नेपालमा लगानी बढाउने उद्देश्यको साथ यसरी सकियो नेपाल-अष्ट्रेलिया बिजनेस फोरम

अष्ट्रेलिया । अष्ट्रेलियाको मेलबर्नमा नेपाल अष्ट्रेलिया बिजनेस फोरम-२०१८ सम्पन्न भएको छ । अष्ट्रेलियास्थित नेपाली दूतावास र भिक्टोरियाको अवैतनिक महावाणिज्यदूतको कार्यालयले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका थिए । शनिबार सम्पन्न उक्त कार्यक्रमको मूख्य उद्देश्य नेपालमा लगानी भित्र्याएर देशको आर्थिक समृद्धिमा टेवा पुर्याउनु रहेको थियो ।

उक्त विजनेस फोरममा प्रमुख अतिथि नेपालको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र भिक्टोरियाका अर्थमन्त्री रविन स्कट रहनुभएको थियो भने अतिथिको रुपमा एनआरएन अध्यक्ष भवन भट्ट, अष्ट्रेलियाको विदेशी मामिला हेर्ने विभाग डिफ्याटको नेपाल, भुटान र बंगलादेश डेस्क प्रमुख फियोना म्याकग्री, एनआरएन पूर्वअध्यक्ष शेष घले, एनआरएन ओसेनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारी, एनआरएन अष्ट्रेलियाका अध्यक्ष टोनु घोतानेसहित नेपाली समूदायमा रहेका विभिन्न संघ संस्थाका नेतृत्ववर्ग सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रम उद्घघाटन सत्र र विभिन्न प्रस्तुतिहरुसहित छलफल आयोजना गरि दुई चरणमा भएको थियो । कार्यक्रममा अतिथीहरुले अष्ट्रेलियामा नेपालीहरुको संख्या बढिरहेको र नेपाल-अष्ट्रेलिया बिचको सम्बन्ध नजिक हुँदै गइरहेको सम्बन्धमा यस्ता कार्यक्रमहरु सान्दर्भिक र प्रभावकारी हुने बताउनुभयो ।

कार्यक्रममा नेपाल र अष्ट्रेलिया बीचको व्यापार, लगानीकर्ताहरुलाई आइपर्न सक्ने समस्याहरु र समाधानका तरिका, पर्यटन क्षेत्रमा वैदेशिक लगानी, कर सम्बन्धि नियम, नेपालमा हालको वातावरण आदि विषयमा छलफल गरिएको थियो भने नेपालको लगानी बोर्डका अधिकारी रतिस बस्नेतले नेपालमा वैदेशिक रोजगारीको सम्पूर्ण जानकारी दिनुभएको थियो ।

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले अहिले नेपालमा लगानीको लागि राम्रो वातावरण बनिरहेको बताउँदै व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आह्वान गर्नुभयो ।

एनआरएनका पूर्वअध्यक्ष शेष घलेले अष्ट्रेलियामा नेपालीहरुले देखेको र अभ्यास गरिरहेका शिप, ज्ञान नेपालमा आवश्यक रहेको धारणा राख्नुभएको थियो भने भिक्टोरियाका लागि नेपाली अवैतनिक महावािणज्यदूत चन्द्र योन्जनले दूतावास र महावाणिज्यदूतको कार्यालयहरु नेपालमा लगानी गर्न चाहने अष्ट्रेलियनहरुलाई समन्व्य गर्न सदा तत्पर रहेको बताउनुभएको थियो । एनआरएनका अध्यक्ष भवन भट्टले विजनेस फोरमको आयोजनाले नेपाल र अष्ट्रेलियाबीच व्यापार अभिबृद्धिको लागि शुभकामना व्यक्त गर्नुभयो।

Comments

comments

सम्बन्धित शिर्षकहरु