डा. केसीको गिरफ्तारीबारे यसो भन्छ नेपाल चिकित्सक संघ

काठमाडौं । प्रा.डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको घटनाको नेपाल चिकित्सक संघले विरोध गरेको छ । संघले शनिबार एक विज्ञप्ति जारी गर्दै सरकारले नागरिकको मौलिक हकको उल्लंघन गरिरहेको प्रतिक्रिया दिएको छ ।

‘नेपालको चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाका अभियन्ता एवं यस संघका आजीवन सदस्य प्रा. डा. गोविन्द के.सी.ज्यूलाई जुम्लामा सामान्य स्वास्थ्य परीक्षणका लागि बन्देज गराईको घटनाका सम्बन्धमा नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ,’ संघका महासचिव डा. लोचन कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नेपालको संविधानले स्वास्थ्य क्षेत्रलाई मौलिक अधिकारको रुपमा स्वीकार गरी प्रत्येक नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिनेछ भन्ने प्रावधान विपरीत चिकित्सा शिक्षा र गुणस्तरी स्वास्थ्य सेवाका अभियन्ता डा. के.सी.लाई पूर्वाग्रह राखी साधारण स्वास्थ्य परीक्षणबाट नै बन्देज गराउनुले सामान्य नागरिकको आधारभूत मानव अधिकारको हनन भएको नेपाल चिकित्सक संघले ठहर गरेको छ ।

‘यस्तो अस्वाभाविक क्रियाकलाप अभिलम्ब रोकी सम्पूर्ण नागरिकहरुलाई बिना कुनै रोकतोक आफ्नो कुराहरु निष्पक्ष रुपमा राख्न पाउने र जुनसुकै स्वास्थ्य संस्थामा सहज र सरल रुपमा स्वास्थ्य सेवा लिन पाउने अधिकारबाट बञ्चित गराइएको खण्डमा नेपाल चिकित्सक संघ आफ्नो सदस्यहरुको रक्षाका लागि जुनसुकै कदम चाल्न पछि नपर्ने व्यहोरा समेत यसै विज्ञप्तीमार्फत् जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ । संघले सम्पूर्ण शाखाहरुलाई विगतमा जस्तै डा. गोविन्द के.सी.ज्यूले उठाका जायज मागहरुलाई पूर्णरुपमा सहयोग र समर्थन गर्दै निर्णायक तहमा पुर्‍याउन समेत सबैमा हार्दिक अपिल गरेको छ ।

संघले आइतबार पनि एक विज्ञप्ति जारी गरेको छ ।

यस्तो छ आइतबार जारी गरेको नेपाल चिकित्सक संघको विज्ञप्ति-

मितिः २०७५/३/१७

प्रेस विज्ञप्ती

नेपालको चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितताका लागि नेपाल चिकित्सक संघ र यसका आजीवन सदस्य प्रा. डा. गोविन्द के.सी. बीच सरकारले पटक–पटक गरेको सम्झौताको उपलब्धी स्वरुप माथेमा आयोगले सिफारिस गरे बमोजिम विगतको सरकारले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश जारी गरेको थियो । त्यसरी जारी गरिएको अध्यादेशको मूल मर्म र आशयलाई परिवर्तन गर्दै वर्तमान सरकारले नयाँ विधेयक दर्ता गर्ने तयारी गरेपछि प्रा. डा. गोविन्द के.सी.ले १५ औं सत्याग्रहको शुरुवात जुम्लामा गर्नु भएको छ ।

गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका लागि आफ्नो ज्यानको बाजी लगाउँदै नेपाली जनताको पक्षमा उभिनु भएका अभियान्तालाई लोकतान्त्रिक गणतन्त्र नेपालको सरकारले पक्राउ गर्ने, धरपकट गर्ने जस्तो लज्जास्पद र अत्यन्तै अमानवीय क्रियाकलापप्रति नेपाल चिकित्सक संघ घोर भत्र्सना र निन्दा गर्दछ । नेपाल सरकारले नेपाल चिकित्सक संघ र डा. के.सी.सँग विगतमा गरेका सम्झौताहरुको अक्षरक्ष पालना गर्दै लोकतान्त्रिक मूल्य र मान्यता अनुरुप नेपाली जनतालाई गुणस्तरीय चिकित्साशिक्षा र स्वास्थ्यसेवामा सहज पहुँच पुर्‍याउने प्रमुख दायित्वबाट बञ्चित हुँदै विद्यमान परिस्थितिको सिर्जना गरिएकोमा यस संघको गम्भिर ध्यानाकर्षण भएको छ । नेपालको संविधानले व्यवस्था गरे बमोजिमको व्यवस्थालाई कार्यान्वयन गर्नका लागि शान्तिपूर्ण सत्याग्रहको सुरुवात गर्दा डा. के.सी.लाई गैरमानवीय र अलोकतान्त्रिक ढंगबाट हिरासतमा लिने हरकद नेपाल चिकित्सक संघलाई कुनै पनि हालतमा मान्य हुने छैन । यसले आगामी दिनमा उत्पन्न गर्न सक्ने कुनैपनि परिस्थितिप्रति नेपाल सरकार जिम्मेवार हुनेछ ।

लोकतान्त्रिक व्यवस्था र आचरणका लागि नेपालका चिकित्सकहरुले निर्वाह गरेको २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनको अग्रणी भूमिकालाई समेत धक्का पुग्ने गरी कुनै पनि व्यक्तिको बैयक्तिक अभिव्यक्तिलाई रोक्न खोज्ने निरंकुशतावादी सोच गणतान्त्रिक राज्यका लागि सोभनिय हुँदैन । त्यसैले यस्ता असान्दर्भिक र गैरमानवीय हरकदलाई अभिलम्ब रोकी संविधानले प्रदत्त गरे बमोजिमका मौलिक अधिकार निर्वाध रुपमा पालना गर्न गराउन नेपाल सरकार समक्ष यस संघ जोडदार माग गर्दछ । साथै संघका सम्पूर्ण शाखाहरुलाई विगतमा जस्तै डा. गोविन्द के.सी.ज्यूले उठाउनु भएका जायज मागहरुलाई पूर्ण रुपमा सहयोग र समर्थन गर्दै उहाँले संचालन गर्नु भएको सत्याग्रहलाई निर्णायक तहमा पु¥याउन समेत सबैमा हार्दिक अपिल गर्दछ ।

डा. लोचन कार्की
महासचिव

Comments

comments

सम्बन्धित शिर्षकहरु