के हो विपश्यना ध्यान,कसरी फैलियो विश्वभर ? यस्तो छ लाभदायी रहस्य

गौतम बुद्धले ४५ वर्षसम्म यो विद्यालाई जनजनमा बाँडेर गए । उनको महापरिनिर्वाणको करिब ५०० वर्षपछि यो विद्यामा शुद्धता कायम रहन नसकीे लुप्त हुने स्थिति पैदा भयो तर बर्मामा मात्र केही आचार्यहरुको एक समूहले गुरु–शिष्यको परम्परा बसालेर यसको शुद्ध रुपलाई बचाई राखे । फलतः बर्माका आचार्य सयाजी ऊ बा खिन्का शिष्य भारतका स्व. सत्यनारायण गोयन्काले पुनः भारत ल्याए र नेपाल लगायत विश्वका थुप्रै मुलुकमा फैलाए ।

कल्याणमित्र गुरु गोयन्काले सन् १९८१ मा पहिलोपटक यो ध्यान काठमाडौंस्थित आनन्दकुटी विहारमा २५० साधकलाई सिकाए र केही वर्षसम्म यसलाई निरन्तरता दिए। तिनै साधकहरुको सत्प्रयासले प्रत्येक वर्ष यो शिविरले निरन्तरता पाउँदै आएको विपश्यना केन्द्रसँग सम्बद्ध आचार्यहरु बताउँछन् ।

के हो विपश्यना

जुन जस्तो छ त्यसलाई साक्षी भाव, तटस्थ भावले हेर्ने विधि (वि भनेको विशेष तवरले र पश्यना भनेको दृष्टिगोचर गर्ने) हो । शील र समाधिमा प्रतिष्ठित भई भावनामयी प्रज्ञा जगाउने पवित्र अभ्यास हो विपश्यना । शिविरमा विपश्यना ध्यान गर्न चाहने साधकले सर्वप्रथम झुटो नबोल्ने, प्राणी हिंसा नगर्ने, चोरी नगर्ने, ब्रम्हचर्या पालन गर्ने र नशालु पदार्थ सेवन नगर्नेजस्ता पञ्चशील पालन गरेर शिविरको पहिलो साढे तीन दिन श्वासप्रश्वासमा ध्यान केद्रित गर्ने अभ्यास गर्नुपर्छ, जसलाई आनापाना सति भनिन्छ ।

बाँकी साढे छ दिन विपश्यना अभ्यासका रुपमा अन्तर्मनको गहिराइमा गढेर बसेको विकारलाई निर्मूल बनाउने गरिन्छ । यसक्रममा साधकले आफूभित्र प्रज्ञा जगाएर सबै कायिक तथा चेतसिक स्कन्धको छेदन गर्न सक्छन् । दश दिनको शिविरमा नौ दिनसम्म पूर्णरुपमा मौन व्रत बसेर दशौँ दिन मात्र बोल्न पाउँछन् ।

साधनामा अघि बढेका साधकले विशिष्ट शिविरका साथै २०, ३०, ४५ र ६० दिने शिविरमा बस्न पाउँछन् ।

नेपाललगायत विश्वमा कुनै पनि देशमा सञ्चालित यस्ता शिविरमा कुनै पनि शुल्क लिइँदैन । केवल साधकले स्वेच्छाले दिएका दानबाट मात्रै शिविर सञ्चालन गर्ने व्यवस्था मिलाइएको हुन्छ । विपश्यना सबै प्रकारका दुःखबाट मुक्ति दिलाउने बाटो हो । ध्यानको अभ्यास बढ्दै जाँदा चित्त निर्मल र विकाररहित बन्छ र राग, द्वेष र मोह घट्छ । यो ध्यानले कुनै पनि धर्मको वकालत नगर्ने भएकाले हरेक धर्म, वर्ग र सम्प्रदायका व्यक्तिले यसको अभ्यास गर्न सक्छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु