‘माओवादीलाई मैले धोका दिएँ कि प्रचण्डले ?’

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफ्ना पूर्वसहकर्मी प्रचण्डलाई ह्यामलिनको पाइप पाइपरसँग तुलना गरेका छन् । नयाँ शक्ति स्थापनाको तेस्रो वार्षिकोत्सवमा बुधबार काठमाडौंमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले ‘सिंगो माओवादी पार्टीलाई प्रचण्डले कसरी एमालेको विचारविहिन समुद्रभित्र होमिदिए’ भनेर रोचक ढंगले व्याख्या गरे । ‘माओवादी आन्दोलनलाई मैले धोका दिएँ कि प्रचण्डले ?,’ भट्टराईले प्रश्न गर्दै भने, ‘मैले माओवादीले एउटा अभिभारा पूरा गर्यो, अब नेपाली समाजको नयाँ आवश्यकता पूरा गर्न रुपान्तरण हुनुपर्छ भनेँ । प्रचण्डजीले ह्यामलिनको पाइपपाइपरले जस्तै सिंगो माओवादीलाई एमालेमा लगेर मिसाइदिनुभयो ।’

मुसाले असाध्यै दुःख दिएपछि प्राचीन शहर ह्यामलिनमा एक पाइपपाइपर सुमधुर संगीतबाट लट्ठ बनाएर शहरका सबै मुसालाई समुद्रमा डुबाइदिएको प्रसंगलाई भट्टराईले प्रचण्डसँग तुलना गरे ।

उनले आफू माओवादीबाट एक्लै निस्किएको प्रसंग उल्लेख गर्दै भने, ‘म माओवादीबाट एक्लै निस्किएँ र बाहिरबाट आह्वान गरेँ । प्रचण्डजीले त बहुत मिठो धुन बजाउँदै सिंगो पार्टीलाई नै एमाले नामको विचारविहिन समुद्रभित्र लगेर डुबाइदिनुभयो ।’

केपी–पिके सुन्निएको गठबन्धन
सम्बोधनको क्रममा भट्टराईले नेकपा (नेकपा)लाई सुन्निएर मोटाएको शक्तिको रुपमा चित्रित गरे । ‘कुनै बेला पञ्चायतलाई पनि कहिल्यै नढल्ने व्यवस्थाको रुपमा चित्रित गरिन्थ्यो,’ उनले भने, ‘अहिले सुन्निएर मोटाको विचारविहिन नेकपा ब्राकेटलाई पनि यसरी नै प्रचार गरिँदैछ, तर यो डाइनोसार जसरी नै लोप हुन्छ ।’

उनले मदन भण्डारीको निधनपछि एमाले विचारविहिन भएको आरोप लगाए । ‘मदन भण्डारीको निधनपछि एमाले विचारविहिन बनेको छ,’ उनले भने, ‘बाहिर कम्युनिष्टको खोल ओढे पनि भित्र अवसरवाद र चरम भ्रष्टाचारमा लिप्त भएको छ ।’

बिपी कोइरालाको निधनपछि नेपाली कांग्रेस पनि विचारविहिन बनेर अँध्यारोमा छामछुम गर्दै अलमलिइरहेको उनको तर्क थियो । नयाँ शक्तिले परम्परागत पुँजीवाद र राज्य समाजवादबाट माथि उठेको समुन्नत समाजवादको बाटो विचार अगाडि सारेको भट्टराईले दावी गरे ।

उनले वैकल्पिक शक्ति भन्ने पार्टीहरुलाई पनि एउटै वैकल्पिक केन्द्रमा गोलबद्ध हुन आह्वान गरे । विश्वभरी दक्षिणपन्थी र प्रतिगामी वैकल्पिक शक्तिको पनि लहर चलिरहेको भन्दै उनले नयाँ शक्तिलाई आधुनिक युग सुहाउँदो प्रगतिशील वैकल्पिक शक्तिको रुपमा चित्रित गरे ।

नयाँ शक्तिले रुपान्तरणकारी ध्रुवको राजनीति गरिरहेको भन्दै सत्ता स्वार्थमा आधारित अवसरवादी ध्रुवबाट मुलुकले निकास नपाउने भट्टराईको तर्क थियो । ‘हामीले वैचारिक राजनीतिक ढंगले मुलुकको नेतृत्व गरिसकेका छौं,’ उनले भने, ‘अब यो राजनीतिक शक्तिलाई संगठनात्मक शक्तिमा रुपान्तरण गर्दै जनताबीच झांगिएर मुलुकको नेतृत्व गर्छौं ।’

‘पुराना शक्तिका लागि समृद्धि बाँदरले दारी काटेजस्तो’
सम्बोधनको क्रममा संयोजक भट्टराईले पुरानो शक्तिले समृद्धिको दावी गर्नुलाई बाँदरले दारी काटेको कथासँग तुलना गरे । ‘एकपटक बाँदरले मान्छेले दारी काटिरहेको देखेछ, उसले पनि मान्छेको नक्कल गर्दै दारी काट्न खोज्दा नाकै काटेछ,’ उनले भने, ‘पुराना शक्तिका लागि हामीले भनेको समृद्धि बाँदरले दारी काटेजस्तै भइरहेको छ ।’

उनले नेपालमा जातीय, वर्गीय, क्षेत्रीय र लिंगीय असमानतालाई सम्बोधन गर्ने समावेशी समृद्धिको विकल्प नभएको विचार व्यक्त गरे ।

२०७३ जेठ ३० गते दशरथ रंगशालाबाट स्थापना भएको नयाँ शक्ति पार्टीले आज तेस्रो वार्षिकोत्सव मनाएको हो । आजै उक्त पार्टी निकट युवा संगठन राष्ट्रिय युवा अभियानको विशेष सम्‍मेलन पनि आयोजना गरिएको छ । बानेश्वरबाट र्‍याली गर्दै सुरु भएको कार्यक्रम बबरमहल स्थित कार्की पार्टी प्यालेसमा जारी छ

Comments

comments

सम्बन्धित शिर्षकहरु