यसरी भएका थिए भगवान श्रीकृष्ण १६ हजारका पति

काठमाडौं । हिन्दु धर्मवालम्बीहरूका लागि खाज खास दिन हो । श्रीकृष्ण जन्माष्टमी परेका कारणले प्रदेश १ र २ मा सार्वजनिक विदा समेत दिइएको छ ।

ललितपुरको कृष्ण मन्दिरमा विशेष कार्यक्रम हुने गरेको छ भने विराटनगरमा कृष्ण रथको महत्व विशेष छ । धार्मिक र ग्रन्थका मान्यताअनुसार गोठालो कृष्णको जन्म दानव मानिने राजा कंशकी बहिनी देवकी र बासुदेवबाट आठौं सन्तानका रूपमा भएको बुझिन्छ । भगवान विष्णुको आठौं अवतार पनि मान्ने गरिएको छ ।

ग्रन्थहरूका अनुसार कृष्णको गोपिकाहरूसँगको प्रेम र सोह्र हजार रानीहरूको घटनालाई यदाकदा चर्चाको विषय बनाउने गरिन्छ ।
गोपी र राधासँगको प्रेम निश्चय पनि एक विशेष घटना हो र यदि कुनै प्रेमी र प्रेमिका त्यस उच्च कोटिमा पुगेका छन् जहां कृष्ण र गोपिकाहरू थिए भने त्यस प्रेमको वर्णन उनहरूले गर्न सक्छन् । श्रीकृष्ण एक पूर्ण पुरुष थिए ।

कृष्णमा सम्पूर्ण पुरुषोचित गुण थिए । उनी आकर्षक थिए । बहादुर थिए । निर्णायक थिए । असल रक्षक थिए । समाजका हित चिन्तक थिए । योग्य पुत्र थिए । योग्य मित्र थिए । गायक थिए, सँगीतज्ञ थिए । नर्तक थिए । घिउदूधमा बालबालिकाहरूको पहिलो अधिकार स्थापना गरेर बाल अधिकारका प्रतिपादक बनेका थिए ।

त्यस्ता विशेष पुरुषलाई प्रेम गर्ने गोपिकाहरू धन्य भएका थिए । कृष्ण जस्ता अतिमानवको प्रेम पाएर गोपिकाहरू प्नि धन्य भएका थिए । भागवत ग्रन्थको रासलीलामा त्यो प्रेम ज्यादै सुन्दर र पवित्र रुपमा प्रकट गरिएको छ ।

राधाको चरित्र भागवतमा पाइंदैन । राधा र कृष्णको प्रेमको अभिव्यक्ति पनि ज्यादै सुन्दर छ । कंसको निम्तोमा मथुरा जाने समयमा प्रेमी कृष्णले प्रेमिका राधासँग अन्तिम विदाई लिएका छन् । यस विदाईमा भगवान श्रीकृष्णले आफ्नी प्रेमिका लागि बजाएको मुरली अब अरु कसैका लागि नबज्ने उपहार प्रदान गरेर बिदाई दिन्छन् ।

ब्रज छोडे पछि कृष्ण फेरि कुनै गोपिकासँग भेट गर्न कहिल्यै पनि फर्केनन् । यसबाट कृष्णको प्रेमको पवित्रता स्पष्ट हुन्छ । कृष्णको प्रेम त्यागमा रुपान्तरित हुने प्रेम थियो वासनामा रुपान्तरित हुने प्रेम थिएन । गोपिनीले कुन स्तरको प्रेम गरेका थिए भन्ने उदाहरण मीराको कृष्ण प्रेमले दिन्छ । जसले संसारमा एक कृष्ण बाहेक अरु कसैलाई पनि पुरुष देख्दैनथिन् । नरकासुर नाम गरेको एक पतित र व्याभिचारी राजा थियो । जसले कन्याहरूलाई जबरजस्ती पक्डिएर ल्याउँथ्यो र यौनसम्बन्ध राख्थ्यो । त्यसपछि जेलमा थुनेर राख्थ्यो । यसरी उसले हजारौं कन्याहरूलाई दूषित गरेका थियो । ती कन्याहरूलाई कसैले मुक्त गर्न सकेको थिएन ।

भगवान श्रीकृष्णले नरकासुर वध गरेर सबै कन्याहरूलाई मुक्त गरे अनि सबैका घरघर पठाई दिए । घर गएका कन्याहरू पुनः कृष्णकहां फर्के तथा भन्न थाले कि उनीहरूलाई न त समाजले स्वीकार गर्यो न परिवारले । अरु कसैले विवाह गर्न पनि मानेन । हजारौं नारीहरूको यो क्रन्दन सुनेर कृष्णले तत्काल निर्णय गरे– तिमीहरू आजदेखि कृष्ण पत्नी भयौ । र कृष्ण पत्नी भएपछि तिमीहरूको सम्मानको जिम्मेवारी पनि मेरो भयो । यसरी कृष्ण सोह्र हजार पत्नीका पति हुन पुगे ।

कृष्णमा क्राइस्ट जस्तो सौजन्य, मोहम्मद जस्तो निश्चयात्मिकता र बुद्ध जस्तो तार्किकता एकै ठाउँमा पाइन्छ

राजनीतिक र आर्थिक व्यक्तित्व
कृष्णको राजनीतिक र आर्थिक व्यक्तित्वको चर्चा प्रायः हुंदैन । कृष्ण पशुपालन अर्थव्यवस्थाका पक्षपाती थिए र पशुपालनबाट देशको सम्पन्नता र रोजगारीको सुरक्षा ठान्दथे ।

प्राचीनकालको कृषि अर्थव्यवस्थाका लागि यो एक क्रान्तिकारी प्रयोग हो । त्यस बेला कृषिलाई नै सर्वा्धिक महत्त्व दिइन्थ्यो । राजनीतिक व्यवस्थामा पनि कृष्णले नौलो प्रयोग गरेका थिए । अन्यायी राजाहरूलाई दण्ड दिनु उनको लक्ष्य थियो तर आफुले राज्य विस्तार उनले कहीं पनि गरेको देखिएन ।

अन्यायी शासकको वध गरेपछि त्यहांको जनतालाई न्याय र आफ्नो पुरानै परम्परा सधैं प्राप्त भइरहोस भन्नेमा उनले ध्यान दिएका थिए । यस्तो परम्पराबाट सम्बन्धित देशवासीको मनोबल उच्च रहन्छ र उनीहरूले आफुलाई सधैं स्वतन्त्र ठान्छन् । उनीहरूले अनावश्यक रुपमा कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप गरेको पाईंदैन । श्रीकृष्ण आफुले एक छुट्टै राज्यको स्थापना गरे । त्यसको राजनीतिक प्रणाली त्यसबेला संचालित कुनै पनि प्रणालीभन्दा फरक थियो ।

उनको शासन सामूहिक निर्णय प्रक्रियामा आधारित थियो जसको तात्कालिक निर्णमा दुवै जना दाजु भाई भए पनि त्यसलाई प्राचीन ग्रन्थमा उल्लेख भएको कुनै पनि प्रणाली भन्दा त्यो फरक थियो । प्राचीनकालमा राजतन्त्र, गणतन्त्र, कुलसंघ, द्वैराज्य, वैराज्य, स्त्रीराज्य इत्यादि अनेक प्रणाली थिए । तर कृष्णले एक प्रकारको सामूहिक प्रणाली आरम्भ गरेका थिए । जसको शासन वृष्णिवंशका व्यक्तिहरूले गर्थे, जुन प्रजातान्त्रिक तरीकाले छानिएका हुन्थे । ग्रन्थहरूमा यसलाई वृष्णिवंश शासन प्रणाली भनिएको छ । जसले सामूहिक शासन प्रणाली भन्ने बुझाउँछ ।

नेपालमा कृष्ण भक्ति धारा
नेपालमा वसन्त शर्मा, विद्यारण्य केशरी, विद्यापति मिश्र, इन्दिरस कृष्ण भक्ति धाराका कवि हुन् । बालागुरु षडानन र स्वर्गद्वारी महाप्रभु ले पनि कृष्ण भक्ति सम्प्रदायमा योगदान गरेका छन् ।

स्वर्गद्वारी कृष्णको गोपालन प्रविधिका लागि प्रसिद्ध छ । त्यहांको गोवर्धन पर्वत मेला भारत र नेपालमा प्रसिद्ध छ । यसलाई गोवर्धन अर्थात गाई बढाउने भनिन्छ । कवि गौतमले कृष्ण भक्तिधारा सुरु गरेका थिए त्यो आजसम्म चलिरहेको छ । निम्बार्क, रामानुज, कृष्ण प्रणामी, राधेराधे, इत्यादि स्म्प्रदाय कृष्ण भक्तिधाराका नेपालमा प्रचलित छन् ।

वर्तमान समयमा कृष्ण भक्तिधारा विश्वव्यापी भएको छ । आचार्य खेमराज केशवशरणले कृष्णभक्तिधारालाई लोकप्रिय बनाउन भजन र सत्सँग सञ्चालन गरिरहनु भएको छ । भागवत कथा मार्फत् भजनपूर्ण कृष्ण भक्ति कथा प्रवाहित गर्न पं। नारायण प्रसाद पोखरेलको पनि ठूलो योगदान छ ।

आज नेपालमा भागवत कथा महायज्ञ अन्य कथा महायज्ञभन्दा बढी लोकप्रिय बनेको छ । निम्बार्क सम्प्रदायबाट मोहन शरण देवाचार्यज्यूलाई नेपालका प्रथम जगद्गुरु घोषित गरिएको छ ।

कृष्णको जीवन
भगवान कृष्णको जीवनमा दम्भ, अहंकार, र अनिर्णयताको सानो गन्ध पनि कहीं पाईंदैन । पाण्डवहरू सधै। अनिर्णयताको शिकार हुने हुंदा प्रत्येक चरणमा उनीहरूलाई निर्णायक भइ सहयोग गरेको पाइन्छ ।

अर्जनले लक्ष्यवेध गरेपछि द्रौपदी स्वयंवरमा सारा क्षत्रियगणबाट अर्जुनको सुरक्षा तथा पांच पतिको पत्नीको रुपमा बस्नु पर्ने बाध्यता भए पछि कृष्णले पाण्डव, द्रौपदी र कुन्ती सबैलाई चित्त दिएका थिए ।

कृष्णमा क्राइस्ट जस्तो सौजन्य, मोहम्मद जस्तो निश्चयात्मिकता र बुद्ध जस्तो तार्किकता एकै ठाउँमा पाइन्छ । कुनै कुराको निर्णय गर्नु र गराउनु भनेका जिम्मेवारी लिनु हो । त्यस कर्मको फलको भागी हुनु हो तर कृष्णले कर्म गर्ने तर कर्मफल सँग निःसँग रहने कर्मण्येवाधिकारस्ते‘को नीति प्रत्येक पदमा अवलम्बन गरेका छन् । कृष्णलाई पूरै बुझ्न गीताको प्रत्येक श्लोकको अर्थ बुझे पुग्छ ।

अथवा कृष्णको जीवनको गहिरो अध्ययन गरे पछि गीता स्वतः। नै अवतरित हुन सक्छ । महाभारत युद्धलाई रोक्ने अन्तिमसम्म प्रयास गर्दा पनि जब दुर्योधन र उसका सहयोगीहरूले स्वीकार गरेनन् । श्रीकृष्णले युद्ध गर्नुपर्ने निर्णय पाण्डवहरूलाई सुनाए । युद्धको निर्णय गर्नु भनेको ज्यादै ठूलो निर्णय हो ।

प्रत्येक युद्धले एक युगको समाप्ति र अर्को युगको प्रारम्भ गर्छ । द्वितीय विश्वयुद्धमा अमेरिका सहयोगी हुने निर्णय गर्नु एक युगको प्रारम्भ थियो । युद्ध पछि नया शक्तिहरूको उदय हुन्छ । नया सभ्यता र संस्कृतिको विकास हुन्छ ।

महाभारतमा गीता सुनाएर भगवान श्रीकृष्णले एक नया युगको प्रारम्भ गरेका थिए । युद्ध प्रारम्भमा पाञ्चजन्य शंखको आवाज त्यही नयां युगको शंखध्वनि थियो ।

११ एक महान योद्धामात्र होइनन् शान्तिदूतको रुपमा पनि श्रीकृष्णको भूमिका अनुपम छ । अर्जुन, उद्धव आदि अनेक शिष्यहरूलाई उनले उपदेश दिएका छन् । त्यसैले उनी महान शिक्षक पनि हुन् । भगवान् श्रीकृष्णको बारेमा जति बोले पनि त्यो अपुग हुन्छ । किनभने उनी अनन्त छन् । उनका गुण अनन्त छन् । सन्त पुरुषहरूले भगवान् श्रीकृष्णलाई ज्ञानको अनन्त उचाइ र धर्मशास्त्रकारहरूले पूर्णावतार भन्दछन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु