ब्राजिल राम्रो टिम होइन : पेले

एजेन्सी । ब्राजिललाई तीनपटक विश्वकप उपाधि जिताएका लिजेन्ड फुटबलर पेलेले अहिलेको विश्वकपमा ब्राजिल राम्रो टोली नभएको बताएका छन्। रुस विश्वकप आउन एक सातामात्र बाँकी रहँदा विश्वकपको उपाधि उचाल्ने दाबेदार टोली मानिएको ब्राजिलविरुद्ध प्रतिक्रिया दिदैं पेलेले भनेका छन्, ‘ब्राजिलको टोलीमा व्यक्तिगत ट्यालेन्ट भएका खेलाडीहरु धेरै छन् तर उनीहरुले राम्रो टोलीका रुपमा खेल्नेमा मलाई चिन्ता छ।’

‘मलाई टिटे(प्रशिक्षक) को क्षमतामा विश्वास छ,’ पेलेले भनेका छन्, ‘तर विश्वकप नजिकिदै गर्दा हामीसँग राम्रो टिम नभएकाले पनि त्यतिकै चिन्ता छ।’ नेमार आफ्नालागि विश्वको सर्वश्रेष्ठ खेलाडी भएको उनले बताएका छन्। नेमारमा अनुभव र परिपक्वता बढेको भएपनि राम्रो टोलीबिना उनी एक्लैले विश्वकप जित्न नसक्ने पेलेले भनेका छन्।

पेलेले आफ्नो नजरमा ब्राजिलको उत्कृष्ट टोली १९७० को दशकको रहेको बताएका छन्। त्यसबेला आफूसहितका खेलाडीहरुले देशका लागि एक टिम भएर खेल्दै विश्वकप उचालेको उनले स्मरण गरे।

सम्बन्धित शिर्षकहरु