‘जितेकालाई हटाएर उपनिर्वाचन गराउनु जनताकै मतको अपमान’उपनिर्वाचनमा राज्यकोषको करोडौं खर्च हुने

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले सभामुखमार्फत राजीनामा दिनुपर्ने भएको हुँदा राजीनामाको अनुमतिका लागि पार्टीसमक्ष निवेदन दिइसकेको बताएका छन् ।

सांसद मानन्धरले भने, ‘पार्टी नेतृत्वको दवावमा नभई स्वेच्छाले राजीनामा दिने सोच बनाएको हुँ, आगामी दिनमा पनि पार्टीले गर्ने निर्णय र जिम्मेवारीलाई इमान्दारिताका साथ पालना गर्नेछु ।’

पार्टी एकीकरणमा नेता वामदेव गौतमको महत्वपूर्ण योगदान रहेकाले मुलुकको विकास र समृद्धिको कार्यसूचीलाई थप प्रभावकारी ढङ्गबाट अघि बढाउन उनको संसद्मा उपस्थिति खड्किएको हुँदा त्यसमा योगदान होस् भनेर आफूले राजीनामा दिएका मानन्धनले बताएका छन् ।
उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता गौतमको रोहवरमा राजीनामाका लागि लिखित निवेदन दिएको जानकारी पनि दिएका छन् ।
यसैबीच नेकपाका नेता गौतमलाई संसद्मा ल्याउन उपनिर्वाचन गरिए राज्यकोषबाट करोडौं रुपैयाँ खर्चिनुपर्ने अवस्था आउने भएको कान्तिपुर दैनिकले लेखेको छ । निर्वाचन आयोगका अनुसार गएको प्रतिनिधिसभा निर्वाचनमा प्रतिमतदाता ५ सय ६ रुपैयाँ खर्च भएको थियो ।
काठमाडौं क्षेत्र नम्बर ७ मा ५७ हजार ५ सय ५८ जना मतदाता छन् । त्यो रेकर्ड अघिल्लो निर्वाचनको हो । त्यही मतदातालाई अघिल्लै निर्वाचनको खर्चसँग तुलना गर्ने हो भने उपनिर्वाचन गराउँदा २ करोड ९१ लाख २४ हजार ३ सय ४८ रुपैयाँ खर्च हुनेछ । यस्तै सुरक्षामा पनि उत्तीकै खर्च हुनेछ ।
संविधानविद् भीमार्जुन आचार्यले जनताले चुनेको व्यक्तिलाई राजीनामा गर्न लगाएर चुनाव गराउन खोज्नु जनताकै मतको अपमानका भएको टिप्पणी गरेका छन् ।
‘पार्टीको निजी खर्चमा चुनाव हुने होइन, जनताले तिरेको करबाट उपनिर्वाचन हुने हो,’ उनले भने, ‘कानुनी र संवैधानिक रूपमा एउटाले राजीनामा दिँदा त्यहाँ उपनिर्वाचन गराउनुपर्ने विषय गलत नहोला। तर, अहिले एउटा व्यक्तिका लागि गर्न खोजिएको प्रयत्न भने लोकतान्त्रिक व्यवस्था सुहाउँदो छैन।’

Comments

comments

सम्बन्धित शिर्षकहरु