नीलम र मानन्धरलाई मदन र जगदम्बाश्री पुरस्कार प्रदान

काठमाडौं । ०७४ सालको मदन र जगदम्बाश्री पुरस्कार उपन्यासकार नीलम कार्की ‘निहारिका’ र अग्रज बालसाहित्यकार शान्तदास मानन्धरलाई प्रदान गरिएको छ । गएको ११ भदौमा भएको निर्णयानुसार उनीहरूलाई राजधानीमा एक समारोहको आयोजना गरी पुरस्कार प्रदान गरिएको हो ।

मदन पुरस्कार गुठीले ०७४ सालको मदन पुरस्कारबाट कार्कीको उपन्यास ‘योगमाया’ लाई पुरस्कृत गरेको छ । मदन पुरस्कारका लागि २ सय ५३ पुस्तक प्राप्त भएकामा गुठीले आठवटा पुस्तक मात्रै छनोट गरेको थियो । जसमा कार्कीको ‘योगमाया’, मोहन वैद्यको ‘हिमाली दर्शन’, ध्रुवसत्य परियारको ‘कैरन’, नयनराज पाण्डेको ‘यार’, यज्ञशको ‘भुइयाँ’, सरस्वती प्रतीक्षाको ‘नथिया’, राज माङ्लाकको ‘लिम्बुनी गाउँ’ र तीर्थ गुरुङको ‘पाठशाला’ सूचीमा परेका थिए ।

त्यस्तै, उक्त कार्यक्रममा नेपाली बालसाहित्यमा विशिष्ट योगदान दिएका अग्रज स्रष्टा मानन्धरलाई यस वर्षको ‘जगदम्बाश्री पुरस्कार’ प्रदान गरिएको छ । बाल साहित्यको विकास, विस्तार तथा प्रवद्र्धधनमा विगत पाँच दशकदेखि निरन्तर समर्पित रहेको जनाउँदै गुठीले मानन्धरलाई जगदम्बाश्री प्रदान गरेको जनाएको छ ।

०१२ सालमा स्थापित मदन पुरस्कार सर्वप्रथम ०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भिमसेन थापा’ तथा विज्ञान विधामा बलराम जोशीको ‘आदिकविभव स्थिर विद्युत् उत्पादक’ पुस्तकलाई प्रदान गरिएको थियो । ०४५ मा जगदम्बा रानीको निधनपछि उनकै स्मृतिमै जगदम्बाश्री पुरस्कारको समेत स्थापना गरिएको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु