बेइजिङ उड्न यसपटक पनि ओलीले किन रोजे हिमालय एयरलाइन्स नै ?

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले असार ५ देखि गर्ने जनवादी गणतन्त्र चीनकाे भ्रमणमा राष्ट्रिय ध्वजाबहाक नेपाल एयरलाइन्सकाे जहाज प्रयाेग नगर्ने भएका छन्। तिब्बत एयरलाइन्स र आङ छिरिङ शेर्पा संयुक्त लगानीकाे हिमालय एयरलाइन्सबाट प्रधानमन्त्री अाेली चीन जाने निश्चित भएकाे हाे।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बिहीबार परराष्ट्र मन्त्रालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै भने, ‘भारत जाँदा हामीले नेपाल एयरलाइन्स प्रयोग गरेका थियौं, अब चीन जाँदा हिमालय एयरलाइन्स प्रयोग हुन्छ।’ नेपाली निजी लगानीकर्तालाई प्रवर्द्धन गर्दा अन्यथा लिनु नहुने उनकाे भनाइ थियाे। हिमालयकाे जहाज पैसा तिरेर प्रधानमन्त्रीले चीन भ्रमणमा प्रयाेग गर्ने उनले जानकारी दिए।

अाेलीले सन् २०१६ मा चीनकाे भ्रमण गर्दा पनि राष्ट्रिय ध्वजाबहाक नेपाल एयरलाइन्स प्रयाेग गरेका थिएनन्। त्यतिबेला पनि उनी हिमालयकै जहाजबाट चीन गएका थिए। एक सय ५८ सिट क्षमताको एयरबस ए३२० विमान प्रधानमन्त्री सहितको ५६ सदस्यीय टोली लिएर ७ चैत २०७२ को साँझ बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लंदा चीनले ठूलो सम्मान दिएको थियो ओलीलाई। बेइजिङबाट पश्चिम चीनको चेङ्दु हुँदै प्रधानमन्त्रीलाई घुमाएर सात दिनपछि हिमालय एयरलाइन्स काठमाडौं फर्केको थियो।

त्यही भ्रमणको क्रममा चीनसँग व्यापार तथा पारबहन सम्झौता गरी नेपालमा भारतीय एकाधिकारको अन्त्य गर्न सकिने सन्देश दिए ओलीले। र, त्यही ‘राष्ट्रवादी छवि’ को बलमा चुनाव जितेर अहिले संसदमा दुई तिहाई बहुमतको सरकारको नेतृत्व गरिरहेका छन्।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बिहिबार सिंहदरबारस्थित आफ्नो कार्यालयमा सञ्चारकर्मीबीच प्रधानमन्त्री ओली राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको विमान लिएर भारत भ्रमणमा गएको र नीजि क्षेत्रलाई पनि प्रवद्र्धन गर्ने उद्देश्यले हिमालय एयरलाइन्समा बेइजिङ उड्ने बताए।

हिमालय एयरलाइन्स चीन सरकारको कम्पनी तिब्बत एयरलाइन्सको साझेदारी रहेको नेपालको नीजि कम्पनी हो। तिब्बत एयरलाइन्स एयर चाइनाको भगिनी कम्पनी हो, जसको हिमालय एयरलाइन्समा ४९ प्रतिशत सेयर रहेको छ। ५१ प्रतिशत सेयर यति वल्र्ड इन्भेष्टमेन्टका आङछिरिङ शेर्पाको रहेको छ, जो ओली निकट पर्यटन व्यवसायी हुन्।

काठमाडौंमा शेर्पाले सञ्चालन गरेको गोकर्ण फरेष्ट रिसोर्टमा यसअघि एमालेको जमघट हुँदै आएको थियो भने एमाले र माओवादी एकतापछि नेकपाको बैठक पनि त्यहीँ बसेको थियो।

चीनका सरकारी र नीजि कम्पनीहरूले विश्वभर विभिन्न किसिमका सझेदारीमा व्यवसाय सञ्चालन गरिरहेका छन्। हिमालय एयरलाइन्समा नेपालसँग गरिएको साझेदारी एयरलाइन्स क्षेत्रमा चीनको पहिलो अन्तर्राष्ट्रिय साझेदारी हो, जसलाई काठमाडौंस्थित चिनियाँ कुटनीतिक अधिकारीले पनि सफल उदाहरणका रुपमा प्रस्तुत गर्दै आएका छन्।

Comments

comments

सम्बन्धित शिर्षकहरु