विश्व फुटबलको महाकुम्भ आजदेखि

एजेन्सी । आज रातिदेखि विश्व फुटबलको कुम्भमेला ‘२०१८ फिफा विश्वकप फुटबल प्रतियोगिता’ सुरु हुँदैछ। रसियाको मस्कोस्थित लुज्निकी रंगशालामा २१औं संस्करणको विश्वकप फुटबल प्रतियोगिताको विधिवत उद्घाटन हुनेछ।
३२ राष्ट्र सहभागी महाकुम्भको भव्य उद्घाटन मस्कोस्थित लुजनिकी रंगशालामा आयोजक रुस र साउदी अरेबियाको भिडन्तबाट हुँदै छ । मस्को र अन्य १० सहरमा विश्वकपका खेल हुनेछन् । मस्कोमा दुई रंगशाला लुजनिकी र स्पार्टक छन् भने अन्य १० सहरमा १–१ रंगशाला छन् । विश्वकप खेलिरहेका राष्ट्रको सूचीमा रुस र साउदी अरेबिया तल्लो वरीयतामा रहेकाले यसलाई विश्वकप उद्घाटन इतिहासकै कमजोर खेलका रूपमा हेरिएको छ ।

ब्राजिल, फ्रान्स, जर्मनी र स्पेन प्रबल दाबेदारका रूपमा रहेका छन् । अर्जेन्टिना, इंग्ल्यान्ड, बेल्जियम, पोर्चुगल त्यसपछिका सूचीमा देखिएका छन् । आयोजक रुसलाई समूह चरण पार गर्नै निकै ठूलो चुनौती छ ।

२१ औं संस्करणको विश्वकप इतिहासकै सबैभन्दा महँगो फुटबल प्रतियोगिता पनि हो । प्रतियोगिता आयोजनामा रुसले १२ देखि १४ अर्ब खर्च गर्ने जनाएको थियो । विश्वकपमा सहभागी हुने टिमले कम्तीमा ८० लाख डलर पाउने छन् ।

प्रि–क्वाटर फाइनल पुग्ने राष्ट्रले १ करोड २० लाख डलर, क्वाटर फाइनल पुग्नेले १ करोड ६० लाख डलर, चौथो हुनेले २ करोड २० लाख डलर, तेस्रो हुनेले २ करोड ४० लाख डलर, उपविजेताले २ करोड ८० लाख र विजेताले ३ करोड ८० लाख डलर पाउने छन् । यस पटकको विशेषता विश्वकपमा पहिलो पटक भारको प्रयोग गरिँदै छ । भार अर्थात् भिडियो असिस्टेन्ट रेफ्री । रेफ्रीसहित मैदानमा रहेका निर्णायहरूले नदेखेका कुरा रेफ्रीमार्फत भारको प्रयोग गरेर गलत र सही छुट्याइने छ ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु