रोनाल्डोले मात्र होइन दर्शकले पनि एक्ल्याए मड्रिडलाई

एजेन्सी । आइतबार राति ला लिगामा रियल मड्रिडकालागि दुई विशेष महत्वपूर्ण घटना घटे। पहिलोले खुशी बनाउँछ भने दोस्रोले निराशा जगाउँछ। पहिलो त उनीहरुले गेटफेविरुद्ध २–० को जित निकाले जुन उनीहरुका लागि महत्वपूर्ण थियो।

दोस्रो चाहिँ दुःखद् घटनाभन्दा फरक पर्दैन किनभने नयाँ सिजनमा पहिलो पटक मड्रिड ला लिगामा मैदान उत्रदै गर्दा घरेलु मैदानमा दशर्कहरुको त्यो जोश र जागर पहिलेजस्तो देखिँदैन थियो। क्रिस्टियानो रोनाल्डोले मड्रिड छाडेपछि दश वर्षमा पहिलो पटक ला लिगामा रियल मड्रिडका खेल समर्थक कम देखिए। जसले विश्व फुटबललाई चकित बनाईदियो। ८१ हजार दर्शक अटाउने क्षमता भएको त्यो रंगशालामा त्यसको आधाजस्तो ४८ हजार ४ सयको उपस्थिति थियो।

सधैँ भरिभराउ हुने सान्टियागो बर्नेबेउ खाली देख्दा स्टेडियम स्वंयम् दुःखी भएको आभास हुन्थ्यो। यसले बारबार के झल्काइ रहेको थियो भने– रोनाल्डो थिएनन्, समर्थक थिएनन्। मड्रिडले डिफेन्डर डेनी कार्भाजाल र स्ट्राइकर ग्यारेथ बेलको गोलले सहज जित त निकालेकै हो। तर, पनि थोरै दर्शकले बर्नेबेउलाई जितको खुशी नदिलाएको महशुश भएको देखिन्थ्यो।

यसअघि क्रिस्टियानो रोनाल्डो मड्रिड प्रवेश नभएको ताका २००८–२००९ को सिजनमा मड्रिडको घरेलु मैदानमा यस्तै दृश्य देखिएको थियो। जसलाई इ–एल क्लासिको ६–२ हारको परिणामको रुपमा हेरिएको थियो। तर जब रोनाल्डो सन् २००९ मा मड्रिड प्रवेश गरे त्यसपछि दर्शक सँधै भरिभराउ। समर्थकको कुनै कमी थिएन। आइतबार नयाँ सिजनको पहिलो ला लिगामा मड्रिडमा भरिभराउ दर्शक नहुनु रोनाल्डो बहिर्गमनको नकरात्मक असरको रुपमा हेरिएको छ।

रोनाल्डो मड्रिडका ऐतिहासिक खेलाडी हुन् । पाँच पटकका बालुन डि ओर अवार्ड विजेता रोनाल्डोले ४ बालुन डि ओर मड्रिडबाटै जितेभने उनी मड्रिडका सर्वाधिक गोलकर्ता हुन् । जसले ९ सिजन खेलेर ४ सय ५० गोल गरे, ४ च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेले। तर, किर्तिमानी खेलाडीलाई मड्रिडले बचाउन नसक्नु एक दुर्भाग्यको रुपमा हेर्न थालिएको छ।

रोनाल्डोको स्थान प्रतिस्थापन गर्न मड्रिडले आसेन्सियोलाई त्यस स्थानबाट खेलाएपनि रोनाल्डोको स्थान पूर्तिगर्न कसैले नसक्ने खेल विश्लेषक तथा खेल समर्थक दुवैको तर्क रहेको छ।
मड्रिड गेटाफेविरुद्धको जितसँगै ला लिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। समान ३–३ अंक भएका सेभिया, बार्सिलोना, लेभान्टे तथा रियल मड्रिड गोल अन्तरका आधारमा क्रमश पहिलो, दोस्रो, तेस्रो र चौथौं स्थानमा छन्।

Comments

comments

सम्बन्धित शिर्षकहरु