यसरी हुनेछ बिमस्टेकका पाहुनालाई सुरक्षा व्यवस्था,राष्ट्रपति र प्रधानमन्त्रीको गाडी उपलब्ध गराउने

काठमाडौं । सरकारले बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालका खाडीका राष्ट्रहरूको प्रयास (बिमस्टेक) का बिशिष्ट पाहुनाहरुका लागि राष्ट्रपति बिद्यादेबी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयोग गरिरहेका कार उपलब्ध गराउने भएको छ ।

सवारीसाधन र सुरक्षा व्यवस्थापनको जिम्मेवारी पाएको गृह मन्त्रालयले सरकार मातहत रहेका सवारी साधनहरुको लगत निकालेपछि राष्ट्रपति र प्रधानमन्त्रीले प्रयोग गर्दै आएको सवारीसाधन सम्मेलन अवधिभर विशिष्ट विदेशी पाहुनाका लागि प्रयोग गर्ने भएको हो ।

बिमस्टेकमा आउने सात राष्ट्रका प्रमुख, उनको परिवारका सदस्य, मन्त्री र सचिवसम्मलाई बेग्ला बेग्लै सवारीसाधन उपलब्ध गराइने जनाइएको छ । यसका लागि मन्त्रालयले सेना, प्रहरी र यातायात मन्त्रालयका प्रतिनिधि सम्मिलित बिज्ञ समूहलाई उपलब्ध गाडीको अवस्था अध्ययनको जिम्मेवारी दिएको थियो । उनीहरुको सुझावका आधारमा राष्ट्र प्रमुख, सरकार प्रमुखका कार्यालय, मन्त्रालय, विभाग तथा आयोजना र परियोजनामा रहेका सवारी साधनको लगत निकालेर त्यसको जाँच समेत गरिसकिएको छ ।

मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले बिमस्टेक सम्मेलनलाई आवश्यक पर्ने बुलेटप्रुफ बाहेकका सवारी साधन देशभित्रै खोजी गरेर प्रयोग गरिने बताएका छन् । नेपाल सरकार मातहतमा रहेका सवारीसाधनको अवस्था अनुसार विज्ञ टोलीको सुझावमा प्रयोग हुने जानकारी पनि उनले दिएका छन् । ‘मुलुकले आयोजना गरेको शिखर सम्मेलन भएकाले भएका स्रोत–साधनको अधिकतम उपयोग हुनेछ,’ सहसचिव सुवेदीले भने, ‘बुलेटप्रुफ, मझौला र एम्बुलेन्स भने भाडामा लिएर कारगेट चलाउने तयारी भइरहेको छ ।’

सुरक्षा योजना पारित
बिमस्टेक सुरक्षाका लागि चारै सुरक्षा अंगको सहभागितासहितको प्रारम्भिक सुरक्षा योजना तयार भएको छ । शिखर सम्मेलन सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको सहभागितासहितको सुरक्षा योजना बुधबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले पारित गरेका छन् ।

गृह स्रोतका अनुसार नेपालले आयोजना गरेको सार्क शिखर सम्मेलनको सुरक्षा योजनालाई आधार बनाएर बिमस्टेक सम्मेलनको सुरक्षा योजना बनेको छ । बिमस्टेक सुरक्षाको कमाण्ड गृह मन्त्रालयले सम्हाल्ने गरी सुरक्षाकर्मी परिचालन, सूचना संकलन, आपतकालीन उद्दार र कार्वाहीसम्मको तयारी भएको छ । ‘सुरक्षाको एउटा फ्रेम तयार भइसकेको छ, तर यसमा अवस्था अनुसार फेरबदल पनि हुनसक्छ’, गृह स्रोतले जानकारी दियो ।

बैठक स्थलको अवलोकन
बिमस्टेकको सुरक्षामा खटिने सेना, सशस्त्र, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र स्थानीय प्रशासनसहितको टोलीले बुधबार (६ भदौ) बिहान बैठक आयोजना र कार्यक्रमस्थलको अवलोकन गरेको छ ।

सेनाले महासेनानी, प्रहरीका एसएसपी, सशस्त्रका उपत्यका पृतनाका एसपी, राअबिका अनुसन्धान अधिकारी र प्रमुख जिल्ला अधिकारीसहितको टोलीले गोकर्ण फरेष्ट रिर्सोट, ह्यात रिजेन्सी होटल र होटल सोल्टीको अवलोकन भ्रमण गरेको हो । भ्रमणमा सहभागी एक सदस्यका अनुसार खासगरी बिमस्टेकको बैठक र बिशिष्ठ पाहुना बस्ने होटल सोल्टीको सुरक्षा व्यवस्थाका बिषयमा अवलोकन भएको हो। यस्तै, टोलीले सरकारले विशिष्ठ पाहुनाका लागि गोकर्ण रिसोर्टमा आयोजनागर्ने रिट्रिट स्थलको समेत सुरक्षा अवस्थाका बिषयमा जानकारी लिएको छ ।

बिमस्टेकमा सहभागी हुन सात राष्ट्रका प्रमुख र सरकार प्रमुख परिवारसहित १३ भदौमा नेपाल आउँदैछन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतबाट प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारबाट राष्ट्रपति विन मिन्ट, थाईल्याण्डबाट प्रधानमन्त्री प्रयुत चा ओ चा नेपाल आउने तय भइसकेको छ । यस्तै भुटानबाट प्रधानन्यायाधीश छिरिङ वाङ्चुक, बंगलादेशबाट प्रधानमन्त्री शेख हसिना वाजेद र श्रीलंकाबाट राष्ट्रपति मैथिरीपाला श्रीसेनाले बिमस्टेकमा सहभागिता जनाउने छन् ।

सम्बन्धित शिर्षकहरु