नवप्रवेशी टोली आइसल्याण्डसँग अर्जेन्टिना अंक बाँड्न बाध्य,मेस्सी पेनाल्टीमा चुके

एजेन्सी । रसियामा जारी विश्वकप फुटबल अन्तर्गत समूह डि मा रहेको अर्जेन्टिनाले आइसल्याण्डसँग १–१ गोलको बराबरी खेलेको छ । विश्वकपको नवप्रवेशी टोली आइसल्याण्डसँग एक एक गोलको बराबरीमा रोकिएपछि अर्जेन्टिना अंक बाँड्न बाध्य भएको हो । १९ औ मिनेटमा गोल गर्दै अग्रता लिएपनि अर्जेन्टिनाले त्यसलाई जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउन बाध्य भयो । त्यसको ४ मिनेटपछि आइसल्याण्डले बराबरी गोल फर्काएको थियो ।

आइसल्याण्डका जोहानवर्गको क्रसमा अल्फ्रेड फिनबोगासेनले गोल फर्काएका हुन् । अर्जेन्टिनाका लागि सर्जियो अगुइरोले गोल गरेका थिए । कप्तान लियोनेल मेस्सी पेनाल्टीमा गोल गर्न नसकेपछि अर्जेन्टिनाले खेल जित्ने सुन्दर मौका चुकाएको हो ।

६३ औ मिनेटमा होर्डर म्याग्नसनले अर्जेन्टिनाका मिलानोलाई डिबक्समा लडाएपछि अर्जेण्टिनाले पाएको पेनाल्टी कप्तान मेस्सीले हानेका थिए । उनको फितलो प्रहार आइसल्याण्डका गोलकिपर ह्यानेस थर हल्डर्सनले सजिलै बचाएका थिए । त्यसपछि मेस्सी र अर्जेण्टिनाका अरु खेलाडीले गोल गर्ने धेरै प्रयास गरेपनि सफल हुन सकेनन् । यसअघि सन् २०१६ मा कोपा अमेरिका कप फुटबलको फाइनलमा चिली विरुद्ध पेनाल्टी सुटआउटमा अर्जेन्टिना पराजित हुँदा मेस्सीले पेनाल्टी मिस गरेका थिए ।

फाइनलमा चिलीसँग हार्नु र पेनाल्टीमा चुक्दा कप्तान मेस्सीले अन्तर्राष्ट्रिय फुटबल करिअरबाट सन्यासको घोषणा गरेका थिए । तर अर्जेन्टिनाका राष्ट्रपतिदेखि सबैको दबाबमा मेस्सीले सन्यास फिर्ता लिएका थिए ।
मेस्सीलाई विश्वकप फुटबलको उपाधि दिलाउने यो अन्तिम मौका हो । यसअघि सन् २०१४ को विश्वकपमा मेस्सी आफ्नो देशलाई विश्वकप फुटबलको उपाधि दिलाउन असफल रहेका थिए । सन् २०१४ को विश्वकपमा अर्जेन्टिना जर्मनीसँग १–० गोलअन्तरले पराजित हुँदै उपविजेता बनेको थियो ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु