मेडिकल कलेज व्यापारीलाई दिएर चुरोट कारखाना चलाउँदै सरकार

काठमाडौं । सरकारी स्वामित्वमा रहेका १७ मध्ये आठ उद्योग पूर्ण रूपमा बन्द छन् भने धेरैजसो उद्योग आंशिक सञ्चालनमा छन् । हेटौँडा कपडा उद्योग, नेपाल ओरिन्ड म्याग्नेसाइट प्रालि, मोरङ सुगर मिल्स, सेती चुरोट कारखाना, जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग, नेपाल मेटल कम्पनी र बुटवल धागो कारखाना पूर्ण रूपमा बन्द छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

त्यस्तै, दुग्ध विकास संस्थान, हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्ट मात्रै सन्तोषजनक अवस्थामा चलेका छन् भने जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी, नेपाल औषधि लिमिटेड, विराटनगर जुट मिल्स, नेपाल चिया विकास निगम, नेपाल ढलौट उद्योग लिमिटेड र रघुपति जुट मिल्स आंशिक सञ्चालनमा छन् ।

-जनस्वास्थ्य र मेडिकल शिक्षा अनियन्त्रित रूपमा निजी क्षेत्रलाई नछाड्न माग गर्दै त्रिविका प्रा.डा. गोविन्द केसीले १५औँ अनशन सुरु गरेको ११ दिन बितिसक्यो । जुम्ला पुगेर अनशन बस्दासमेत लखेटिएका डा. केसीलाई संसद्मा उभिएर गृहमन्त्रीले अधिनायकवादीसमेत भनिसकेका छन् । प्रधानमन्त्री र शिक्षामन्त्रीले केसीको माग सम्बोधन गर्नै नसकिने र निजी मेडिकल कलेजलाई सम्बन्धन दिएरै छाड्ने अठोट दोहोर्‍याइरहेका छन् ।

यहीबीचमा शनिबार जनकपुर पुगेका उद्योगमन्त्री मातृकाप्रसाद यादवले चुरोट कारखाना पुनः सञ्चालन गर्न निर्देशन नै दिइसकेका छन् । मन्त्री यादवको निर्देशनअनुसार कारखाना सञ्चालन गर्न सरसफाइसमेत सुरु भइसकेको छ । यसरी जनस्वास्थ्यको जिम्मा निजी क्षेत्रलाई दिएर चुरोट कारखाना प्रवद्र्धन गर्ने उद्यममा लागेको छ समाजवादउन्मुख देशको वामपन्थी सरकार ।

-जनकपुर चुरोट कारखाना बन्द भएको एक मात्र सरकारी उद्योग होइन । सरकारी स्वामित्वमा रहेको औषधि लिमिटेड दयनीय अवस्थामा छ भने हेटौँडा कपडा उद्योग, गोरखकाली रबर उद्योग, वीरगन्ज चिनी कारखाना, बुटवल धागो कारखाना, नेपाल मेटल कम्पनी, नेपाल ओरिन्ड म्याग्नेसाइट उद्योग, कृषि औजार कारखाना, सेती चुरोट कारखाना, मोरङ सुगर मिल्स, जस्ता तथा सिसा खानी बन्द अवस्थामा छन् ।

सरकारबाट उपेक्षित औषधि लिमिटेडले कुशल निर्माण विधि (जिएमपी) प्रमाणपत्रसमेत पाउन सकेको छैन । जिएमपी पाएको उद्योगका औषधि मात्र बजारमा बिक्री–वितरणका लागि योग्य हुन्छन् । तर, सरकारी लगानीको उद्योगले विनाप्रमाणपत्र सिटामोल र जीवनजल उत्पादन गरिरहेको छ । यो उद्योगलाई गतिशील र प्रतिस्पर्धी बनाउने योजना उद्योगमन्त्रीसँग छैन ।

-०२९ मा स्थापना भएको नेपाल औषधि लिमिटेडले कुनै समय एक सय २० थरीका औषधि उत्पादन गथ्र्यो । जिएमपी प्रमाणपत्र पाउन नसकेपछि ०६६ मा बन्द भएको उद्योग आठ वर्षपछि तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीको सक्रियतामा वैशाख ०७४ देखि पुनः सञ्चालनमा आएको हो । पुनः सञ्चालनमा आएपछि उद्योगले ६ महिनाभित्र १४ थरीका औषधि उत्पादन गर्ने र अर्को १ वर्षभित्र ४२ थरीका औषधि उत्पादन गर्ने लक्ष्य लिएको थियो ।

तर, न अहिलेसम्म जिएमपीका लागि सार्थक प्रयास भएको छ न क्षमता विस्तार गर्न पर्याप्त बजेट छुट्याइएको छ । वर्षौँदेखि बन्द रहँदा यस्ता उद्योगको भौतिक संरचना र मेसिन जीर्ण बन्दै गएका छन् भने उद्योगको दायित्व थपिँदै गएर जग्गा बेचेर तिर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु