यस्तो छ बिमस्टेक सम्मेलनको सुरक्षा तयारी, सुरक्षा नेतृत्व सेनाले गर्ने

काठमाडौँ ।  बिमस्टेक सम्मेलनको सुरक्षा नेतृत्व सेनाले लिने भएको छ । सरकारले सेना, प्रहरी र सशस्त्र प्रहरी सम्मिलित एकीकृत सुरक्षा प्रणाली निर्माण गरी त्यसको नेतृत्व सेनालाई दिएको हो । सम्मेलनमा सहभागी हुन आउने विभिन्न देशका राष्ट्राध्यक्ष, सरकार प्रमुख एवं उच्चपदस्थ सरकारी अधिकारीका निम्ति चार घेरे सुरक्षा प्रबन्ध गरिएको छ ।

पहिलो घेरामा सेना रहनेछ भने त्यसपछि क्रमश: प्रहरी, सशस्त्र प्रहरी र गुप्तचर टोली रहनेछन्। परिस्थितिको विश्लेषण र तुरुन्तै गर्नुपर्ने निर्णयका निम्तिसमेत सेनाले नै कमान्ड सम्हाल्ने छ। यसका साथै तीनै सुरक्षा निकायको केन्द्रीय कार्यालयमा रहेको कमान्ड सेन्टरले समेत सूचना आदानप्रदान, सुरक्षा विश्लेषण र समन्वयको काम गर्नेछन्।

प्रहरी स्रोतका अनुसार सुरक्षा व्यवस्था चुस्त राख्न तीनवटा जामर प्रयोग गरिनेछ। बिमस्टेकमा आएका पाहुना हिँड्ने बाटो, कार्यक्रम तथा भ्रमण स्थलमा प्रयोग गरिने जामरले करिब ५ सय मिटरवरपर मोबाइललगायत अन्य सिग्नल निस्तेज गर्नेछ।

प्रहरीले यसपटक भेहिकल स्क्यानर पनि प्रयोगमा ल्याउनेछ। प्रहरी अधिकारीका अनुसार उच्चपदस्थ केही पाहुनाले लुम्बिनी भ्रमण गर्ने भएकाले एउटा भेहिकल स्क्यानर मेसिन त्यता पठाइनेछ। सवारीहरू भुइँमा ओछ्याइएको स्क्यानर पार भएर जानेछन्।

स्क्यानरले गाडीको तल्लो भागको चित्र र भिडियो खिच्नेछ, जसले सुरक्षा खतराका बारेमा जानकारी मिल्नेछ। प्रहरीले पहिलो पटक २ वटा पोर्टेबल ब्यागेज स्क्यानर पनि प्रयोग गर्न लागेको छ। कार्यक्रमस्थल र आवास स्थलमा लैजाने ब्याग र अन्य लगेजको जाँचका निम्ति यस्तो स्क्यानर प्रयोग गर्न लागिएको हो।

प्रहरीले सुरक्षाका निम्ति किनिएका नयाँ ४ र पुराना २५ गरी २९ वटा वाक थ्रु स्क्यानर प्रयोगमा ल्याउने तयारी गरेको छ। कार्यक्रम र भ्रमण स्थलमा सहभागीहरू अनिवार्य रूपमा वाक थ्रु गेट भएर हिँड्नुपर्नेछ। यस्तो मेसिनले मानिसको साथका केही शंकास्पद डिभाइस भएको खण्डमा सूचना दिनेछ।

प्रहरीले आन्तरिक सञ्चारका निम्ति चारवटा रेडियो रिपिटर सिस्टम पनि प्रयोगमा ल्याउने भएको छ। हालै खरिद गरिएको रेडियो रिपिटर प्रहरीको आन्तरिक सूचना हयाक गरेर कसैले सुन्न नसक्ने अत्याधुनिक प्रविधिको छ।

प्रहरीसँग मौजुद एक सय ५० भन्दा बढी मेटल डिटेक्टर पनि प्रयोग गरिनेछ। कार्यक्रममा सहभागी विदेशी सरकारी अधिकारीबाहेकलाई मेटल डिटेक्टरले जाँच गरिनेछ। प्रहरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गत वैशाखको जनकपुर भ्रमणमा प्रयोग गरेजस्तै र्‍यापिड कम्युनिकेसन सिस्टम पनि प्रयोग गर्नेछ।

सवारीका बेला, कार्यक्रम र भ्रमण स्थलमा रहेका प्रहरीले बोकेका मोबाइलजस्तै उपकरणबाट खिचिएको भिडियो प्रहरी हेडक्वार्टरमा लाइभ हेर्न सकिन्छ। प्रहरीले विस्फोटक पदार्थ रहे/नरहेको पत्ता लगाउन सक्ने विशिष्ट क्षमताका कुकुर पनि परिचालन गर्ने तयारी गरेको छ।

सुरक्षा व्यवस्थाको समन्वय गर्न प्रहरी प्रधान कार्यालयको कार्य विभागअन्तर्गत पूर्वतयारी कमिटी बनाएको छ। महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी मनोज न्यौपानेले सम्पूर्ण सुरक्षा तयारी सकिएको बताए। ‘सवारी मार्ग, कार्यक्रम स्थल, निवास र भ्रमणस्थलको उच्च सुरक्षा व्यवस्था मिलाइएको छ,’ उनले भने।

सोमबार मात्रै प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि कार्यक्रम स्थलसम्मको सवारी व्यवस्थापनको रिहर्सल गरेको थियो। प्रहरी प्रवक्ता शैलेश थापाले उच्च सुरक्षा व्यवस्थापनका निम्ति कुनै कसुर बाँकी नराखिएको बताए।

बिमस्टेकका लागि सुरक्षा उपकरण खरिद

नेपाल प्रहरीले बिमस्टेकका लागि फास्टट्रयाकमा करोडौं रुपैयाँका सुरक्षा उपकरण र गाडी खरिद गरेको छ। प्रहरी अधिकारीका अनुसार करिब २० देखि २५ लाख हाराहारी मूल्य पर्ने चारवटा भेहिकल स्क्यानर, २ वटा पोर्टेबल स्क्यानर, ४ वटा वाक थ्रु गेट, ४ वटा रेडियो रिपिटर सिस्टम, ५० वटा मेटल डिटेक्टर र केही थान गाडी खरिद गरिएको छ। मन्त्रिपरिषद्बाटै निर्णय गराएर फास्टट्रयाकमा यी उपकरण किनिएको प्रहरीले जनाएको छ। एक उच्च प्रहरी अधिकारीका अनुसार अर्थ मन्त्रालयबाट रकम निकासामा ढिलाइ भएपछि प्रहरीले आन्तरिक स्रोतबाट सामान खरिदको व्यवस्थापन मिलाएको हो। अाजको कान्तिपुर दैनिकले खबर छापेको छ ।

यस्तो छ सुरक्षा तयारी :

पहिलो घेरा : नेपाली सेना

दोस्रो घेरा : नेपाल प्रहरी

तेस्रो घेरा : सशस्त्र प्रहरी

चौथो घेरा : राष्ट्रिय अनुसन्धान विभाग

सुरक्षामा प्रयोग हुने प्रविधि

जामर : तीनवटा

गाडी स्क्यानर : ४ वटा

पोर्टेबल ब्यागेज स्क्यानर : २ वटा

वाक थ्रु गेट : २९ वटा

रेडियो रिपिटर सिस्टम : ८ वटा

मेटल डिटेक्टर : करिब डेढ सय

Comments

comments

सम्बन्धित शिर्षकहरु