नारायणगढ-मुग्लिन सडक खुल्यो

 

काठमाडाैँ । पहिरो खसेका कारण बिहान ५ बजेदेखि बन्द नारायणगढ-मुग्लिन सडक खुलेको छ। चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार स्काभेटरले पहिरो पन्छाएपछि केही बेरअघिदेखि दुवैतर्फ यातायात सञ्चालनमा आएको हो।

भरतपुर महानगरपालिका-२९, घुमाउनेमा बिहान ५ बजे ठूलो पहिरो खसेको थियो। त्यसैगरी टोपे खोला र जलवीरेमा पनि स-साना पहिरो खसेका थिए। पहिरोका कारण सवारीसाधन रोकिँदा हजारौँ यात्रु अलपत्र परेका थिए।

पहिरो पन्छाएर सडक खुलाएपछि अहिले सवारीसाधन तथा यात्रु आ-आफ्नो गन्तव्यतर्फ लागेका छन्।

गए राति १२ बजे पनि यो सडक खण्डमा पर्ने गाईघाटमा पहिरो गएको थियो। दुई घण्टा लगाएर उक्त पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालनमा ल्याइएको थियो। सवारी साधन सञ्चालनमा आएको तीन घन्टा नबित्दै फेरि अर्को पहिरो गएको हो।

विगत दुई दिनदेखि लगातार पानी परिरहेकाले नारायणगढ-मुग्लिन सडक खण्डमा पहिरोको जोखिम बढेको छ। सडकका जुनसुकै ठाउँमा पहिरो खस्न सक्ने भन्दै प्रहरीले उच्च सतर्कता अपनाउन यात्रु र चालकलाई आग्रह गरेको छ।

वर्षात् सुरु भएसँगै नारायणगढ-मुग्लिन सडक खण्डमा पहिरो खस्ने क्रम बढेको छ। राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य सडक सधैँजसो अवरुद्ध हुँदा यात्रुले सास्ती पाउँदै आएका छन्।
सडक विस्तार गरेर स्तरोन्नति गरिए पनि यो सडक खण्डमा पहिरो जानेक्रम भने रोकिएको छैन।

पहाड काटेर सडक विस्तार गरिएकाले पहिरोजानेक्रम बढेको नारायणगढ-मुग्लिन सडक आयोजनाले जनाएको छ। यो सडक भएर दैनिक १० हजार भन्दा धेरै गाडी गुड्ने गरेका छन्।

Comments

comments

सम्बन्धित शिर्षकहरु