कांग्रेसभित्रको विवाद झनै उग्ररुपमा,देउवाविरुद्ध पौडेल समूहको भेला

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसभित्रको विवादले झनै उग्ररुप लिँदै गएको छ । सभापति शेरबहादुर देउवाले निरंकुशता लादेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूह आक्रामक रुपमा प्रस्तुत भएको हो । यद्यपि, पौडेल समूहभित्रै पनि विभिन्न उपगुटहरू छन् । ती उपगुटहरूसँग मिलेर पौडेलले गुटको भेला गर्दै आएका छन् । पौडेल समूहभित्रै महामन्त्री डा.शशांक कोइराला, कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहले उपगुटहरू चलाइ रहेका छन् ।

सभापति देउवाविरुद्ध पौडेल, सिंह र सिटौला समूहले सोमबार काठमाडौंमा मोर्चाबन्दी गरेका छन् । नेविसंघ काठमाडौंको नाममा पौडेल–सिंह–सिटौला समूहले कार्यक्रम गरेका छन् । कार्यक्रममा महामन्त्री डा.शशांक कोइराला भने देखिएनन् । कार्यक्रममा देउवालाई पौडेल–सिटौला समूहले निरंकुश सभापतिको आरोप लगाउँदै सरापेका छन् ।

वरिष्ठ नेता पौडेलले कांग्रेसभित्रै अधिनायकवादी प्रवेश गरेको आरोप लगाए । ‘अब एकजुट हुनुको विकल्प छैन’, पौडेलले भने, ‘कांग्रेसलाई कुनैपनि किसिमको अधिनायकवाद सैह्य हुँदैन ।’ नेता पौडेलले भने, ‘युवा विद्यार्थीलाई अधिनायकवादको म डटेर सामना गर्न आग्रह गर्छु ।’

नेता प्रकाशमान सिंहले सभापति देउवाले पार्टीभित्रै कमीकमजोरी भए भनेर नेताहरूले बोल्न खोज्दा समेत प्रतिवन्ध लगाउन खोजेको आरोप लगाए । ‘पार्टीमा हामीले कमजोरी भयो भन्न पनि नपाउने ?’, सिंहले भने, ‘कांग्रेस आफूलाई लोकतान्त्रिक पार्टी भन्छ । पार्टीभित्रै भएका कमजोरी औंल्याउन पनि दिइँदैन ’

नेता कृष्णप्रसाद सिटौलाले विगतका कमिकमजोरी सच्याउँदै मिलेर जान आफू तयार रहेको बताए । ‘कांग्रेससामु ठूला–ठूला चुनौती छन्’, उनले भने, ‘अब मिल्नुको विकल्प छैन ।’ सिटौलाले वरिष्ठ नेता पौडेलसँगै आफू मिलेर जान तयार रहेको बताए ।

नेता अर्जुननरसिंह केसीले एकताबद्ध भएर अघि बढेमात्रै कांग्रेसले आफ्नो पहिचान जोगाउन सक्ने बताए ।

युवा नेता गगन थापाले कांग्रेसका लागि अहिलेको समय ऐतिहासिक भएको बताए । उनले जिल्ला सभापतिको भेला तथा महासमिति समितिको बैठक बोलाएर विशेष निर्णय गरेर अगाडि बढ्नुपर्ने बताए ।
-दैनिक नेपाल

Comments

comments

सम्बन्धित शिर्षकहरु