अविरल वर्षाका कारण भक्तपुरका विभिन्न बस्ती डुबानमा(फोटोफिचर)

काठमाडौं ।  लगातार परेको अविरल वर्षाका कारण भक्तपुरका विभिन्न बस्ती डुबानमा परेका छन् । भक्तपुर र मध्यपुरथिमि नगरपालिका क्षेत्रका विभिन्न भाग डुबानमा परेका हुन् ।

मध्यपुर थिमिका कमेरोटार, राधेराधे, निकोसेरा, दुवाकोट मोड, सिर्जननगर र सल्लाघारी क्षेत्रका सयौँ घर डुबानमा परेको छ । त्यसैगरी भक्तपुरका जगाते, हनुमानघाट, बाराही क्षेत्र आसपासका घर, डुबानमा परेका छन् ।

हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको छ भने भूकम्पपीडितको शिविर डुबानमा परेको छ । यता मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती पूरै डुबानमा परेका छन् । मध्यरातिदेखि सयौँ घर डुबानमा परेपछि यहाँका बासिन्दा घरबाट बाहिर निस्कन पाएका छैनन् ।

राधेराधे र त्यस क्षेत्रका बस्तीका साथै भाटभोटेनी सुपर मार्केटदेखि स्यामसुङ कम्पनीसम्म पूरै डुबानमा छन् । राधेराधे अगाडिदेखि सानोठिमी जाने निकोसेरासम्म नै डुबानमा परेपछि घरबाट निस्कने अवस्था नभएको स्थानीयवासी पुरुषोत्तम कार्कीले जानकारी दिनुभयो ।

जमीनबाट चारफिट माथिसम्म पानी जमेपछि घरभित्र पानी पसेको छ । प्रत्येक घरको भुइँतलामा पानी पसेपछि भूइँतलामा बस्नेको बिजोग भएको छ । यहाँका पसल र व्यवसाय सबै बन्द भएका छन् । यहाँको डुबानले कति क्षति भयो भन्ने यकिन नभएको प्रहरीको भनाइ छ । मध्यपुरथिमिमा अरनिको राजमार्ग खण्डका दुवै क्षेत्र डुबानमा परेका छन् । चारदोबाटोबाट बालकोट जाने बस्ती र गठ्ठाघरको तल्लो भेग आसपासका घर पनि डुबानमा परेका छन् ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु