सर्जक ऋषि वरालको मुक्तक संग्रह `पैतालाका डोवहरु´वजारमा

काठमाडौं ।  विभिन्न सामाजिक सञ्जालको प्रभाव सँगसँगै नेपाली साहित्य विधामा मुक्तक र गजल लेखनले निकै वजार तताएको छ। असोज ३ गते युवा मुक्तककार ऋषि वरालको मुक्तक संग्रह `पैतालाका डोवहरु´को विमोचन कार्य अनामनगरमा रहेको मिडिया इन्टरनेशनलको हलमा सम्पन्न भएको थियो। नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको अध्यक्षता,वादल घिमिरेको सञ्चालन र वरिष्ठ गीतकार रत्नशम्सेर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा अन्य विशिष्ट कवि, साहित्यकार, समिक्षक र पत्रकारहरूको गर्बिलो उपस्थिति रहेको थियो।

नेपाल मुक्तक प्रतिष्ठानको प्रकाशनमा प्रकाशित सो कृतिमा जम्मा जम्मी २१६ अोटा मुक्तक संग्रहित छन् जस मध्ये अधिकांश मुक्तकहरुमा प्रेम विछोडको भाव भएता पनि केहि मुक्तकहरुमा सुखद मिलन, देशप्रेम,मानवीय चिन्तन,सामाजिक यथार्थ,विकृति,विसंगति,मान्छेमा देखिएको अाडम्वरी पन,नेपाली युवाहरु विदेशिनु परेको वाध्यता,साहित्यिक क्षेत्रमा देखिएको सम्मान र पुरस्कारको वेथिति,गाँउमा समेत मौलिक भाषा,संस्कृति र चालचलन हराउँदै गएको यथार्थता,अामाको महिमा,जस्ता सन्दर्भहरु समेत समेट्ने प्रयास गरिएको छ।

प्रमुख अतिथि वरिष्ठ गीतकार रत्नशम्शेर थापाले ऋषि बरालसँग मुक्तक लेख्ने खुवि र क्षमता छ भन्नेकुरा उनका मुक्तक पढे पछि थाहा भयो,उनका मुक्तकमा युग बोल्दछन्, प्रकृति, देश र मानवीय भावना प्रखर रुपमा देखिन्छन् । सुन्दर ढङ्गले लेखिएका मुक्तकहरु वाचन गरेको सुन्दा मनै आनन्दित हुन्छ भन्दै कृतिकार को प्रशंशा गर्नुभयो।

चर्चित गीतकार/मुक्तककार तथा रेडियो नेपालका रेडियोकर्मी रमेश पौडेलको प्रस्तुति भने फरक थियो ।वहाले “मुक्तक लेखन र आवरण साजसज्जाको कारणबाट नै ऋषि बरालसँग भेट भएको थियो । उनका मुक्तकहरु साच्चिँकै मुक्तक बनेका छन् । यस कृतिको पाना पल्टाएर जहाँ पढे पनि सुन्दर मन छुने मुक्तक मात्र भेटिन्छन् । उनिमा मुक्तक लेखनको क्षेत्रमा स्थापीत हुने राम्रो छनक पाएको छु।”भन्दै कृति र कृतिकारको प्रशंशा गर्नुभयो।

यसरीनै भर्खरै अनेसासको महाधिवेशनवाट नवनिर्वाचित अध्यक्ष तथा समाजसेवि साहित्यकार राधेश्याम लेकालीले “नेपालमा मुक्तक लेखनका कुराहरुलाई लिएर सदैब अन्योल भयो भनेर एक किसिमको बेथिति जुन त्यसलाई केहि हदसम्म भए पनि नेपाल मुक्तक प्रतिष्ठानको स्थापना,२०७० सालको पोखरा सम्मेलन र ५ बुँदे घोषणपत्रले एकरुपता दिने काम गरेको छ । मुक्तक लेखनको पूर्वीय र पश्चिमा शैलिको कुरा गर्ने हो भने पनि चतुष्पदीय रुवाइयात् शैलिलाई नै अवलम्बन गरेको पाइन्छ र बरालका कृतिभित्र सङ्गृहित सबै मुक्तकहरु सोहि शैलिमा लेखिएका छन् । उनका मुक्तकमा धेरै मायाप्रेमका भाव झल्कने खालका मुक्तक पाउन सकिन्छ भने देश, माटो, प्रकृति, मानवीय प्रवृत्ति, परदेशमा रहने नेपाली दाजुभाइहरुका भोगाईहरु समेटिएको छ।”

कृतिकार ऋषि बरालले मुक्तक लेखनका क्रमका आफ्ना अनुभव, भोगाइ र प्रकाशनको यात्रा सम्मका संघर्षको वर्णन र मुक्तक वाचन गरेर समेत सुनाउनु भएको थियो । आफूलाई मनपर्ने मुक्तक लेखनको शैलि चतुष्पदीय रहेको र आफ्नो कृतिमा सङ्ग्रहित सबै मुक्तकहरु पनि सोहि शैलीमा रहेका कुरा अवगत गराउँदै आमन्त्रित अतिथिहरुलाई खादा ओढाएर सम्मान गर्नुका साथै पैतालाका डोबहरुको सम्झनारुपी मायाको चिनो समेत दिनुभएको थियो।

Comments

comments

सम्बन्धित शिर्षकहरु