बिमस्टेक सम्मेलन आज सकिंदै,यस्तो छ आजको कार्यतालिका

काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास बिमस्टेकको चौथो शिखर सम्मेलन काठमाडौंमा जारी छ । सम्मेलनको दोस्रो तथा अन्तिम दिन आज काठमाडौं घोषणापत्र जारी गरी सम्मेलन सकिदै छ । त्यसअघि आज विहान सहभागी सदस्य राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखको सम्मानमा प्रधानमन्त्री केपी शर्मा ओलीले होटल सोल्टीमै ‘रिट्रिट’ दिनेछन् ।

रिट्रिट सकिएपछि बिमस्टेक घोषणा पत्रमा हस्ताक्षर हुनेछ । सम्मेलनको दोस्रो सत्र विहान १०.३० बजे सुरु हुने छ । उर्जा आदान प्रदानका लागि ‘ग्रिड इन्टरकनेक्सन’ समझदारी पत्रमा हस्ताक्षर गर्ने सहमति सचिव र मन्त्रीस्तरीय बैठकमा भइसकेको छ । ट्रान्सपोर्ट कनेक्टिभिटीको गुरुयोजना निर्माण तथा आतंकबाद र अन्य अन्तरदेशीय अपराध नियन्त्रणका विषयमा सम्मेलनमा छलफल हुने र त्यसपछि काठमाडौं घोषणापत्र जारी हुने छ ।

घोषणापत्र जारी भएपछि पाँचौ शिखर सम्मेलन आयोजना गर्ने श्रीलंकाको प्रस्तावबारे श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले मन्तव्य राख्ने र पारित गर्ने कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्री ओलीले समापन मन्तव्य राख्नु हुनेछ । समापन हुनुअघि प्रधानमन्त्री ओलीले बिमस्टेकको अध्यक्षता श्रीलंकाका राष्ट्रपति सिरिसेनालाई हस्तान्तरण गर्नेछन् ।

आज नै नेपाल र श्रीलंकाका राष्ट्रपतिबीच द्विपक्षीय भेटवार्ता हुनेछ । त्यस क्रममा नेपाल र श्रीलंकाबीच एउटा समझदारी पत्रमा हस्ताक्षर हुनेछ । त्यसैगरी नेपाल र भारतका प्रधानमन्त्रीबीच पनि द्विपक्षीय वार्ता हुनेछ । वार्तापछि रक्सौल–काठमाडौं रेलमार्गको इन्जिनियरिङ अध्ययन सम्झौतामा हस्ताक्षर हुने छ । मोदीले भारतीय सहयोगमा पशुपति मन्दिरम निर्माण गरिएको धर्मशाला पनि हस्तान्तरण गर्नेछन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु