यस्तो छ दशैंको धार्मिक सामाजिक र आध्यात्मिक महत्व,जमरा पूजा कसरी गर्ने ?

के पी रिजाल- नेपालीहरूको प्रमुख चाड मानिन्छ । राष्ट्रिय चाड समेत मनिने दशैँ हिन्दु धर्मवलम्बीहरुले आश्र्विन शुक्ल प्रतिपदादेखि पुर्णिमा सम्म मनाउने गर्छन्। आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)मा जमरा राखी नवमीसम्म दुर्गासप्तमिमा (चण्डी) पाठ गरी नव दुर्गा र तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वोतिको विशेष पूजाआजा र आराधाना गरिन्छ ।

हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि घरघरमा सिङ्गो सृष्टिको प्रतीक घटस्थापना गरी जमरा राखेर मनाउन सुरु गरिएको यो पर्व नवमीसम्म शक्तिस्वरुपिणी माता भगवतीको उपासना गरी दशमीको दिन विसर्जन गरेर मान्यजनहरूबाट प्रसादको रूपमा टीका र जमरा लगाएपछि समाप्त भएको मानिन्छ तर कतैकतै लगत्तैको पूणिर्मासम्म पनि टीका लगाउने चलन रहिआएको छ । यो ठाउँअनुसारको चलन हो । समग्रमा दसैँको समाप्ति दस दिन पूजा गरी दशमीकै दिन हुने गर्दछ । दसैँ पर्वलाई नवरात्रि पनि भनिन्छ । प्रतिपदादेखि दशमीसम्म बीचमा नौ रात पर्दछन् । यसैको आधारमा शास्त्रीय भाषामा यस पर्वलाई नवरात्र भन्ने गरिएको हो ।

नवरात्रको परम्परा कहिलेदेखि सुरु भयो यसै भन्न त सकिन्न तर यसको सुरुवात निकै पहिलेदेखि हँुदै आएकोमा भने कतै शङ्का गर्नुपर्ने ठाउँ छैन । पौराणिक ग्रन्थहरूमा उल्लेख भएअनुसार देवताहरूले समेत भय निवारण गर्न नवरात्रमा दुर्गा पूजा गर्ने गरेका छन् । सत्ययुगमा देवताहरूले दानवीय शक्तिमाथि विजय पाउन नवरात्रीय विधानलाई अवलम्बन गरेका थिए । त्रेतायुगमा रामले रावणमाथि विजय पाउन र द्वापर युगमा कृष्णले पनि कतिपय सङ्कट निवाणार्थ नवरात्रमा दुर्गा पूजा गर्नुभएको प्रशस्तै शास्त्रीय प्रमाण छन् । महाभारतका अनुसार पाण्डवहरूले १२ वर्षको वनवास र एक वर्षको गुप्तवासको अवधि भुक्तानको शक्ति प्राप्त गर्न नवरात्रकै विधानलाई अपनाएका थिए भने देवी भागवतका अनुसार कृष्णलाई उनकै भक्त जाम्बवानको पकडबाट मुक्त गराउन पिता वसुदेव र माता देवकीले पनि नवरात्रीय विधानकै शरण लिएका थिए ।

पूजा कसरी गर्ने ?
विशेष गरी नवरात्रको पहिलो दिन अर्थात् प्रतिपदाको दिन बिहान पूजा कोठामा बसी सर्वप्रथम बायाँ हातले घण्ट बजाउँदै दाहिने हातले सस्र्युं छर्केर भूतप्रेत भगाउने काम गरेर दियो र गणेशको पूजा गरिन्छ । त्यसपछि धानको टपरीमाथि पूर्ण घडा थापेर त्यसभित्र पञ्चपल्लव, सर्वौषधी, सप्तमृत्तिका, पारो, पञ्चरत्न, दुबो, सिङ्गो सुपारी, आँपपीपलको पात राखिन्छ र घाँटीमा रातो र सेतो कपडाले बेरी सबै समुद्र, नदी र तीर्थहरूलाई आहृवान गर्दै पूजा गरिन्छ । यतिबेला थापिएको घडामा गाईको गोबरले तेर्सो र ठाडो रेखा बनाएर ‘ओं ओषधय : समवदन्त सोमेन सह राज्ञा । यस्मै कृणोति ब्राहृमणस्त गू राजन्पारयामसि’ भन्ने मन्त्रले जौ रोप्ने काम गरिन्छ । त्यसपछि ब्रहृमा, क्षेत्रपाल, दशदिग्पाल, नवग्रह, विष्णु, शिव, विनायक, सूर्य, देवीपरिवार आदि पाञ्चायन देवताको पूजा गरिन्छ र धूपदीपनैवेद्य गरी घडामाथि तामाको थाली राखेर त्यसैमाथि सुनको दुर्गाप्रतिमा राखेर प्राणप्रतिष्ठा गरी षडङ्ग न्याससहित पूजा गर्नुपर्ने प्रावधान छ ।

नवदुर्गामध्ये पहिलो दिन पूजा हुने दुर्गादेवीको नाम शैलपुत्री हो । दुर्गाको पूजा गर्दा अरू मन्त्र नजाने पनि कम्तीमा ‘ओं दुर्गे दुर्गे रक्षिणि स्वाहा दुर्गादेव्यै नमः’ भन्ने मन्त्र भने उच्चारण गर्नै पर्दछ । पूजा ६४ प्रकार, १८ प्रकार, १६ प्रकार, १० प्रकार र ५ प्रकारको हुन्छ । यसमध्ये नसके पञ्चोपचारले गरे पनि हुन्छ । पञ्चोपचार भन्नाले सामान्यतया चन्दन, अक्षता, फूल, धूप, दीप र नैवेद्य भन्ने बुझ्नु पर्दछ । त्यसपछि जमारा राख्नुपर्ने शास्त्रीय प्रावधान भेटिन्छ । जमरा राख्ने भनेको शुद्ध जौलाई गाईको गोबरमा भिजाएर पूजा कोठामा राखिएको बालुवामा रोप्ने काम हो । जमरा राख्दा ‘ओं यवोसि यवयास्मद्द्वेषो यवया रातीः’ भन्ने मन्त्र पढ्नुपर्छ र ‘ओं भगवतीप्रसादरुपेभ्योङ्कुरिष्यमाणेभ्यो यवेभ्यस्तदधिष्ठात्रीदेवीदेवेभ्यश्च नमः’ भन्ने मन्त्रले चन्दन, अक्षता, फूलद्वारा जमरालाई पूजा गर्नुपर्दछ । जमरा माता भगवतीलाई बढी मन पर्ने पदार्थ भएकाले उनलाई खुसी पार्नकै लागि यतिबेला जमरा राख्ने र प्रयोग गर्ने गरिएको हो । त्यसपछि यथाशक्ति जप, पाठ, हवन, बलिदान गरी विश्राम गर्नुपर्दछ । बलिदानमा कुभिण्डो, काँक्रो, उखु, मुला, बेल, नरिवल र कृशर बलिको रूपमा दाल र चामललाई लिइन्छ । साँझ भजन, कीर्तन, आरती गरी जमरामा पानी राखेपछि पहिलो दिनको कृत्य पूरा हुन्छ ।

दोस्रो, तेस्रो, चौथो, पाँचौँ र छैटौँ दिन क्रमशः ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता र कात्यायनी देवीको पूजा हुन्छ । पूजाको विधान र अन्य कृत्य सबै प्रथम दिनकै बमोजिम हुने गर्दछ । छै्रटौँ दिनकै साँझ फूलपाती भित्र्याउँदा ल्याउनु पर्ने बेललाई निमन्त्रणा गर्नुपर्ने शास्त्रीय प्रावधान छ । सप्तमीको दिन कालरात्रि नामक देवीको पूजा हुन्छ । यसैदिन वचनकी अधिष्ठात्री देवी सरस्वतीको पनि पूजा गर्नुपर्दछ । सरस्वतीको पूजा विशेष गरी पुस्तक, कलम, कापी र मसिदानी राखेर गरिन्छ । यस दिन दिउँसो फूलपाती ल्याएर देवी मन्दिरको अगाडि आँगनमा राख्नुपर्दछ । फूलपातीमा नौ जातका वनस्पति पर्दछन् । जसमा केरा, दारिम, धानको बोट, हलेदोको बोट, कुभिण्डो, कचु, बेल, अशोक जयन्ती रहन्छन् । यी वनस्पतिलाई दिनभरि त्यहींँ राखेर पूजा गरी साँझ बाजागाजासहित देवीको मन्दिरमा भित्र्याएर पुनः पूजा गर्नुपर्दछ । पूजा गरिसकेपछि ‘पत्रिके नवदुर्गेत्वं महादेव मनोरमे । पूजा समस्तां सङ्गृहृय रक्षमां त्रिदशेश्वरी’ भन्ने मन्त्रले प्रार्थना गर्नुपर्दछ । यसै दिन साँझ माता भद्रकालीको पनि पूजा गर्नुपर्दछ ।

अष्टमीको दिन -जसलाई महाअष्टमी भनिन्छ) बिहान विशेष गरी महागौरी नामक दुर्गाको पूजा गर्नुपर्दछ । पूजा र अन्य विधान पहिलो दिनकै जस्तो भइहाल्यो । यसै दिन राति कालरात्रि गर्नुपर्दछ । कालरात्रि गर्दा विशेष गरी भैरव, सिंह, भगवतीको हातहतियार, गणमातृकाहरूको साथमा अष्टमातृका, नवदुर्गा, दशमहादेवी, कोटियोगिनी, दशदिशा र दिग्पाल आदिको पूजा गर्नुपर्दछ । त्यसपछि बलिदान र हवन गरेर त्यस दिनको कृत्य समापन गरिन्छ । बलिदानमा पनि पहिलो दिनको जस्तै पदार्थहरू रहने गर्दछन् । यद्यपि बलिदानमा बोको, राँगो, हाँस, कुखुरो आदिलाई पनि लिने गरिएको पाइन्छ तर ती सबै तामसिक पूजामा मात्र ग्राहृय हुन सक्छन् । पूजा सात्विक नै हुनुपर्छ भन्ने धर्मग्रन्थ र धर्मगुरुहरूको कथन छ । अब आयो नवमीको दिनको पालो । यस दिन विशेष गरी त्रिशूलिनी देवीको पूजा हुन्छ । नवदुर्गामध्येकी अन्तिम दुर्गा सिद्धिदात्री देवीको पूजा पनि यसै दिन हुने गर्दछ । दुई वर्षदेखि दसवर्षसम्मका नवकन्याको पूजा पनि यसै दिन गरिन्छ । कतैकतै प्रत्येक दिन एकएक कन्याको पूजा गर्ने गरेको पनि पाइन्छ । यी सबै आ-आˆनो अवस्थामा भर पर्ने कुरो हो जसरी गरे पनि हुन्छ । यसबाहेक पहिले जस्तै हवन, बलिदान र साँझ भजन, कीर्तन तथा आरतीको प्रावधान त आˆनो स्थानमा छँदैछ ।
दशमीको दिन बिहान पहिलेको जस्तै दैनिक पूजाको कृत्य सकेर जया र विजया देवीको साथमा अपराजिता देवीको पूजा गरी जमरा चढाएर विसर्जन गरिन्छ । अपराजिताको पूजा गर्दा पहेँलो कपडामा सस्र्यं र अपराजिता नामक फूलको पात राखी गाँठो पारेर पूजा गरी दाहिने हातको पाखुरामा बाँध्न् पर्दछ । यसो गर्नाले आफूमाथि कसैले पनि विजय गर्न सक्दैन भन्ने धार्मिक विश्वास छ । यसरी नवरात्रीय विधान पूरा गरी मान्यजनहरूबाट टीका र जमारा लगाउनाले वर्षभरि सुख, शान्ति, सद्भाव र आयु, आरोग्य वृद्धि हुन्छ भन्ने मान्यता छ । यतिबेला मान्यजनहरूले टीका लगाइदिँदा ‘आयुद्रोणसुते श्रयिं दशरथे शत्रुक्षयं राघवे । ऐश्वयर्ंं नहुषे गतिश्च पवने मानंच दुर्योधने । सौर्यं शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तिसुते । विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे’ भन्ने मन्त्र पढ्दछन् तर महिलालाई टीका लगाइदिँदा भने उनीहरू ‘जयन्ती मङ्गला काली भद्रकाली कपालिनी । दुर्गा क्षमा शिवा धातृ स्वाहा स्वधा नमोस्तुते’ भन्ने मन्त्र पढ्ने गर्दछन् ।
वस्तुतः दसैँ अर्थात् नवरात्र पर्व शक्ति उपासनाको पर्व हो । कतिपय श्रुति र स्मृति ग्रन्थहरूमा उल्लेख भएअनुसार अग्नि, इन्द्र, वरुण र वायुलाई आˆनै शक्ति थाहा नपाएर आच्छुआच्छु बनाएको बेला जुन माता भगवतीले हैमवती उमाको रूपमा प्रकट भएर उनीहरूको स्थान र स्थिति बोध गराएकी थिइन् तिनै माता भगवतीले समयसमयमा भीमा, भ्रामरी, शताक्षी, शाकम्भरी, दुर्गा आदि रूपले प्रकट भएर मानवसमाजको सङ्कट निवारण गर्ने गरेकी छिन् । नवरात्रमा तिनै शक्ति स्वरूपिणी माता भगवतीको उपासना गरिन्छ । यसै पनि मानवजीवनमा शक्तिको कति आवश्यकता पर्छ भनिरहन पर्दैन । हामीलाई खान मात्र होइन खाएको चीज पचाउन पनि शक्तिको आवश्यकता पर्दछ । यहाँसम्म कि हामीलाई सुत्न र उठ्न मात्र होइन सुतेर निदाउन पनि शक्तिकै आवश्यकता पर्दछ । नवरात्र पर्वमा सम्पन्न गरिने कृत्यहरू र आहार, विहार, अनुष्ठान र आत्मिक अनुशासन आदि परिपालन गर्नुपर्ने नियमहरू यही शक्ति सन्तुलन, संरक्षण र सम्बर्द्धनतर्फ परिलक्षित रहेकाले यसको अपरिहार्यता त आˆनो स्थानमा छँदैछ साथसाथै यसैको सेरोफेरोबाट भन्नु पर्दा यो पर्व कुनै वर्ग वा समूह विशेषको मात्र नभई सबैको हो भन्ने कुरोसमेत प्रस्ट हुन आउँछ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु