नेकपा संसदीय दलमा अब बोर्ड समिति

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलमा अब बोर्ड समिति गठन गरिने भएको छ । संसदीय दललाई छिटोछरितो सञ्चालन एवं तुरुन्त निर्णय गर्न बोर्ड समिति गठनको तयारी भएको हो । राजधानी दैनिकले समाचार छापेको छ ।

संसदीय दलमा आवश्यक समिति एवं उपसमितिहरू गठन गरिने भएको छ । नेकपा संसदीय दलको विधान मस्यौदा समितिले बोर्ड र समिति एवं उपसमिति गठन गर्न पार्टीलाई सुझाव दिएको छ ।

संसदीय दल विधान मस्यौदा निर्माण समितिका संयोजक एवं नेकपाका नेता भीम रावलको नेतृत्वमा बनेको समितिले यस्तो सुझाव दिएको हो । ८ जेठमा गठन भएको समितिलाई १५ दिनभित्र प्रतिवेदन पार्टी सचिवालयमा बुझाउन निर्देशन दिइएको थियो ।

विधान मस्यौदाको काम सकिए तर बुझाउन बाँकी रहेको सदस्य रेखा शर्माले बताइन् । शर्माले भनिन्, ‘समिति संयोजक उपत्यका बाहिर हुनुहुन्छ, आउनासाथ प्रतिवेदन बुझाउनेछौं ।’ रावल नेतृत्वमा गठन भएको कार्यदलमा देव गुरुङ, खगराज अधिकारी, कृष्णभक्त पोखरेल, रामनारायण बिडारी र शर्मा सदस्य छन् ।

समितिले राष्ट्रिय सभामा दलको प्रतिनिधि र प्रमुख सचेतकको व्यवस्था रहने सुझाव दिएको छ । नेकपा राष्ट्रिय सभा दलको प्रतिनिधिका रूपमा दिनानाथ शर्मालाई चयन गरिसकेको छ । समितिले प्रतिवेदन बुझाइसकेपछि पार्टीले पारित गर्नासाथ प्रमुख सचेतक चयन पनि हुनेछ ।

यसैगरी, प्रतिनिधिसभातर्फ पुरानै पदाधिकारी रहने सुझाव समितिले दिएको छ । प्रतिनिधिसभातर्फ दलको नेता, उपनेता, प्रमुख सचेतक, सचेतक रहने सुझाव समितिले दिएको छ ।

नेकपाको संसदीय दलले यसअघि नै दलको नेतामा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र उपनेतामा सुवासचन्द्र नेम्वाङलाई चयन गरिसकेको छ । प्रमुख सचेतकमा देवप्रसाद गुरुङ र सचेतक शान्ता चौधरी चयन भइसकेका छन् ।

समितिका सदस्य एवं नेकपा संसदीय दलका प्रमुख सचेतक गुरुङले दलको विधान मस्यौदा कार्य अन्तिम चरणमा पुगेको बताए । केही प्राविधिक विषयबाहेक सबै विषय तयार भइसकेको जानकारी दिँदै उनले प्रतिवेदन सचिवालयलाई बुझाइने बताए ।

संसदीय दलको विधानमा तत्कालीन एमाले र माओवादी केन्द्रको विधानअनुसार अगाडि बढ्ने सहमति भएको सदस्य कृष्णभक्त पोखरेलले बताए ।

यसैगरी, पार्टीले गठन गरेका अन्य विभिन्न कार्यदलको प्रतिवेदन निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाइएको छ ।

सचिवालय बैठकले पार्टी मातहतका कमिटी, भ्रातृ संगठन, पेसागत संगठनलाई एकीकरण गर्न विभिन्न कार्यदल गठन गर्दै १५ दिनभित्रमा प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो । नेकपामा ९ सदस्यीय सचिवालय, ४५ सदस्यीय स्थायी कमिटी र ४४१ सदस्यीय केन्द्रीय कमिटी छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु