नेपालीकाे ज्यान विदेशी औषधि परीक्षण गर्ने प्रयोगशाला

काठमाडौं । विदेशमा उत्पादित नयाँ–नयाँ भ्याक्सिन र औषधिको प्रभावकारिता जाँच्न नेपालीलाई प्रयोग गर्ने गरिएको छ । बर्सेनि हजारभन्दा बढी संघसंस्थाले नेपालीमाथि अनुसन्धान गर्दै आएकोमा केही औषधि, इन्जेक्सन, भ्याक्सिन र मेडिकल डिभाइस परीक्षण पनि हुने गरेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार सन् २०१७ मा मात्र परिषद्बाट ५०० भन्दा बढी संस्थाले नेपाली जनतामा अनुसन्धान गर्न अनुमति लिएका छन् । सन् २०१८ को अप्रिलसम्म चार महिनामा मात्रै परिषद्बाट एक सय ७६ संस्थाले अनुसन्धानका लागि अनुमति लिइसकेका छन् ।

यसबाहेक मेडिकल कलेजलगायत ३० संस्थाले पनि स्वास्थ्य अनुसन्धानको अनुमति दिने गर्छन् । ती संस्थाले परिषद्ले जत्तिकै संख्यामा अनुमति दिने गरेको परिषद्का अध्यक्ष डा अञ्जनीकुमार झाले नयाँ पत्रिकालाई बताए ।

हाल ललितपुरका २० हजार बालबालिकामाथि टाइफाइडविरुद्धको ‘टाइभ्याक भ्याक्सिन’ परीक्षण भइरहेको छ । मुख्यतः पाटन अस्पतालमा आउने नौ महिनादेखि १६ वर्षसम्म उमेरका बालबालिकालाई यो भ्याक्सिन लगाउने गरिएको छ ।

अमेरिका र बेलायतमा बनेको यो औषधिको प्रभाव कस्तो हुन्छ भनेर परीक्षण गर्न नेपालका बालबालिका छानिएको हो । अमेरिकाको युनिर्भसिटी अफ मेरिल्यान्ड एन्ड स्कुल अफ मेडिसिनको सेन्टर फर भ्याक्सिन डेभलपमेन्ट र बेलायतको युनिभर्सिटी अफ अक्सफोर्डअन्तर्गतको अक्सफोर्ड भ्याक्सिन गु्रपको सहकार्यमा यो भ्याक्सिन नेपाल ल्याइएको हो ।

‘हो, पाटन अस्पतालमा यो भ्याक्सिन परीक्षण भइरहेको छ । यसमा अन्यथा केही पनि छैन,’ परीक्षणमा संलग्न डा। बुद्ध बस्नेतले नयाँ पत्रिकालाई बताए । अफ्रिकी मुलुक मराबीमा पनि यो भ्याक्सिनको परीक्षण भइरहेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु