रोकिएन बामदेव गौतमको आकांक्षाः काठमाडौं ७ बाट उठ्ने तयारी

काठमाडौं । नेकपाका नेता वामदेव गौतमलाई सांसद बनाउनका लागि डोल्पा लैजाने प्रयास असफल भएपछि अब काठमाडौंं क्षेत्र नम्बर ७ खाली गराउने विकल्पबारे पार्टीमा छलफल सुरु भएको छ  । नेकपाको सोमबारको सचिवालय बैठकमा गौतमलाई सांसद बनाउनका लागि काठमाडौंं क्षेत्र नम्बर ७ खाली गराउने विषयले प्रवेश पाएको हो ।

स्रोतका अनुसार प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले उक्त क्षेत्रका सांसद रामवीर मानन्धर आफ्नो पद छोड्नका लागि सकारात्मक रहेको जानकारी बैठकलाई गराएका छन् । एक नेताका अनुसार पार्टीले आवश्यकता देख्छ भने आफू पद छोड्न तयार रहेको भनी मानन्धरले आफूलाई बुझाएको पत्र अध्यक्ष ओलीले बैठकमा पेस गरेका थिए ।

‘अन्य क्षेत्रको प्रयास सफल नभएपछि अब काठमाडौं ७ विकल्पका रूपमा आएको छ, अध्यक्षले नै सांसदबाट आएको सहमतिबारे बैठकलाई जानकारी गराउनुभएको छ,’ नेकपा सचिवालय स्रोतले भन्यो । सांसद मानन्धरले भने राजीनामा दिने वा ओलीलाई बुझाएको सहमतिपत्रबारे बताउन चाहेनन् । पार्टीले गर्ने कुनै पनि निर्णय मान्न आफू तयार रहेको उनले बताए । ‘म पार्टीकै प्रतिनिधिका रूपमा निर्वाचित भएको हुँ,’ मानन्धरले कान्तिपुरसँग भने, ‘पार्टीले आवश्यकता देखे म पार्टीको निर्णय कार्यान्वयन गर्न तयार छु ।’ कान्तिपुर दैनिकबाट ।

Comments

comments

सम्बन्धित शिर्षकहरु