छोरीलाई जन्मनै निषेध-लैङ्गिक असन्तुलनको खतरा

काठमाडौं । नेपालमा पुरुषभन्दा महिलाको संख्या करिब ८ लाख बढी छ । तर, छोरी जन्मने क्रम हरेक वर्ष घट्दै छ । छोरीको जन्मदर अहिलेकै अनुुपातमा घट्दै जाने हो भने केही वर्षभित्रै देशमा लैंगिक असन्तुलन आउनेछ । विज्ञहरूका अनुसार शुरुमा छोरा जन्मिए अर्को सन्तान नजन्माउने, पहिलो छोरी जन्मिए दोस्रो सन्तान पाउँदा लिंग पहिचान गरेर गर्भपतन गराउने, छोराको चाहना बढी हुनेलगायत कारणले छोरीको जन्मदर घट्दै गएको हो ।

केन्द्रीय तथ्यांक विभागको प्रक्षेपणअनुसार (०६८ को राष्ट्रिय जनगणना) एक सय २१ छोरा जन्मिँदा सय मात्र छोरी जन्मिन्छन् । सबैभन्दा धेरै प्रसूति सेवा दिने थापाथलीस्थित प्रसूतिगृहको तथ्यांकमा पनि ५४ प्रतिशत छोरा र ४६ प्रतिशत मात्रै छोरी जन्मिएका छन् ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको परिवार स्वास्थ्य महाशाखाको तथ्यांकनुसार आर्थिक वर्ष ०७३/७४ मा देशभर एक लाख ७७ हजार २ सय ५३ छोरा जन्मिए । सोही वर्ष जन्मिने छोरीको संख्या भने एक लाख ६६ हजार ३ सय २४ मात्र थियो ।

तथ्यांक विभागका सूचना अधिकारी प्रमोदराज रेग्मीका अनुसार नेपालमा छोरीको जन्मदर भारतमा भन्दा धेरै कम हुँदै छ । नेपालमा जतिसुकै पढेलेखे पनि, क्रान्तिकारी भए पनि छोरै होस् भन्ने चाहना राख्छन् । कुल जन्मदरमा छोराको संख्या धेरै छ र त्यो किन भइरहेको छ भन्नेबारे विस्तृत अध्ययन जरुरी छ ।

अघिल्लो आर्थिक वर्षमा तीन लाख २३ हजार महिलाले सरकारी तथा निजी स्वास्थ्य संस्थाबाट गर्भपतन गराएका छन् । तीमध्ये ५८ प्रतिशत महिलाले असुरक्षित गर्भपतन गराएको स्वास्थ्य मन्त्रालयको परिवार स्वास्थ्य महाशाखाको भनाइ छ ।, नयाँ पत्रिकामा खबर छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु