यसकारण कार्यकक्षमै थुनिए क्याम्पस प्रमुख

मोरङ ।  तीन विद्यार्थी संगठनले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका क्याम्पस प्रमुखलगायत पाँच जनालाई आइतबार सात घण्टा कार्यकक्षमै थुनेका छन् । क्याम्पस प्रमुख बाबुराम तिम्सिना, सहायक प्रमुख सुशील अधिकारी, ताराप्रसाद यादव, मोहनकुमार श्रेष्ठ र सामान्य प्रशासन प्रमुख गुदरप्रसाद यादवलाई थुनेका हुन् । १९ बुँदे सहमतिपछि उनीहरूलाई मुक्त गरेका थिए ।

अखिल, अखिल क्रान्तिकारी र नयाँ शक्ति विद्यार्थी संगठनले क्याम्पस प्रमुख तिम्सिनाको कार्यकक्षमा तालबन्दी गरी अपरान्ह १२ बजेदेखि साँझ ७ बजेसम्म थुनेका थिए । पाँच घण्टा थुनिएपछि क्याम्पस प्रमुख तिम्सिना वार्ता गर्न तयार भएको नयाँ शक्ति विद्यार्थी संगठनका क्याम्पस इकाइ इन्चार्ज कमल पोख्रेलले बताए ।

‘क्याम्पस प्रमुखकै कार्यकक्षमा बसेर १९ बुँदे सहमति गरेपछि मुक्त गर्‍यौं,’ उनले भने, ‘क्याम्पस प्रशासनले गरेको एमपीएसको शुल्क वृद्धि फिर्ता र विद्यार्थीबाट असुलेको बढी शुल्क आउँदो सेमेस्टरमा समायोजन गर्नेलगायत १९ बुँदे सहमति भएको छ ।’

क्याम्पस प्रशासनले एमपीएसको शुल्क १९ हजार ९ सयबाट वृद्धि गरेर २२ हजार ६ सय पुर्‍याएको थियो । क्याम्पसमा हाजिर गरेर काम नगरी बस्ने कर्मचारी र प्राध्यापकको दरबन्दी खारेज, बीबीए विभाग प्रमुखको नियुक्तिमा निष्पक्षता, क्याम्पसको आयव्यय सार्वजनिक, नियमित पठनपाठनको व्यवस्था गरेर क्याम्पसको शैक्षिक गुणस्तर कायम गर्नेलगायत सहमति भएको उनले बताए ।

अखिलका क्याम्पस इकाइ अध्यक्ष नवीन पहाडीले तीन विद्यार्थी संगठनले बिहीबार ८ बुँदे माग राखी क्याम्पस प्रमुखको कार्यकक्षमा गरेको तालाबन्दी समस्याको सुनवाइ नै नगरी तोडेको विरोधमा कार्यकक्षमै ताला लगाएर थुनेको बताए । कान्तिपुर दैनिकबाट 

Comments

comments

सम्बन्धित शिर्षकहरु