अस्ट्रेलियामा यसरी मार्मिक जीवन बाँचिरहेका विश्व साइकलयात्री पुस्कर शाह

अस्ट्रेलिया । विश्व साइकलयात्री पुस्कर शाह केही बर्षदेखि अस्ट्रेलियामा मार्मिक जीवन बाँचिरहेका छन् । राज्यले उनलाई संरक्षण नगर्दा रोजगारीका लागि अस्ट्रेलिया पुगेका उनी केही बर्षदेखि एउटा रेस्टुरेन्टमा भाँडा माझ्ने काम गर्छन् । सामाजिक सञ्जालमा आफुले गर्ने कामको तस्बिर राख्दै उनले पछिल्लो पटक लेखेका छन्,‘४० कटेसी रमाउला भनेको हो रैछ । बल्ल रमाउन सुरु भो साइकलेको एक थान जिन्दगी !’

नेपालमा उनको ११ बर्षको साइकल यात्राले विश्वलाई साढे ५ फन्को लगाएको विषयमा पुस्तक समेत प्रकाशन भएको थियो ।

उनले अगाडी लेखेका छन्,‘अस्ट्रेलियाको रुखमा पैसा फल्छ भन्थे, यत्रो हुन्थ्यो । रेस्टुरेन्टको भाँडामा फल्दो रैछ । बैंस जति साइकलको पांग्रामा पोखेर चालिस कटेसी चाहीँ टन्न पैसा होस भनेर जुठो भाँडाभरि पोखिएको पैसा टिपेर बल्ल घर आएँ, सुन साइँली ।’

‘पुस्कर शाह, संसारको साढे ५ फन्को’ संस्मरणले देशविदेशका उनका अनुभव सँगालेको छ । तर, उनको वर्तमान भने भाँडा माझेर वितिरहेको भावुक सन्देश उनले दिएका छन् ।

साइकल लिएरै विश्वको सर्वोच्च शिखर सगरमाथासम्म पुगेका पुस्करलाई राज्यले संरक्षण गर्न नसक्दा उनी केही बर्ष अघि पलायन भएका थिए । सामाजिक सञ्जालमा उनले आफ्ना तिता अनुभव र केही संस्मरण लेखेका छन् ।

उनले लेखेका छन्–

११ बर्षमा साइकलबाट संसारलाई साढे पाँच फन्को लगाएर नेपाल फर्केर सगरमाथाको सफल आरोहण गरेको ७ बर्ष बितेछ ! यात्रा सकेर नेपाल फर्केको ७ बर्षपछि मेरो देशको सरकार प्रमुखलाई भेट्ने शुअवसर मिल्यो ! सम्माननीय ज्युको स्वकीय सचिबले मेरो परिचय गराउनु भो !

‘ए पुस्करजीलाई त म चिनीहाल्छु नि’ सम्माननीयले गर्व साथ बोल्नु भो !
म खुशीले गदगद भएँ !
‘अनि भन्नुस पुस्करजी’

सम्माननीयको आग्रहले म बोलें
जीवनका स्वर्णिम बैंसहरू
११ बर्ष
४०१५ दिन
दुइ लाख एक्काइस किलोमिटर
साइकलको पांग्रा माथि जीवन र मेरो देशको झन्डा बोकेर
१५० देश

संसारलाई साढे पाँच फन्को
त्यसपछि संसारभरिको झन्डा बोकेर
सगरमाथाको सफल आरोहण गरेर विश्व रेकर्ड बनाए !
अनि ? सम्मानीयले सोध्नु भो !
‘संसारलाइ साढे पाँच फन्को पुस्तक लेखें’
‘वाउ !’ सम्माननीय ज्यु दङ्ग पर्नु भो !

‘म २०४६ सालको जन आन्दोलनको घाइते पनि हो, चैत्र २४ गते दरबारमार्गमा प्रहरीको गोलिले दाहिने हात छेडेर गएको थियो ! वीर अस्पतालले मृतक घोषित गरेर मेरो नाम शहिदको सुचीमा छ !’

भन्दैथें, भन्दैथें, सम्माननीय ज्यु त अघि नै ढलेछन् ! स्वकीय सचिव र सुरक्षा गार्डहरूले खै के–के सुँघाएर, पानी छम्केर होसमा ल्याए ! मेरो उग्रक्षमता देखेर डराएछन् क्यारे ।

‘त्यत्रो ४६ सालको योद्धा, जिउँदो सहिद, ऐलेसम्म पार्टीसदस्यता लिनु भाको छैन ?’ घर फर्केको साँझ स्वकीय सचिवले मलाई फोनमा सोधे ! उनलाई म ४६ सालदेखि नै नजिकबाट चिन्छु ! उनै हुन् मलाई गुच्चा र गुलेली बोकाएर जन आन्दोलनमा होमिन सिकाउने !

‘देशको झन्डा बोक्नेले पार्टीको झन्डा बोक्दैन’ मैले उनलाई सुनाएँ ! त्यसपछि मेरो डुलुवा अनुभव मेरो माटोमा उपयोग नहुने निस्कर्ष निस्कियो !
आमाले मलाई माटो र पसिनालाई माया गर्न सिकाइन ! म माटोलाई चट्टकै माया मारेर पसिनालाई माया गर्न हिडें !
ऐले अस्ट्रेलियामा भाँडा टल्काउदैछु ! एकबारको जुनीमा !

-दैनिक नेपाल

Comments

comments

सम्बन्धित शिर्षकहरु