जथाभावी तार टाँग्ने इन्टरनेट कम्पनीका कर्मचारी प्रहरी नियन्त्रणमा

काठमाडाैँ । आफ्नो तार जडान गरेर अरुको तार काटिदिएको, जथाभावी तार टाँगेर सहरलाई कुरुप र जोखिमपूर्ण बनाएको जनाउँदै महानगरको वडा नं १६ ले ३ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीका कर्मचारीलाई बुधबार प्रहरीमा बुझाएको छ।

बालाजु वाइपास क्षेत्रमा तारको काम गरिरहेको बेला प्रहरीले ३ जना कर्मचारी र २ सवारी प्रहरीले नियन्त्रण लिएको थियो। यसरी नियन्त्रणमा लिइएकामा वर्ल्ड लिङ्क, भायोनेट र नेट म्याक्सका कर्मचारी थिए। उनीहरु हिजो २ बजे पक्राउ परेका थिए। उनीहरुलाई आज विहीबार ११ बजे हाजिर हुने शर्तमा बुधबारै साँझ ५ बजे छोडिएका थिए।

विहीबार विहान ११ बजे इन्टरनेट सर्भिस प्रोभाइडर एशोसिएसन अफ नेपालका कोअर्डिनेटर विनोद जोशीको नेतृत्वमा कम्पनीका प्रतिनिधि वडा कार्यालय पुगेर वडाध्यक्षसँग आफ्ना समस्या बुझिदिन आग्रह गरेका थिए। यस क्रममा जोशीको भनाइ थियो, ‘उचित व्यवस्था गर्न हामी पनि प्रतिबद्ध छौँ। तर के गर्ने भन्ने उपाय नहुँदा हामीपनि अलमलमा छौँ। यस्तो अवस्था छ भनेर सेवा रोक्नु पनि भएन त्यसैले के गर्ने बाटो देखाइदिनु पर्‍यो।’

आफूकहाँ आएका इन्टरनेट सेवा प्रदायकको कुरा सुनेपछि वडाध्यक्ष मुकुन्द रिजालले भने, ‘पोलमा जेलिएका तार सहरबासीका लागि धराप भएका छन्। तारले बनाएको पासोमा कहिले को पर्छ र कस्तो खालको जोखिम बेहोर्छ भन्ने अनुमान गर्न कठिन छ।’

उनले सहरी सुरक्षाका लागि राखेको सिसिटिभि क्यामराको तार इन्टरनेट सेवा प्रदायक कम्पनीका कारण छुटेको बताउँदै यसको जिम्मेवारी लिनु पर्छ कि पर्दैन? भन्ने प्रश्न गरेका थिए। उनको भनाई थियो, ‘एउटै खम्बामा धेरै तार जेलिँदा, आगलागीका घटना बारम्बार दोहोरिएका छन्। यो अवस्थाबाट सहरी अवस्थालाई मुक्त गर्न इन्टरनेट सेवा प्रदायक जिम्मेबार हुनुपर्छ।’

तारका कारण आगलागी भएको भन्ने वडाध्यक्षको भनाईको इन्टरनेट सेवा प्रदायक कम्पनीका अधिकारीहरुले प्रतिरक्षा गरेका थिए। उनीहरुको भनाई थियो, ‘हामीले दिने सेवाका लागि टाँगिएका तारमा करेन्ट हुँदैन। त्यसैले इन्टरनेटका तारबाट आगलागीको सम्भावना छैन।’

छलफलमा सहरी जोखिम व्यवस्थापनमा दुवै पक्ष जिम्मेवार हुनुपर्ने कुरा मुख्य विषय बनाइएको थियो। यस क्रममा अहिले परेको समस्या समाधानका लागि सरोवारवालाबीचको छलफल तत्काल डाक्ने सहमति भएको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु