किन बन्नुपर्‍यो बामदेवलाई सांसद ? ‘पुरानो गुन’ तिर्न प्रचण्डको काँध

काठमाडौं । काठमाडौँ क्षेत्र नम्बर–७ बाट निर्वाचित सांसद रामवीर मानन्धरले नेकपाका सचिवालय सदस्य वामदेव गौतमका लागि आफूले राजीनामा दिन लागेको बताएका छन् । उनले आफूले कसैको दबाबमा आएर नभई स्वतःस्फुर्त रुपमा सदस्य गौतमको लागि सिट खाली गर्न लागेको स्पष्ट पारेका हुन् ।

उनले आफूले पार्टीमा राजीनामा बुझाइसकेको पनि जानकारी गराए । मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर मानन्धरले भने, ‘ मैले कसैको दबाबमा आएर राजीनामा दिन लागेको होइन, मैले आफैले वहाँलाई मेरो क्षेत्रबाट प्रस्ताव गरेको हुँ ।’ यसअघि गौतमलाई डोल्पा, बाँके, दैलेख लगायतका जिल्लाबाट उठाउने तयारी गरिएपनि सफल हुन सकेको थिएन । अब भने उनी काठमाडौँ–७ बाट उठ्ने पक्का भएको छ ।

सोमबार बसेको नेकपाको सचिवालय बैठकले समेत गौतमलाई काठमाडौँको क्षेत्र नम्बर ७ बाट उपनिर्वाचनबाट संसदमा भित्र्याउनेबारे छलफल भएको थियो । यसअघि गएको प्रतिनिधिसभा निर्वाचनमा गौतम बर्दिया–१ बाट काँग्रेसका सञ्जय गौतमसँग पराजित भएका थिए ।

प्रचण्डको काँध, विष्णु पौडेलको भरथेग
वामदेवले कसैलाई गुन लगाएका छन् भने ने क पाका अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेललाई । “युद्धकालमा कार्यकर्ता पठाएर होस् या शान्तिप्रक्रियामा अवतरण गराएर, वामदेवले प्रचण्डलाई ठूलो गुन लगाएका छन्,” ने क पाका एक स्थायी कमिटी सदस्य भन्छन्, “विष्णु पौडेललाई संगठन विभाग प्रमुखदेखि महासचिव बनाउनसम्म गौतमकै भूमिका छ । त्यसकै गुन तिर्न विष्णु पौडेल ज्यान फालेर लाग्नुभएको छ ।”

प्रधानमन्त्री बन्ने चाहना

उपप्रधानमन्त्री भैसकेका नेता गौतमलाई प्रधानमन्त्री बन्ने चाहना हुनु स्वभाविक नै हो । हुन त अहिलेलाई ५ वर्षसम्म केपी शर्मा ओलीले नै सरकारको नेतृत्व गर्नुहुन्छ भनेर एकथरि नेकपाका नेताहरुले भन्दै आएका छन् । तर पार्टी एकता गर्ने बेला आलोपालो गर्ने भद्र सहमति भएको छ भनेर प्रचण्डले बेलाबेला सम्झाउने गर्नुहुन्छ । ओली र उहाँ पक्षका नेताहरु आलोपालो गर्ने कुरा सुन्न पनि चाहँदैनन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु