खसी किन्दै हुनुहुन्छ ? कसरी चिन्ने स्वस्थ खसी,यस्ता हुन्छन् हानिकारक

काठमाडौं । दशैंमा अत्यधिक मात्रामा खसीबोका, भेडाच्याङ्ग्रा, राँगा लगायतका चौपाया खपत हुने गरेको पाईन्छ । मासु उपभोग गरिने चौपायाको खरिद –विक्रीका कारोबार धेरै हुने भए पनि कस्ता चौपायाका मासु उपभोगजन्य हुन्छन् भन्ने जानकारी अधिकांश उपभोक्तालाई रहेको पाइन्न । रोगी चौपाया, गुणस्तरहिन मासुको उपभोगका कारण धेरै रोगहरू निम्तिन पनि सक्छन् । नेपालमा मासुका लागि कुखुरापछि खसी–बोकाको माग उच्च भएपनि उत्पाद भने न्युन मात्रामा छ ।

खाद्य संस्थानले ल्याएका खसी–बोका तथा च्याङ्ग्रा सुपथ मूल्यमा विक्रि गरिरहेको छ । यता व्यवसायीहरुले भने संस्थानको भन्दा केहि महङ्गो मूल्यमा विक्री गरिरहेका छन् । नेपालका विभिन्न पहाडी जिल्ला तथा चितवन मकवानपुर लगायतका जिल्लाबाट व्यवसायीहरुले खुसी–बोका ल्याउने गरेका छन् । त्यस्तै च्याङ्ग्रा भने मनाङ मुस्ताङ लगायतका हिमाली जिल्लाबाट ल्याउने गरिएको छ । यसका साथै खसीबोका भारतको लखनउ, कर्नाटक लगायतका विभिन्न स्थानबाट समेत ल्याईएको छ ।

दशैंमा प्राय सबैको घरमा खसी–बोका काट्ने चलन छ । गाउँघरमा आफ्नै घरमा पालेको खसी–बोका काट्ने गरिएपनि शहर बजारमा भने बाहिरबाट किनेर ल्याएको खसी–बोका काट्ने गरिन्छ । बाहिरबाट किनिएका खसीबोका कति स्वस्थ होलान ? त्यसैले खसी–बोका किन्दा स्वास्थ्य अवस्था तथा मोटाई लगायतका विषयमा ख्याल गर्नु बुद्धिमानी हुने पशुचिकित्सकहरुले बताएका छन् । अस्वस्थ खसीबोकाको मासु खानाले विभिन्न रोगी पशुबाट मानिसमा समेत जुनोटिक रोग सर्न सक्ने चिकित्सकहरु बताउँछन् ।

सिंग हेरेर छान्नुस् खसी
चौपायाको स्वास्थ्य परीक्षण गरी पशु स्वास्थ्य निर्देशनालयले रंग लगाउने गर्छ । पशु प्राविधिकहरूले चौपायाको स्वास्थ्य परीक्षण गरेर स्वस्थ र उपभोगयोग्य चौपायामा हरियो रंगको चिह्न लगाएका हुन्छन् भने बिरामी र उपभोग गर्न नमिल्ने चौपायामा रातो रंग लगादिएका हुन्छन् ।

सामान्य स्वास्थ्य परीक्षण गरेर त्यसका आधारमा निर्देशनालयले रंग लगाउँछ। निर्देशनालयले सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर त्यस्तो क्वारेन्टाइन स्थापना गर्ने तयारी भएको बताएको छ।

यस्ता खसी हानिकारक
चौपायाको शारिरीक लक्षण हेरेरै पनि ती उपभोगयोग्य भएरनभएको पत्ता लगाउन सकिन्छ । ‘छाम्दा तापक्रम बढी भएको, सिंगान बगेको, चिप्रा लागेको, झुम्म परेको देखिने चौपाया रोगी हुनसक्छन्,’ ।

भित्री रोगको लक्षण तीनको शारिरीक चालढालबाटै थाहा पाइने भएकाले ध्यान दिएर हेरे पनि चौपाया उपभोगयोग्य भए/नभएको थाहा हुन्छ ।’ चिकित्सकहरुका अनुसार उपभोक्ताले अति दुब्लो, आँखा आवश्यकता भन्दा बढी रसिलो भएको, झोक्य्राएका लगायत विशेषता भएका खसीबोका किन्नुहुँदैन । जीउँदा खसीबोका हेरेर नै त्यसको स्वस्थता अनुमान लगाउन सकिने भए पनि ढुक्क हुने स्थिती हुँदैन ।

यसरी छुट्याऔं
पीपीआर रोग : श्वास प्रश्वास बढ्ने, नाक, मुख र आँखाबाट र्‍याल तथा सिँगान आउने र ज्वरो आउने गर्छ ।
घुमाउने रोग : टाउको आकाशतिर उचालेर फनफनी घुम्ने, कराउने र लड्नेजस्ता लक्षण देखिन्छन् ।
रेबिज : मुखबाट र्‍याल आउने, असामान्य रूपमा कराउने, ज्वरो आउने, छिनछिनमै दिसा गर्ने र खुट्टाले भुइँ कोट्याइरहनेजस्ता लक्षण देखिन्छन् ।
खोरेत : गिँजा र खुट्टाको खुरमा घाउ आएको, नखाने, सुस्त, झोक्राएको, लंगडाउनेजस्ता लक्षण देखिन्छ ।

मासु खान यस्तो खसी ठीक
खसी–बोका किन्दै गर्दा केही कुरामा भने सजगता अपनाउनुपर्छ । ग्रामीण भेगमा त दसैँलाई भनेर केही समयपहिलेदेखि नै बोका पालेर राखिएको हुन्छ । तर, सहरी क्षेत्रका बासिन्दाले खसी–बोका किन्दा विशेष सजग हुनुपर्छ । मोटोपन राम्रो होइन । मोटोपनले शरीर रोगी बनाएको हुन्छ । त्यसैले मोटा खसी–बोकाको मासु खानु दुई कारणले हानिकारक हुन्छ । मोटा खसीबोका रोगी हुने भएकाले रोगी मासुले फाइदा गर्दैन । बोसोले पनि असर गर्छ । बोसोपन बोकामा भन्दा खसीमा बढी हुन्छ । बोसो स्याचुरेटेड फ्याटी एसिड हो । यसले कोलेस्ट्रोलको मात्रा बढाउँछ । मुटुसम्बन्धी रोग भएकालाई झनै हानिकारक हुन्छ । त्यसैले खसी किन्दा सकेसम्म दुब्लो नै किन्नुहोस् ।

खसी किन्दा उसको भुँडीमा ध्यान दिनुपर्छ । भुँडी झरेको खसी रोगी हुन सक्छ । भुँडी झोलिएको खसीमा जुका पर्ने सम्भावना बढी हुन्छ । जुका परेको खसीको मासु खाएमा जुका हाम्रो पेटबाट दिमागसम्म पुग्ने खतरा रहन्छ । मोटोपनले पनि भुँडी झरेको हुन्छ ।

खसी र बोका किन्दा उमेरमा ध्यान दिन सकियो भने पनि ठूलो फाइदा हुन्छ । खसी र बोका खाने उत्तम उमेर फरक–फरक हुन्छ । अन्दाजी आठ महिनादेखि एक वर्षसम्म उमेरको बोकाको मासु स्वस्थकर हुन्छ । यसमा बोसोको मात्रा तुलनात्मक रूपमा कम हुन्छ । यसैगरी, खसी कलिलोभन्दा छिप्पिएकै खानु ठीक हुन्छ । छिप्पिएको खसीको मासुमा फ्याट कन्टेन्ट तुलनात्मक रूपमा कम हुन्छ ।

 

खसीको शारीरिक अवस्था पनि हेर्नुपर्छ । किन्न आँटेको खसी–बोकालाई बाँधेको ठाउँबाट फुकाउनुहोस् र हल्का धपाएजस्तो गरेर हिँड्न लगाउनुहोस् । लोसे खालको हिँडाइ तथा गतिविधि देखायो भने पूर्ण स्वस्थ नभएको बुझ्नुपर्छ । फुर्तिलो, छुँदा बुरुक्क उफ्रिने, चलमलाउने हुनुपर्छ ।

आँखामा चिप्रा आएको, नाकबाट सिंगान बगिरहेको खसी–बोका किन्नेतिर लाग्दै नलाग्नुहोस् । त्यसैगरी रौँ झुस्स भएको खसी पनि स्वस्थ हुँदैन । उसको थलोतिर पनि नियाल्नुहोस् । गोटा परेको जुत्तो गरेको छ भने निरोगी भएको बुझ्नुपर्छ । पुच्छर आसपासमा छेरेको लतपतिएको देखिएमा खसी–बोका रोगी छ भन्ने जान्नुपर्छ । यस्तालाई जुका परेको हुन सक्छ ।

अस्वस्थ मासुले लाग्ने रोगहरु
स्वस्थ पशुपंक्षीको मासुमा मानव शरीरका लागि आवश्यक पर्ने प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनिज पदार्थ र पानीको मिश्रण प्रशस्त मात्रामा पाइन्छ । तर, नाफा कमाउने उद्देश्यले केही व्यापारीहरुले रोगी पशु काट्ने गरेका छन् । जसका कारण पशुमा भएका रोग मानिसलाई पनि सर्न सक्छ । जथाभावी रुपमा मासु काट्ने र ढुवानी गर्दा मानिसलाई रोगी बनाइरहेको हुन्छ ।

चिकित्सकहरु मासुलाई राम्ररी नपकाउँदा मासुमा हुने परजीवीहरु नमर्ने र त्यस्तो मासु खाँदा मानिसको मस्तिकलगायत शरीरका अन्य भागमा हानी पुर्‍याई रोगी बनाउने बताउछँन् ।चिकित्सकको अनुसार अस्वस्थकर मासुले टाइफाइड, झाडापखाला तथा पेटका समस्या निम्तिन सक्ने भएकाले किनिएको पशु तथा मासु स्वस्थकर छ कि छैन भनेर ध्यान पुर्‍याउनुपर्छ ।

अस्वस्थकर मासु तथा रोगी पशुको मासु सेवन गर्दा मानिसलाई जुनोटिक रोग बढी लाग्छन् । रोगी पशुपंक्षीको मासु सेवन गर्नाले मानिसलाई बर्डफ्लु, स्वाइनफ्लु, एन्थ्राक्सलगायतका जुनोटिक रोग लाग्न सक्ने सम्भावना बढी हुन्छ ।

अस्वस्थ माछामासुको सेवनबाट क्षयरोग, आउँ, पेट फुल्ने, मिर्गौलाको रोग, क्ओसटियल इन्फेक्सन, फुड पोइजनिङजस्ता समस्या पनि धेरैमा हुने गरेको छ । अस्वस्थकर राँगा, भैँसीको मासु खानाले टेनिया सोडियम, बङगुरको मासुबाट टेनिया स्याकिटेटा नामक जुका र अस्वस्थ माछाको सेवनबाट एच.नाना र अस्वस्थ कुखुराको मासुबाट बर्डफ्लु तथा नपाकेको मासु खानाले दिमागमा स-साना टेपवर्म जाने र पछि मानिसको मृत्युसमेत हुनसक्ने चिकित्सकहरूको भनाइ छ ।

कस्तो मासु नखाने ?

उपभोक्ताले मासु खरीद गर्दा पनि झिँगा नभन्केका, राम्ररी काटिएका, डिपफ्रिजमा राखेको मासु ल्याउनुपर्ने विज्ञहरुको सुझाब छ । चिकित्सकहरुका अनुसार व्यवस्थित बधशालामा काटिएको मासु मात्र खानुपर्छ । रोगी, झोक्राएको जस्तो पशुको मासु खानु हुँदैन । फ्रिजमा राखेको र सुक्ष्म जीवाणुबाट मुक्त मासुको प्रयोग गर्नुपर्छ ।

यसका साथै पोलेको र थोरै समय मात्र पकाएको मासुका परिकार, जस्तो सेकुवा, छोयला र काचो नै खाइने कचिलाजस्तामा रोग लाग्ने कीटाणु जीवितै हुने सम्भावना बढी हुन्छ । चिकित्सकका अनुसार प्रेसरकुकरमा उच्च तापमा राम्ररी पकाएको मासु मात्र खानयोग्य हुन्छ ।

आम मानिसमा छाला पनि खानुपर्छ भन्ने भ्रम छ । तर यथार्थमा छाला खानु भनेको रोग निम्त्याउनु हो । छालामा विभिन्न सिस्ट हुने भएकाले तिनीहरुका कारण मानिसलाई इपिलेप्सि, हिस्टोरीयालगायतका विभिन्न रोग लाग्ने चिकित्सकहरु बताउँछन् ।

सम्बन्धित शिर्षकहरु