ट्रम्प-किम शिखर वार्ता : सम्बन्ध सुध्रिने संकेत

एजेन्सी । सिंगापुरमा जारी अमेरिका र उत्तर कोरियाका प्रमुख नेताहरुबीचको ऐतिहासिक भेटलाई लिएर अहिले विश्वभरको ध्यान आकर्षण भएको छ । मंगलबार सिंगापुरको सेनटोसा टापूमा भएको भेटघाटमा दुवैले हात मिलाएर एकैसाथ पत्रकारहरुलाई मुस्कान दिएका थिए । सेन्टोसा टापूका होटलहरुमा अथवा विश्वमै पहिलो पटक ती दुई देशा झण्डाहरु लहराइरहेका थिए । बैठक स्थलको यस्तो पृष्ठभूमिमा दुवै नेताहरुले शिखर वार्ता फलदायी हुने अपेक्षा व्यक्त गरेका थिए ।

पहिलोपटक यी दुई विपरित धुब्रहरु आमनेसामने भएपछि उत्तरका नेता किमले आफ्नो पहिलो वाक्य बोले, ‘तपाईसँग भेटेर खुशी लाग्यो राष्ट्रपति’ । त्यसको प्रतिक्रियामा अमेरिकी राष्ट्रपति ट्रम्पले पनि नेता किमको ढाडमा थप्थप्याएर उनको नाडी सुमसुम्याउँदै भने, ‘यो मेरो लागि गर्वको कुरा हो । मलाई शंका छैन हाम्रो सम्बन्ध एकदमै राम्रो हुनेछ ।’

भाषा अनुवादकको साथमा दुई नेताबीच भएको वान टु वान वार्तामा ट्रम्प निकै उत्साहित थिए । उनले किमसँग भने,‘म एकदमै खुशी महसुस गरिरहेको छु । मलाई लाग्छ यो सम्मेलन सफल हुनेछ ।’ त्यसको प्रतिक्रियामा किमले भने, ‘यहाँसम्म आउन सजिलो थिएन । विगतले हाम्रो बाटोमा धेरै अवरोधहरु खडा गर्‍यो तर त्यसलाई जितेर आज हामी यहाँसम्म आयौं ।’

सुरुवातमा एकअर्काप्रति एकदमै सतर्क देखिने दुई नेता विस्तारै एकअर्काप्रति आश्वस्त देखिन्थे । दुई नेताबीच करिब ४१ मिनेटसम्म वान टु वान वार्ता भएको थियो । ट्रम्पले दुई देशबीच राम्रो सम्बन्ध हुने बताएका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु