श्रीलंकाको राजनीतिकमा नयाँ मोड,राष्ट्रपतिमा हारेका महिन्दा राजापक्ष प्रधानमन्त्रीमा नियुक्त

एजेन्सी । श्रीलंकाको राजनीतिक नयाँ मोडमा पुगेको छ । राष्ट्रपति मैत्रिपाला सिरिसेनाले रनिल विक्रमासिङ्गेलाई हटाएर पूर्वराष्ट्रपति महिन्दा राजपाक्षे प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । श्रीलंकाको नाटकीय घटनाक्रमबाट संवैधानिक संकट सिर्जना भएको बीबीसीले लेखेको छ । विक्रमासिंगेले अहिले पनि आफै प्रधानमन्त्री भएको दाबी गरेका छन्। उनले राष्ट्रपतिको कदम गैर संवैधानिक भएको बताएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्। पछिल्लो केही हप्ता श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीबीच सरकार चलाउने विषयमा रस्साकस्सी चलिरहेको थियो ।

श्रीलंकाको संसदमा सिरिसेना र राजापाक्षको पार्टीका ९५ सांसद छन् भने विक्रमासिंगेसँग १ सय ६ जना छन्। संसदमा सरकारको पक्षमा बहुमत सावित गर्न १ सय १३ को समर्थन आवश्यक पर्छ। सिरिसेनाले यसअघि भएको राष्ट्रपति चुनावमा राजापाक्षलाई नै पराजित गरेका थिए। राजापक्ष राष्ट्रपति हुँदा सिरिसेना उनकै मन्त्रिपरिषदका सदस्य रहेका थिए।

नेपालमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सम्मेलनमा सहभागी हुन २०७१ मंसिरमा नेपाल आएको समयमा राजापक्षविरुद्ध विपक्षी दलका नेता विक्रमासिंगे र सिरिसेनाबीच गठनबन्धन बनेको थियो। नेपाल भ्रमण छोट्याएर राजापक्ष स्वदेश फर्किएका थिए।

चीनतर्फ झुकाव राखेकाले राजापाक्षविरुद्ध सिरिसेना र विक्रमासिंगेलाई एक ठाउँमा ल्याउन दिल्लीले भूमिका खेलेको त्यसबेला विश्लेषण गरिएको थियो।

पछिल्लो समय विभिन्न विषयमा मतभेद हुँदा सो गठनबन्धनमा दरार देखिएको थियो। अघिल्लो साता मात्रै राष्ट्रपति सिरिसेनाले भारतीय गुप्तचर एजेन्सी रिर्सच एन्ड एनालाइसिस विङ्ग ‘रअ’ ले आफ्नो हत्या गर्ने षडयन्त्र गरेको आरोप समेत लगाएका थिए।

राष्ट्रपति सिरिसेना र प्रधानमन्त्री विक्रमासिंगेबीच पछिल्लो विवाद भारतलाई बन्दरगाह भाडामा दिने सरकारी योजनामा देखिएको थियो। शुक्रबार मात्रै सिरिसेनाको दलले युनाइटेड पिपुल्स फ्रिडम एलायन्सबाट बाहिरिने घोषणा गरेको थियो।

Comments

comments

सम्बन्धित शिर्षकहरु