यालयमा काम गर्दैनथे । तर, उनी राजपाको कार्यालयबाट सबैभन्दा धेरै तलब बुझ्ने कर्मचारीमा पर्थे । पासवानको तलब २७ हजार १ सय रुपैयाँ थियो ।

संयोजक ठाकुरनिकट मानिएका ६ जना कर्मचारी अहिले पनि अनौपचारिक रूपमा काम गरिरहेका छन् । ठाकुरले नेतृत्व गरेको पूर्वतमलोपाको बिजुलीबजारको पुरानो कार्यालयमा ती कर्मचारी आएर काम गरिरहेका छन् । पूर्वतमलोपा पक्षधर कर्मचारीले मात्रै अनौपचारिक रूपमा काम गर्न थालेपछि अन्य कर्मचारी भने रुष्ट छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु