प्रहरीको इन्काउन्टरमा उब्जियो शंका, यस्ता छन् कारण

काठमाडौं । राजधानीमा ११ वर्षीय बालक निसान खडकालाई अपहरण र हत्या गर्ने दुई युवक प्रहरीसँगको मुठभेडमै मारिएका हुन् या होइनन् भन्नेमा शंका उब्जिएको छ । पेप्सीकोला टाउनबाट आइतबार अपहरणमा परेका निसानको हत्या भएको पुष्टि सोमबार भएको थियो ।

त्यसलगत्तै अपहरण र हत्यामा संलग्न भनिएका गोपाल तामाङ र अजय तामाङ प्रहरीसँगको मुठभेडमा मारिएको दाबी गर्दै महानगरीय प्रहरी अपराध महाशाखाले विज्ञप्ति जारी गरेको थियो । सूर्यविनायक नगरपालिका–८ पाइलट बाबा आश्रम जाने जंगलमा अपहरणकारीले प्रहरी टोलीमाथि गोली प्रहार गर्न लाग्दा आत्मरक्षाका लागि चलाएको गोली लागी उनीहरूको मृत्यु भएको महाशाखाको दाबी छ ।

अपहरणकारीलाई नियन्त्रणमा लिन नसकी गोली नै चलाउनुपर्ने अवस्था कसरी आयो भन्ने प्रश्न अनुत्तरित छ । नगदेशस्थित डेराबाट उनीहरू कसरी त्यहाँसम्म पुगे भन्ने प्रश्नको पनि प्रहरीले उत्तर दिएको छैन ।

१. अपहरणकारीलाई नियन्त्रणमा लिन नसकी गोली नै हान्नुपर्ने अवस्था कसरी आयो ?

२. नगदेशस्थित डेराबाट अपहरणकारी कसरी पाइलट बाबा आश्रम जाने जंगलसम्म पुगे ?

३. प्रहरीले १९ राउन्ड फायर गर्दा अपहरणकारीका तर्फबाट एक गोली पनि फायर भएन ?

४. अपहरणकारीलाई पक्राउ र कुटपिट गरेपछि प्रहरीले कहाँ लिएर गयो ?

५. कति दूरीबाट गोली हानियो र शरीरको कुन–कुन भागमा लाग्यो ?

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार मारिएका अपहरणकारीलाई प्रहरीको ७ गोली लागेको छ । प्रहरीले १९ राउन्ड फायर गरेको थियो भने अपहरणकारीका तर्फबाट कुनै फायर भएको छैन । ठूलो संख्यामा परिचालित प्रहरीले त्यति धेरै गोली फायर गर्नुपर्ने अवस्था आउनुलाई एक पूर्वउच्च प्रहरी अधिकारीले शंकास्पद मानेका छन् । अपहरणकारीको मृत्युको घटनामा स्वाभाविक नलाग्ने केही तथ्य बाहिर आएको ती अधिकारीले बताए ।

महाशाखाले भने उनीहरूले प्रहरी टोलीमाथि नै जाइलागेको दाबी गरेको छ । अपहरणकारीले बन्दुक ताकेको तर ट्रिगरमा समस्या देखा परेको अनुसन्धानमा खटिएका एक प्रहरीले दाबी गरे । महानगरीय अपराध महाशाखाका एक पूर्वअनुसन्धान अधिकारी दुई व्यक्तिलाई समात्न प्रहरीले अरू धेरै उपाय लगाउन सक्ने बताउँछन् ।

महाशाखाले दाबी गरेजस्तै अपहरणकारीहरू जंगलतर्फ भाग्दै गरेको अवस्थामा मुठभेड नभएको संकेत नगदेशका प्रत्यक्षदर्शी स्थानीयको भनाइले पनि दिन्छ । मंगलबार सम्पर्कमा आएका घटनास्थल क्षेत्रका केही बासिन्दाले महाशाखाको टोलीले दुई अपहरणकारीलाई समातेको र कुटपिट गरेको बताए ।

प्रहरीले त्यसपछि ती दुई जनालाई कहाँ लिएर गयो भन्नेबारे केही बताएको छैन । प्रहरीले अपहरणकारी बस्ने घरधनीसँग पनि कुराकानी गरेको देखिन्छ । नगदेशकै एक स्थानीयले प्रहरीले अपहरणकारीबाटै सूचना लिएर बालकको शव फेला पारेको दाबी गरे ।

अपहरणका क्रममा गोपाल तामाङले बोक्ने फोन प्रयोग भएको थियो । गोपालको पुरानो सिमको सीडीआर हेर्दा उनले पछिल्लो एक महिनामा सबभन्दा धेरै ३३ पटक एउटै नम्बरमा फोन गरेको देखिन्छ । अर्को एउटा नम्बरमा भने उनले यही अवधिमा १६ पटक फोन गरेका थिए । अपहरणकारी बारम्बार सम्पर्कमा रहेका विभिन्न नम्बरबाटै महाशाखाले उनीहरू बस्ने डेरा पत्ता लगाएको थियो । बिहान ८ नबज्दै सीडीआर पाएको महाशाखालाई अपहरणकारीको डेरामा पहिल्याउन एक घण्टा जति लागेको थियो । अाजको कान्तिपुर दैनिकले खबर छापेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु