प्राण गए पनि प्रण तोड्दिनँ : डा. केसी

काठमाडौं । अनशनरत डा गोविन्द केसीले प्राण गए पनि चिकित्सा शिक्षा सुधारका लागि लिएको प्रण नतोड्ने बताएका छन् । जुम्लामा शुक्रबार पत्रकार सम्मेलन गर्दै डा केसीले पुरानै सम्झौताअनुसार आएको अध्यादेश हुबहु कार्यान्वयन नगरेसम्म अनशन बसिरहने बताएका हुन् ।

सरकारले अध्यादेश तोडमोड गरेर प्रतिस्थापन विधेयक ल्याउन लागेपछि केसी विरोधमा अनशन बसेका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

‘१५औँ अनशनसम्म आइपुग्दा समेत पुरानै मागलाई बंगाएर सरकारले माफियामुखी विधेयक ल्याउन खोज्छ भने मेरो सत्याग्रह जारी रहन्छ, कदापि देशमा लुटतन्त्र मौलाउन दिन्नँ, बरु मेरो प्राण जाओस्, देश र जनताका लागि गरेको प्रण कुनै पनि हालतमा तोड्दिनँ,’ केसीले भने । उनले माग पूरा नभएसम्म जुम्लाबाट काठमाडौं नफर्किने पनि बताए । आफूलाई काठमाडौं फर्काएर अनशन तुहाउने षड्यन्त्र रचिएको पनि आरोप लगाए ।

केसीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन कक्षमा उपचार भइरहेको छ । अनशनको पाँचौँदिन अत्याधिक छाती दुखेपछि नेपाल चिकित्सक संघले प्रहरीको घेरा तोड्दै उनलाई अस्पताल पु-याएको थियो ।

बिहीबार सरकारले काठमाडौंबाट पठाएका दुईजना डाक्टरबाट सेवा लिन मानेनन् । प्रहरी प्रशासनले आफूलाई मार्न कबर्ड हलमा राखेको आरोप लगाएका केसीले उपचारमा कर्णालीकै डाक्टर विज्ञ रहेको बताए ।

डा केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको उपचारमा संग्लन डाक्टर प्रवीण गिरीले बताए । ‘शरीरमा चिनीको मात्रा घटेको छ, रोगसँग लड्ने क्षमता पनि क्रमश घट्दै छ, पिसाब भएको छैन । सातौँ दिनसम्म खाना र पानी नखाएकाले कमजोर बन्दै जानुभएको छ,’ डा गिरीले भने । केसीलाई स्लाइन र अक्सिजन मात्रै दिइएको उनले बताए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु