अमेरिकी दैनिक पत्रिकाको कार्यालयमा बन्दुक आक्रमण, चार पत्रकारको मृत्यु

एजेन्सी । अमेरिकाको म्यारिल्याण्ड राज्यमा रहेको एउटा दैनिक पत्रिकाको कार्यालयमा शुक्रबार बिहान भएको गोली प्रहारमा परी कम्तीमा पनि पाँच जनाको ज्यान गएको छ। अरु केही घाइते भएका छन्। मेरिल्याण्डको प्रहरीले एउटा दैनिक पत्रिकाको कार्यालयमा भएको बन्दुक आक्रमणमा ती मानिस मारिएको जनाएको छ।

मेरिल्याण्डको आनापोलिस भन्ने नगरमा रहेको क्यापिटल गजेट दैनिक पत्रिकामा सो आक्रमण भएको थियो । संदिग्ध हमलाकारीलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बताइएको छ। हमलामा एकजना करिब ३० वर्षकोजस्तो देखिने श्वेत पुरुषको संलग्नता रहेको प्रारम्भिक अनुमान प्रहरीको छ। नियन्त्रणमा रहेको सो पुरुषले प्रहरीलाई सोधपुछको क्रममा असहयोग गरेको र आफ्नो पहिचान पनि नदिएको एक समाचारमा बताइएको छ।

सो पत्रिकाको कार्यालयमा भएको आक्रमण पहिलेदेखि नै योजना बनाएको एक नियोजित कार्य हो भनिएको छ। क्यापिटल गजेट पत्रिकाका एकजना सम्वाददाताले आक्रमणकारीले लुकेर शिशाको ढोकाबाट गोली चलाएको भनेका छन्। उक्त पत्रिकाका अरु प्रत्यक्षदर्शी कर्मचारीहरुले गोली वर्षाएपछि कार्यालय भित्र आतङ्क मच्चिएको बताएका छन्। उनीहरुले बन्धुकधारीले शिशाको ढोकाको बाहिरबाट समाचार कक्षमा ताकेरै गोली चलाएको जानकारी दिएका छन्।

उक्त नगरका प्रहरी प्रमुख बिल क्रम्फले जनाएअनुसार पत्रिकाको कार्यालयमा नियोजित रुपमा यस्तो गोली काण्ड गराइएको बताएका छन्। उनले भनेका छन्–यसमा संलग्नताको आशङ्कामा एकजनालाई नियन्त्रणमा लिइएको छ र अनुसन्धान सुरु भएको छ। मारिनेमा चार जना पत्रकार र एकजना बजार शाखाका सहायक स्तरका कर्मचारी रहेका पनि प्रहरी प्रमुख क्रम्फले जानकारी दिए। उनले त्यहाँ रहेका अधिकांश कर्मचारीहरुलाई भने सकुशल उद्वार गरेर बाहिर निकालिएको बताएका छन्। ती गोली हान्ने व्यक्तिको पहिचान खुलाउन र के कति कारणले गोली हानेको हो भन्ने बारेमा पत्ता लगाउन प्रहरीले अनुसन्धान थालेको पनि बताएका छन्।

केही सञ्चारमाध्यमले सो घटना उक्त पत्रिकाको आन्तरिक विवादका कारण उत्पन्न भएको अनुमान गरेका छन् भने अरु केहीले भने यसलाई आतङ्ककारी क्रियाकलाप पनि हुनसक्ने भनेका छन्। क्यापिटल गजेट भवनभित्र रहेका कर्मचारीहरूले भने उक्त पत्रिकामा हिंसात्मक आक्रमण गर्ने धम्की समाजिक सञ्जालमार्फत केही समयअघि आएको थियो भनेका छन् । तर कसले र किन यो धम्की दिएको हो भन्ने बारेमा भने उनीहरुले केही बताएका छैनन्।

Comments

comments

सम्बन्धित शिर्षकहरु