राजाले गद्दी छोडेको दश वर्ष पूरा, देश झन् ओरालोतिर

काठमाडौँ ।  पूर्वराजा ज्ञानेन्द्रले नारायणहिटी राजदरबार छाड्नुभएको आज ठीक एक दशक पुगेको छ। उहाँले २०६५ जेठ २९ गते बेलुकी ५ बजे २ सय ४० वर्ष लामो शाहकालको अन्त्य गर्दै देशी–विदेशी सर्यां पत्रकारका बीच नारायणहिटीबाट सरकारले उपलब्ध गराएको नागार्जुन दरबार सर्नुभएको थियो।

मुलुकको बृहत्तर हित र शान्तिका लागि योगदान पुगोस् भनेर राजगद्दी त्यागेको दाबी गर्दै पूर्वराजा ज्ञानेन्द्रले भन्नुभएको थियो– ‘हामी नेपालीका महान् पूर्वजहरूको रगत, पसिना र बलिदानले बनेको स्वतन्त्र र सार्वभौम रहँदै आएको यो नेपाल राष्ट्रको स्वतन्त्रता र अखण्डताका निम्ति म जुनसुकै अवस्थामा र हैसियतमा रहे पनि सदा समर्पित रहने प्रण गर्दछु।’

२०६५ साल जेठ १५ गते सम्पन्न पहिलो संविधानसभाको बैठकले नेपाललाई गणतन्त्र घोषणा गर्दै तत्कालीन राजा ज्ञानेन्द्रलाई नारायणहिटी दरबार छाड्न १५ दिनको म्याद दिएपछि १४औं दिन (जेठ २९ गते) उहाँले नारायणहिटी दरबार छाड्नुपरेको थियो।

विकासका बाधक मानिएको राजसंस्थाले गद्दी त्यागेको १० वर्ष बितिसक्दासमेत देशमा अपेक्षाकृत विकास हुन नसकेको भन्दै त्यस बेला राजसंस्था हटाउन महत्त्वपूर्ण योगदान दिएका नागरिक समाजका अगुवाहरूले समेत असन्तुष्टि पोख्न थालेका छन्।

त्यस बेला नागरिक समाजबाट सडकमा ओर्लिनुभएका डा. सुन्दरमणि दीक्षित भन्नुहुन्छ– ‘राजा हटाएपछि हामीले राजनीतिक स्वतन्त्रताबाहेक अरू उपलब्धि हासिल गर्न सकेका छैनौं। सुशासनको अनुभूति गर्न पाइएको छैन।’

‘गणतन्त्र त आयो तर जनताले सुखसँग बाँच्ने दिन आएन। महँगी उस्तै छ, बेथिति झन् बढेर गइरहेका छन्। त्यस बेला जस्तो परिस्थिति थियो, अहिले पनि त्यस्तै छ’, उहाँले थप्नुभयो– ‘राजतन्त्र हटाउँदा दलहरूले ‘अब जनताले सुखको स्वास फेर्न पाउँछन्’ भनेका थिए तर गणतन्त्र त नेता र कार्यकर्ताको खुसीका लागि मात्र ल्याएको जस्तो भएको छ।’

देशको पछिल्लो अवस्थाबारे चिन्ता व्यक्त गर्दै डा. दीक्षित भन्नुहुन्छ– ‘राजा हटेपछि धैरै आशा पलाएको थियो, सबै निराशामा परिणत हुन पुगेको छ। नेता र पार्टी मात्र बने, जनताले केही पाएनन्।’

जनताले परिवर्तनको खासै आभाष नपाएपछि पूर्वराजा ज्ञानेन्द्र पुनः सक्रिय हुन थालेको देखिन्छ। दश वर्षको अवधिमा भारतसहित अन्य मुलुकको भ्रमण गरेर होस् वा धार्मिक भ्रमणका रूपमा देश दौडाहा गरेर होस् उहाँले अप्रत्यक्षरूपमै देशको अवस्थाप्रति असन्तुष्टि पोखिरहनुभएको छ।
यसैबीच केही समयअघि पूर्वराजाले आफ्नो मुद्दा बोकेका तीन वटा राप्रपाका दोस्रो तहका नेतासँग भेटेर राजनीतिक सक्रियता देखाउनुभएको थियो।

नेताहरूसँगको भेटमा पूर्वराजाले फुटेका राप्रपालाई मिलेर अघि बढ्न सुझाव दिनुभएको थियो। राजनीतिक अवस्थाबाट विरक्तिएका पूर्वराजाले भित्रभित्रै अन्य विभिन्न पार्टीसँग आन्तरिक छलफल गर्न थालेको पनि बताइन्छ।

उहाँले राजावादीसँग पटक–पटक गर्नुभएको छलफल र देश दौडाहाका क्रममा आफूसँग भेट्न आउनेहरूलाई हिन्दू धर्म र संवैधानिक राजतन्त्रको पक्षमा अघि बढ्न गरिरहनुभएको अपीललाई हेर्दा उहाँ पारसपुत्र हृदयन्द्रलाई पुनःराजा बनाउन लालायित भएको देखिन्छ।

नेपालको राजनीतिलाई नजिकबाट नियालिरहनुभएका पत्रकारिताका प्राध्यापक तथा वरिष्ठ पत्रकार पी खरेलको ‘छिमेकी देश भारत र चीनलगायत अमेरिकासहितले नेपालमा सन्तुलित र विश्वसनीय सम्बन्ध कायम गर्ने संस्थाको खाँचो महशुस गरिरहेको अवस्थालाई हेर्दा नेपालमा ढिलोचाँडो राजनीतिक परिवर्तन नहोला भन्न सकिँदैन।

पूर्वराजाको पटक–पटक भारत र चीन भ्रमणले पनि नेपालमा सन्तुलित शक्तिको आवश्यकता छ भन्ने विषयमा छलफल भएपछि नै राजतन्त्रको भूमिकालाई लिएर पूर्वराजाले राप्रपा निकटका दलहरूसँग छलफल गरेको हुनसक्छ। भन्ने भनाइबाट पनि राजाको सक्रियता बुभ्mन सकिन्छ।
आफ्ना धारणालाई सशक्त रूपमा राख्न सक्ने भए पनि पछिल्लो समयमा देखिएको द्वैध चरित्रका कारण विश्वसनीयता गुमाउनुभएका राप्रपा नेपालका महत्वाकांक्षी नेता कमल थापाले हालै सम्पन्न पार्टीको केन्द्रीय बैठकमा आवश्यकता परे पार्टीको अध्यक्ष पदसमेत त्याग्न तयार भएको बताउनु र निर्वाचनमा सर्वाधिक हार खाएको राप्रपा निकट तीनै पार्टीका नेताबीच छलफल शुरु हुन थालेकाले विगतका गल्तीबाट पाठ सिकेर संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्रका लागि यी नेताहरू प्रतिबद्धतासहित एकजुट भएर आउन सके अभैm पनि संवैधानिक राजतन्त्र पुनर्वहालीको सशक्त विकल्प बन्नसक्ने पत्रकार खरेल तर्क गर्नुहुन्छ।

नेताहरूको अपरिपक्वता र गैरजिम्मेवार व्यवहारका कारण लामो समयदेखि मुलुकले भोग्नुपरेका समस्याहरूबाट आजित जनताले समेत राम्रो विकल्पको खोजी गरिरहेकोे यो अवस्थामा प्रजातन्त्र, राजतन्त्र र हिन्दूराष्ट्र मान्ने पार्टी एक ठाउँमा पुग्न सके मात्र यसको सम्भावना जीवित रहने खरेलको धारणा छ। यसका लागि पूर्वराजाले पनि आप्mनो राजनीतिक भूमिकालाई स्पष्ट पार्नुपर्ने बताउनुहुन्छ, पत्रकार खरेल।

यसैगरी विश्वहिन्दू महासंघका युवा अध्यक्ष राजन महर्जनले गणतन्त्रले देशको विकास गर्न नसकेको, जनताको कुनै पनि चाहना पूरा गर्न नसकेको अवस्थामा सबै राजावादी शक्ति एक हुनुको विकल्प नभएको दाबी गर्नुहुन्छ।

‘मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता, स्वाभिमान, अखण्डता, शान्ति र प्रजातन्त्रको संस्थागत विकास तथा नागरिकहरूको समग्र प्रगतिबाहेक अरू कुनै स्वार्थ आफूमा नभएको तथ्य जनतासँग राखेर नारायणहिटीबाट ज्ञानेन्द्रले विदा लिएको दश वर्ष बितिसक्दा पनि देशमा अमनचयन कायम हुन नसक्नुले नेताहरूको अकर्मण्यता प्रष्ट भइसकेको महर्जनको तर्क छ।

उता सरकारले उपलब्ध गराएको नागार्जुन दरबारमा पूर्वराजाले विगत ५ वर्षदेखि पाइला टेक्नुभएको छैन। नारायणहिटीबाट बाहिरिएपछि करिब एक वर्ष नागार्जुन दरबार बसेका पूर्वराजा एक वर्षलगत्तै निर्मल निवास फर्कनुभएको थियो। त्यसपछि आक्कलझुक्कलबाहेक पूर्वराजा नियमित बस्ने गरी नागार्जुन नगएको दरबारनिकट कर्मचारीहरू बताउँछन्।

२०७२ सालको शक्तिशाली भूकम्पबाट क्षति भएको नागार्जुन दरबारमा अहिले पूर्वराजाका केही सामग्रीमात्रै रहेका छन्। सशस्त्र प्रहरीको सुरक्षा घेराभित्र रहेको सो दरबारमा सबै ऋतुको नाममा छुट्टाछुट्टै बंगला रहेका छन्। उता दरबार हत्याकाण्डपछि विरक्तिनुभएकी पूर्वमुमा बडामहारानी रत्नराज्यलक्ष्मी हालसम्म महेन्द्र मञ्जिलबाट बाहिरिनुभएको छैन।

यही भदौ ४ गतेबाट ९१ वर्षमा पाइला टेक्नुहुने उहाँ निर्मल निवासले आयोजना गरेको कुनै पनि कार्यक्रममा सहभागी हुने गर्नुभएको छैन। बुढ्यौलीले भन्दा पनि छोरा वीरेन्द्रको वंशनाश भएपछि एकोहोरो हुनुभएकी रत्न महेन्द्र मञ्जिलमै बस्ने गर्नुभएको छ। छोरा ज्ञानेन्द्र, बुहारी कोमल, नाति पारस, बुहारी हिमानीलगायत परिवारका सदस्यहरू भने साप्ताहिक रूपमा महेन्द्र मञ्जिलमै गएर उहाँसँग भेट गर्ने गरेका छन्। अाजको नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु