बालकृष्ण ढुंगेल दोषी होइन,गणतन्त्रका लागि लडे बापत अपराधी बन्नु पर्‍यो

गणतन्त्र दिवसका दिन कैद मिनाहा भई जेलमुक्त भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता बालकृष्ण ढुंगेल यतिबेला चर्चाको केन्द्रमा छन् । उनी जेलमुक्त भएको विषय राष्ट्रिय बहसको विषय बनिरहेको छ । यही विषयमा केन्द्रित रहेर हामीले ढुंगेलसँग कुराकानी गर्‍यौं । ४० मिनेट लामो कुराकानीका क्रममा उनले आफ्नो जेल जीवनका वृतान्त मात्र सुनाएनन्, राष्ट्रिय राजनीति, एमाले–माओवादी एकता र आफ्नो भविष्यको मार्गचित्रसमेत प्रस्तुत गरे । अत्यन्तै भावुक र काव्यिक रुपमा प्रस्तुत भएका ढुंगेलसँग उज्यालो नेपालका प्रधान सम्पादक मनहरि तिमिल्सिनाले गरेको कुराकानी   ।

गणतन्त्र दिवसको दिन नेपाल सरकारको सिफारिसमा तपाई जेलमुक्त हुनुभयो । रिहाइपछिको अनुभूति कस्तो छ ?

ठीकै छ, अब सामानय जीवनमा फर्कने कोशिस गरिराखेको छु । अस्वस्थ्यता, लामो समय वर्गसंघर्षमा सामेल भएको एक योद्धा, जुन युद्धको भूमरिबाट यहाँसम्म आइपुगें, त्यही गणतन्त्र नेपाल निर्माण गरिसकेपछि आफैले लडेर ल्याएको व्यवस्थाभित्र आफै अपराधी बनेर राजनीतिक आन्दोलनमा लागेका केशहरुलाई अदालतले ऐनका पुराना ठेलीहरु पल्टाउँदै जसरी मलाई अपराधी बनाउने कोशिस गरियो । र, गिरफ्तार गरेर जेल हाल्यो, त्यसबाट बाहिर आएपछि आफ्नो राजनीतिक जीवनलाई अघि बढाउने क्रममा भेटघाट आदि ईत्यादि गरिराखेको छु । छलफल चलिरहेको छ, त्यसले सुखद् अनुभूति दिलाई राखेको छ । बिस्तारै राजनीतिक जीवनमा फर्कने कोशिसमा छु ।

आखिर अदालतले तपाईलाई दोषी नै प्रमाणित गर्‍यो। कैद मिनाहा गर्दैमा अब बालकृष्ण ढुंगेल अपराधी होइन भन्न मिल्छ र ?
यो कुरा बडो बिडम्वना छ । हिजो म आफूले हजारपटक बोलें । मेरो पार्टीका अध्यक्ष कमरेड प्रचण्डले पनि आठ दशपटक बोल्नुभो, विज्ञप्ति निकाल्नुभो, यो जनयुद्धको सवाल र राजनीतिक विषय हो, यसको समाधान पनि राजनीतिक तरिकाले नै गरिनुपर्छ, यो व्यक्तिगत विषय होइन । बालकृष्ण ढुंगेल दोषी होइन, यदि दोषी हो भने म दोषी हुँ, त्यसैगरि बाबुराम भट्टराई र मोहन वैद्यले पनि त्यही भन्नुभो । सबै नेताहरुले पनि त्यही भनेर बोल्नुभो ।

उज्जन भन्ने मान्छे यस्तो मान्छे हो, जो नेपालको एउटा यस्तो सपूत थियो भनेजस्तो बनाइएको छ । सपूत भए पनि कपूत भए पनि, जे–जे भए पनि मान्छे मर्नु हुँदैनथ्यो । यो मेरो पनि मत हो । तर, आन्दोलन, युद्ध हो, युद्धमा मान्छेहरु मर्दा रहेछन् ।

त्यसलाई बेवास्ता गरेर बालकृष्ण ढुंगेलको व्यक्तिगत इबिका कारण यो घटना घटेको हो, यो राजनीतिक केश हुँदै होइन भनेर तानियो । अहिले फेरि छुट्दा बालकृष्ण ढुंगेलको व्यक्तिगत केश होइन भनिएको छ । ऐन, कानूनअनुसारको सजाय भोगिसकेपछि पनि बालकृष्ण जेलबाट बाहिर निस्कनु हुँदैन, ऊ जेलभित्रै मर्नुपर्छ भन्ने खालको सोचअन्तर्गत उनीहरुले हामीलाई जसरी दपेट्न खोजिराखेका छन्, यो निकै भद्धा छ । यो मान्छेले लाज पचेपछि जे–पनि गर्दो रहेछ भन्ने प्रमाण हो । त्यसले अलिकति दुखी पनि बनाएको छ ।

यो कस्तो खालको राजनीतिक संस्कार होला, कस्तो अभ्यास होला भन्ने अनुभूति भइरहेको छ । यो कस्तो खालको न्यायिक अभ्यास हो ? दुख लाग्छ । न्यायाधीशज्यूहरुले मिसिल पनि अध्ययन नगरी फैसला गर्नुभो । राजनीतिक आन्दोलनको केशलाई व्यक्तिगत बनाउनुभो । त्यतिबेला मानवअधिकारवादीहरु, पत्रकार साथीहरुले पनि दपेट्नुभो । जब बालकृष्णलाई दपेटिन्छ भने त्यहाँ न्याय हुन्छ, त्यहाँ बालकृष्णको मानव अधिकार हुँदैन, बालकृष्णलाई न्याय चाहिँदैन । बालकृष्ण भन्ने मान्छे दुनियाँले दपेट्नका निम्ति जन्मिएको पात्र हो, उसलाई जे–पनि गर्न छुट छ भनेर जुन व्यवहार देखाउनुभो । र, मलाई गिरफ्तार गरियो, जेल हालियो । जेलबाट छुटेर अहिले फेरि ऐनमुताबिक छुटेको हुँ । यो प्रक्रिया लामो प्रक्रिया छ, यसको सबै प्रक्रिया मलाई थाहा छैन । मेरो कैद मिनाहा भएको छ ।

कारागार व्यवस्थापन विभाग र नेपालको प्रचलित कानून बमोजिम छुटेको हुँ । नेपालको ऐनबमोजिम ४० प्रतिशत कैद भुक्तान गरेका मजस्ता ८०० जनाभन्दा बढ्ता मानिसहरु छुटेका छन् । ८०० भन्दा बढी मान्छेहरु छुट्दा बालकृष्ण ढुंगेल छुट्न नहुने ? बालकृष्ण भन्ने मान्छे यस्तो मान्छे हो, त्यसलाई त्यही मार्नुपथ्र्यो, जेलबाट निकाल्नै हुँदैनथ्यो भनेर हौवा पिटाइएको छ । यो चाहिँ बिडम्बनापूर्ण छ । एकातिर व्यक्तिगत घटना हो भन्ने अर्कोतिर राजनीतिकरण गर्ने प्रयास भएको छ । पक्रँदा व्यक्तिगत भन्ने कानून बमोजिम छोड्दा राजनीतिक विषय बनाएर जेनेभा महासन्धिका यति नम्वर र उति नम्वर धारा भनेर लागिरहेका छन् । यो प्रश्न मसँग भन्दा पनि ती विद्धानहरुलाई तिमीहरु पक्रँदा व्यक्तिगत भन्छौं, छोड्दा राजनीतिक भन्छौं, के हो भनेर सोध्नुस् न । यो कस्तो व्यापार हो भनेर सोध्नु न ।

तपाईका समर्थक भन्छन्, ‘बालकृष्ण ढुंगेल गणतन्त्रको सेनानी हो, उसले जे–जति गर्‍यो, देशका लागि गर्‍यो’ । तर, तपाईका विरोधी भन्छन्, ‘के गणतन्त्र ल्याउन उज्जनकुमार श्रेष्ठकै हत्या जरुरी थियो ?’ व्यक्तिहत्या नगरी पनि गणतन्त्र आउँदैनथ्यो र ?

उज्जनकुमार श्रेष्ठ २१ औं शताब्दीको रामचन्द्र नै जन्मिएको रहेछ क्यारे, रामचन्द्र नै मर्यो भन्याजस्तो निकृष्ट खेल खेलिएको छ । मान्छे मर्नु हुँदैनथ्यो, यो देशमा संकटकाल घोषणा गर्नु हुँदैनथ्यो, टाउकाको मूल्य तोकिनु हुँदैनथ्यो । संविधान सभाको माग गरेका भरमा मान्छेलाई ड्याङड्याङ गोली हानेर मार्नु हुँदैनथ्यो, सामूहिक बलात्कार गर्नु हुँदैनथ्यो । घर बस्तीहरु खरानी बनाएर आगो सल्काउनु हुँदैनथ्यो, जनताले मत हालेर संविधान निर्माण गर्न पाउनुपर्छ भनेर माग गर्दा अमेरिकाका हेलिकोप्टर, बेल्जियमका बम ल्याएर मान्छेका घर–घरमा, धुरी–धुरीमा पड्काउन हुँदैनथ्यो ।

२० औं, २२ औं हजार मान्छेहरु मरेका छन् यहाँ । तर, आफ्ना अरु जम्मै मरेका मान्छेहरुलाई छोड्दिएर उज्जन भन्ने मान्छे यस्तो मान्छे हो, जो नेपालको एउटा यस्तो सपूत थियो भनेजस्तो बनाइएको छ । सपूत भए पनि कपूत भए पनि, जे–जे भए पनि मान्छे मर्नु हुँदैनथ्यो । यो मेरो पनि मत हो । तर, आन्दोलन, युद्ध हो, युद्धमा मान्छेहरु मर्दा रहेछन् । गणतन्त्र ल्याउनका निम्ति मान्छेहरु मर्न हुँदैनथ्यो, मार्न हुँदैनथ्यो भन्ने सोच नराम्रो होइन ।

अहिले पनि ९४ वर्षको बुढो टार केराबारी गाविसमा जीवित हुनुहुन्छ, त्यो बुढोसँग गएर को हो भुवन (उज्जन) भन्ने मान्छे ? कति पवित्र मान्छे थियो, कति असल मान्छे थियो भनेर खोजिँदैन ।

तर, माओवादी मार्न कसले सुरु गर्‍यो, माओवादीको सुराकी गर्न कसले सुरु गर्‍यो ? सुराकीको भूमिका पूरा गर्न काठमाडौंमा बसेको उज्जन श्रेष्ठलाई गाउँ लगियो, गाउँ लगेर माओवादीका विरुद्ध परिचालन गरियो, सुराकी बनाइयो । उसले सुराकी गरेर मारेका मान्छेहरुको हिसाब–किताब कसले गर्ने ? प्रह्लाद गौतमको हिसाब कसले गर्ने ? पुस्कर गौतम जेलमा हुनुहुन्छ, पुस्कर गौतमको बाउलाई पिटेर, यातना दिएर पछि रोगी बनाएर मारियो, त्यसको हिसाब कसले खोज्दिने ? सिन्धुलीको जेलबाट दिनेश गौतम बेपत्ता हुनुहुन्छ, त्यसको हिसाब कसले खोज्दिने ? कमला कार्कीलाई मारियो, त्यसको हिसाब कसले खोज्दिने ? सयौं निर्दोष मान्छेहरुलाई मुद्धा लगाइयो, यातना दिइयो, भैसी फुकाएर दाम्लोमा बाँधेर पिटियो, माओवादीलाई समर्थन गर्छन् भनेकै भरमा गाउँभरि आतंक सिर्जना गरियो, त्यो सबै उज्जनको नेतृत्वमा गरियो ।
मान्छेका डडाल्नोका भाटा र बुटका डामहरुको हिसाब किताब कसले खोज्दिने ? यतातिर जानेभन्दा पनि राजनीतिक आन्दोलनका घटनालाई राजनीतिक रुपमै लिनुपथ्र्यो । अहिले हामी शान्ति प्रक्रियामा छौं, गणतन्त्र नेपाल निर्माण गरेका छौं । संघीयता, समावेशी र समानुपातिक व्यवस्थामा छौं । यस्तो राम्रो पवित्र आन्दोलनमा मेरो भाइ सुराकी बनेर जानु हुँदैनथ्यो, त्यो गलत थियो भनेर बुझ्नु पर्दैन ?

सिंहदरबारभित्र पसेर द्धन्द्धपीडितको राहतको कुम्लो बोक्ने, सर्वोच्च अदालतभित्र पसेर यो व्यक्तिगत इबिले मारेको भनेर पानीमा भिजाएको मजेत्रो निचोरेर मेरो आँशुले भिजेको मजेत्रो हो भनेर हल्ला गर्ने काम गरियो । अनि, त्यसको भिजुअलाइज गर्दिन्छन् । गणेश पाण्डे र मात्रिका पौडेलजस्ता पत्रकारहरुको जन्म हुन्छ यहाँ । उनीहरु फिल्डमा जाँदैनन् । उज्जनले सुराकी गरेर मारिएका मान्छेहरु, बेपत्ता पारिएका मान्छेहरु, पिटाई खाएका मान्छेहरुलाई सोधिँदैन । १२ वर्षको बच्चा गिरफ्तार गरियो, उज्जनको नेतृत्वमा ६८ वर्षको बुढालाई कति पिटियो, अहिले पनि ९४ वर्षको बुढो टार केराबारी गाविसमा जीवित हुनुहुन्छ, त्यो बुढोसँग गएर को हो भुवन (उज्जन) भन्ने मान्छे ? कति पवित्र मान्छे थियो, कति असल मान्छे थियो भनेर खोजिँदैन ।

यो देशमा एउटा यस्तो मान्छे मर्‍यो, अरु कोही मरेनन्, बालकृष्णले मार्‍यो भनिँदैछ । म त्यो घटनामा संलग्न नै छैन । म त्यो घटनामा संलग्न नभएको मान्छेलाई ज्यानमारा हो भनेर झुटो अभियोगमा जेल बसेर बाहिर निस्कँदा पनि फेरि मलाई सुख छैन । नयाँ–नयाँ रुपमा, नयाँ–नयाँ सातु खाएका नयाँ–नयाँ भिखारीहरु सडकमा नांगै हिडेका छन् । यो देख्दा गज्जब लाग्छ ।

तपाईले भन्नुभो, उज्जन श्रेष्ठको हत्यामा म संलग्न छैन । उज्जनको हत्या हुँदा तपाई कहाँ हुनुहुन्थ्यो त ?

कागजी कुरा गर्ने कि सत्य कुरा गर्ने ? म चाहिँ सत्यमा विश्वास गर्छु । यथार्थ कुरा उज्जनको घटना घटेको बेला म काठमाडौंमा थिएँ । एक जना दोलखाको कृपासुर भन्ने साथी अकस्मात बिरामी हुनुभो । म उहाँको उपचारको निम्ति काठमाडौं आएको थिएँ । त्यतिबेला मैले ‘म काठमाडौंमा थिएँ, फलानो डाक्टरकोमा थिएँ, फलानो साथीलाई उपचार गर्दै थिएँ’ भन्दा त्यो डाक्टर पनि मारिन्थ्यो, त्यो हस्पिटल पनि सायद सिल हुन्थ्यो । मैले ती कुराहरु भन्न मिल्दैनथ्यो, त्यो अवस्था थियो । राज्य यस्तो क्रुर थियो, जनादेश र जनसत्ता भन्ने पत्रिकाको हेडलाइन पनि नपढीकन ‘डाडु ज’ लेखेको पत्रिका देखेका भरमा पत्रिका समातेका मान्छेहरु मारिन्थे । त्यो बेला मैले सत्य बोल्दा अरु मान्छेहरु मारिन्थे, मैले त्यसो गर्न चाहिनँ ।

आज गणतन्त्र त त्यसै आएजस्तो, फर्सी फुटाल्दा भित्रबाट बियाँ निस्केजस्तो गणतन्त्र टक्लक्क निस्किएकोजस्तो बनाइएको छ । आज एकाथरि मान्छेहरु नांगो जुलुसमा निस्किएका छन् । हुँदा हुँदा त हेर्नुस्, देशमा संकटकाल लाग्दै गर्दा, देशमा टाउकाको मूल्य तोकिँदै गर्दा, पत्रकारहरुले लेख्न पाउने अधिकार खोसिँदै गर्दा, नागरिकले बोल्न पाउने अधिकार खोसिँदै गर्दा, महिलाको अस्मिता लुटिँदै गर्दा, बस्तीका बस्ती ‘खारा’ बनेर आगोमा दन्किँदै गर्दा साम्राज्यवादको सातु खाएर बसेका रविन्द्र मिश्रहरु बालकृष्ण ढुंगेललाई हिटरमा पिसाब फेराएको समाचार भन्न सकेनन् । सायद साम्राज्यवादको तलुवा चाट्न पाइँदैन भन्ने त्रास थियो होला ।

उज्जनको घटना घटेको बेला म काठमाडौंमा थिएँ । एक जना दोलखाको कृपासुर भन्ने साथी अकस्मात बिरामी हुनुभो । म उहाँको उपचारको निम्ति काठमाडौं आएको थिएँ । त्यतिबेला मैले ‘म काठमाडौंमा थिएँ, फलानो डाक्टरकोमा थिएँ, फलानो साथीलाई उपचार गर्दै थिएँ’ भन्दा त्यो डाक्टर पनि मारिन्थ्यो।

मैले हिटरमा पिसाब फेरेर गणतन्त्र ल्याइदिएपछि, कृष्ण सेन ‘ईच्छुक’ले गणतन्त्रको आवाजमा कलम चलाउँदा पिटाई खाँदाखाँदा मरेर गणतन्त्र ल्याइदिएपछि, बीपिन भण्डारी, पूर्ण पौडेल, दिलबहादुर राईहरुले नागार्जुनको खाल्डोभित्र जिउँदै पुरिएर जीवनगाथा गुमनाम बनाएर गणतन्त्र ल्याइदिएपछि सुकिलो टिसर्टमा कुनै बेलायतीजस्तो लाग्ने एउटा रविन्द्र मिश्र भन्ने मान्छे राजनीतिक परिदृश्यमा निस्कन्छ । अनि, उसले विवेकशील नाम गरेको पार्टी खोल्छ, आज विवेकशील सडकमा नांगै दौडिराखेको छ । उसले भन्छ, ‘बालकृष्ण ढुंगेललाई बाँच्न दिनु हुँदैनथ्यो, सजाय काटेर जेलबाट बाहिर आउन दिनु हुँदैनथ्यो ।’ यहाँभन्दा निकृष्टता के हुन्छ ?

तपाईले भन्नुहुन्छ, अदालतमा पेश भएको मिसिल अध्ययन नै नगरी फैसला गरियो ।’ खास मिसिलमा के थियो ? फैसला कसरी भयो ?

सुरु जाहेरी नै माओवादीका नेता बालकृष्ण ढुंगेल र पुस्कर गौतम लगायतका मान्छेहरुलाई गिरफ्तार गराउन प्रशासनलाई सहयोग गरेको अभियोगमा मेरो भाइ भूवन भनिने उज्जनकुमार श्रेष्ठ माओवादीले मारे भनेर गणेशकुमार श्रेष्ठले जाहेरी दिनुभएको छ । त्यो मिसिलको त कुरै छोडौं, त्यो जाहेरीसम्म पढिएन । लास बरामत छैन, बरामत नभएको लासको मामिलामा कर्तव्यज्यान मुद्दा चल्नै मिल्दैन । मान्छे बेपत्ता भएको ऐनअन्तर्गत मुद्दा चल्न सक्थ्यो । तर, ज्यान मुद्दा दर्ता गरियो, ज्यान मुद्दा चलाइयो, फैसला गरियो, सजाय सुनाइयो, आठ वर्षसम्मको जेल राखियो ।

सर्वोच्च अदालतमा रिट हुँदाहुँदै बालकृष्ण ढुंगेल छोडियो, यो कदम गैरसंवैधानिक हो भन्नेहरु पनि छन् नि ?

नेपाल सरकारको ऐनमुताबिक म जेल बसें, जेल सजाय भुक्तान गरें । यो मेरा लागि मात्र गरिएको होइन, ८०० जनाभन्दा बढीको मिनाहा भएको छ । ८०० जनाले मिनाहा पाउँदा बालकृष्ण पनि त्यो लिष्टभित्र प¥यो । राज्यले मलाई केही गुन लगाएको होइन, मलाई केही मान दिएको होइन, थप अन्याय नगरेको हो । कारागार व्यवस्थापन विभाग, जेल प्रशासनले ऐनमुताबिक गरेको सिफारिस कार्यान्वयन भएको मात्र हो । बालकृष्णले भुक्तान गर्नुपर्ने सजाय भुक्तान गर्‍यो भनेको मात्र हो । जेलभित्र उसको चालचलन राम्रो थियो भनेको मात्र हो । त्यही सिफारिसमा राष्ट्रपतिले तोक लगाउनु भएको हो ।

हिजो संविधान सभामा गगनजी र म सँगै थियौं । उहाँ भन्नुहुन्थ्यो, ‘दाइ तपाईमाथि अन्याय भएको छ, हिम्मत नहार्नुहोला ।’ त्यो भन्ने गगन थापा सायद बजारमा नाम बिक्री हुन्छ भन्ने लागेर हो कि सन्नी लियोन बन्न खोज्दै हुनुहुन्छ । रविन्द्र मित्रको पनि त्यही हो ।

राष्ट्रपति बनिसकेपछि पनि रामवरणले यो देशमा कति जना मान्छे तोके लगाएर छोडे ? गगन थापाजीहरु त्यो हेर्नुहुन्न । आज कुप्री बुढीलाई उठी सुख न बसी सुख बनाइएको छ । गगनजीहरु सडकमा ओर्लिनुभएको छ । यो कुन जादु हो ? म दंग परिराखेको छु । हिजो संविधान सभामा गगनजी र म सँगै थियौं । उहाँ भन्नुहुन्थ्यो, ‘दाइ तपाईमाथि अन्याय भएको छ, हिम्मत नहार्नुहोला ।’ त्यो भन्ने गगन थापा सायद बजारमा नाम बिक्री हुन्छ भन्ने लागेर हो कि सन्नी लियोन बन्न खोज्दै हुनुहुन्छ । रविन्द्र मित्रको पनि त्यही हो । गगन थापाजस्तो मान्छे नेपाली राजनीतिको युवा साथी सन्नी लियोन नबनिदिएको भए हुन्थ्यो भन्ने लाग्छ ।

प्रसङ्ग बदलौं, तपाई कसरी राजनीतिमा आउनुभयो, आफ्नो राजनीतिक जीवनबारे के भन्नुहुन्छ ?

म २०४२ सालमा विद्यार्थी जीवनबाट राजनीतिमा आएँ । त्यतिबेला मलाई ओमकुमार सुवेदीले संगठित गर्नुभयो । उहाँ शिक्षक हुुनुहुन्थ्यो । परिवर्तनका निम्ति बलिदान गर्ने शहिदहरुको जीवनीबाट म प्रभावित भएँ । राणा लखेट्न, प्रजातन्त्रका लागि लडेका गंगालाल, धर्मभक्तहरुको जीवनीबाट प्रभावित भएँ । त्यस्तै बन्न सकिन्छ कि सकिँदैन होला भन्ने कौतुहलता जाग्यो । त्यही प्रश्नको उत्तर खोज्न राजनीतिमा लागें र आजको अवस्थामा छु ।

नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी बनेको छ । यसलाई तपाईले कसरी हेर्नुभएको छ ?

यो एकता वस्तुगत परिस्थितिको उपज हो । वामहरु एकै ठाउँमा आएर देशको विकास र समृद्धिका निम्ति, राष्ट्रियताको रक्षाका निम्ति खडा हुनुपर्ने थियो । यो ‘फुटाउ र शासन गर’ नीति विरुद्धको कदम हो । म एकताप्रति खुसी छु । एकताको आँट गर्ने केपी शर्मा ओली र प्रचण्डलाई अन्तर्आत्मादेखि धन्यवाद भन्न चाहन्छु, सलाम गर्छु ।

व्यक्तिगत रुपमा को–कसलाई कति नोक्सान पर्‍यो होला । तर, यो कोर्शले देश र जनतालाई हित गर्छ । यो देश प्रकृतिले भरिपूर्ण देश हो । प्रकृतिलाई प्रविधिसँग जोडेर यसको विकासतिर लाग्नुपर्छ । मैले यही आशा गरेको छु । मैले प्रचण्डसँग भेटेर भने, ‘एकातिर फूल, अर्कातिर मौरी बनेको अवस्था थियो । अब मौरीको घार र फूलबारी एकै ठाउँमा आयो । यो राष्ट्रका निम्ति महत्वपूर्ण विषय हो ।’

तपाई जेलबाट छुटेपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष प्रचण्डसँग भेट्नुभयो होला । उहाँहरुले के भन्नुभो ?

मैले अध्यक्ष कमरेड प्रचण्डसँग भेटें । उहाँलाई तपाईहरुले गरेको निर्णयप्रति धन्यवाद भनें । मेरो स्वास्थ्य अवस्था राम्रो छैन । त्यसैले धेरै हतारमा छैन, केही समय आराम गर्छु, फ्रेस हुन्छु, अनि थप कुरा गर्छु । प्रधानमन्त्रीज्यू व्यस्त पनि हुनुहुन्छ, उहाँलाई भेटेको छैन, केही दिनमा भेट्छु र धन्यवाद दिन्छु ।

बालकृष्ण ढुंगेलको बाँकी जीवन कसरी बित्छ ? भविष्यको योजना र सपना के छ ?

पहिलो कुरा, मेरो गणतन्त्र अपहरित छ, मेरो न्याय बलात्कृत छ । मेरो भागको गणतन्त्र अपहरण गर्नेहरुसँग संघर्ष गर्छु । जसले गणतन्त्रका विरुद्ध टाउकाको मोल तोक्यो, जसले गणतन्त्रका विरुद्ध संकटकाल लगायो, त्यही मान्छे गणतन्त्र आएपछि प्रधानमन्त्री बन्यो, गणतन्त्रको स्वाद उनीहरुले नै लिए । कमल थापा उपप्रधानमन्त्री भए, गणतन्त्रको स्वाद लिए । जो गणतन्त्रका निम्ति लडे, त्याग, बलिदानको गाथा कोरे, उनीहरु अहिले पनि गुमनाम छन् । गणतन्त्रको स्वाद टाउकाको मोल तोक्नेहरुसँगै छ, त्यसलाई खोसेर गणतन्त्रका निम्ति लड्नेहरुमा पुर्‍याउन कोशिस गर्छु ।

गणतन्त्र शेरबहादुर देउवा र कमल थापाहरुको भान्साभित्र पसेको छ, त्यो गणतन्त्रको स्वादलाई लिलाबहादुर सार्कीहरुको मझेरीमा ल्याउनका निम्ति म निरन्तर लागिरहन्छु । यो देशलाई न्याय, समानता, स्वतन्त्रता र समृद्धिको लैजान भूमिका खेल्छु, एकीकृत पार्टीको नीति, योजना र कार्यक्रम अनुसार अघि बढ्छु । पार्टीले जहाँ आवश्यक ठान्छ, त्यहीँ रहेर काम गर्छु ।

व्यक्तिगत कुरा गर्दा म बिरामी छु । तर, म मेरो मनको अदालतमा अपराधी छैन । मेरो मुटु जाँच्ने मेसिन बनेको दिन मेरो आँट पनि बिरामी हुने छैन । मेरो आँटमा कुनै कमि छैन । यो देशलाई अनिकालमुक्त चुल्हो, विषमुक्त भान्सा, लिलामीमुक्त बारी बनाउनुछ । नेपालको पहरालाई लहराको थाङ्ग्रोमा बदलिएको, प्रकृतिलाई प्रविधिमा बदलेको नेपाल बनाउन लागि पर्छु । यो मेरो परिकल्पना छ, यसका लागि अभियान चलाउँछु ।

म प्रधानमन्त्री, पार्टी अध्यक्ष, कृषि मन्त्री, सिचाईमन्त्री, भौतिक योजना तथा निर्माण मन्त्री, योजना आयोगका उपाध्यक्षसँग भेटेर कुरा गर्छु । प्रकृतिले नेपालमा पहरो दियो, त्यो पहरो पनि लहरोको थाङ्ग्रोमा बदल्दिनुपर्छ र मात्रै हामी समृद्ध देश बनाउन सक्छौं । अर्काको कुरा काटेर होइन, कुरा जोतेर होइन, हलो जोतेर बाँच्न सक्छौं । युवाहरु विदेश पठाएर देश बन्दैन, यहीँको माटो सुम्सुमाउनुपर्छ । जुन देशका युवाले आफ्नो देशको माटो सुम्सुमाए, त्यो देश समृद्धिको शिखरमा पुग्यो, जुन देशका युवा विदेसिन बाध्य बने, त्यो देश गरीब बन्यो । म देशलाई धनी बनाउने अभियानमा आफ्नो ठाउँबाट भूमिका खेल्छु ।

तपाई नेपाल कम्युनिष्ट पार्टीको नेता पनि हुनुहुन्छ, पार्टीका नेताहरुसँग कुन जिम्मेवारी माग्नुहुन्छ ?

आजसम्म पार्टीमा कुनै पद मागेको छैन, फेरि पनि माग्दिनँ । मृत्यु सल्किएको कुकुर र भ्रष्टाचार सल्किएको नेता देशका लागि हानिकारक छन्, म सधै सदाचारका निम्ति लड्छु । सदाचार र कृषि क्रान्तिका लागि काम गर्न ईच्छुक छु । शहरको बिस्कुट गाउँ पसाउने होइन, गाउँको ईस्कुश शहर पसाउने अभियानका लागि भूमिका माग्छु । आर्थिक समृद्धि र विकासका निम्ति पार्टीले जुन भूमिका दिन्छ, त्यही काम गर्छु । व्यक्तिगत रुपमा ‘माटो सुम्सुमाउने कार्यक्रम’मा काम गर्ने ईच्छा छ ।

तपाईका लाखौं समर्थक र लाखौं विरोधीहरु पनि छन्, उनीहरुलाई के भन्न चाहनुहुन्छ ?

हामी सानो हुँदा बुवाआमाहरु रुख चढेर घाँस झार्नुहुन्थ्यो, हामी भुइँमा घाँस समेल्थ्यौं । हामी बयस्क भएपछि रुख चढ्यौं र बुवाआमा भुइँमा घाँस समेल्नुभयो । यो समाजको गति हो । गतिशील र वर्ग समाजमा समर्थन र विरोध स्वाभाविक हो । मेरो समर्थकहरुलाई हृदयदेखि धन्यवाद भन्छु ।

म मेरो मनको अदालतमा अपराधी छैन । मेरो मुटु जाँच्ने मेसिन बनेको दिन मेरो आँट पनि बिरामी हुने छैन । मेरो आँटमा कुनै कमि छैन । यो देशलाई अनिकालमुक्त चुल्हो, विषमुक्त भान्सा, लिलामीमुक्त बारी बनाउनुछ ।

हाम्रो क्रान्ति पूर्ण भएको छैन । समय पनि परिवर्तन हुँदै जान्छ, एउटा पुस्ताले एउटा तहसम्म लड्छ, अर्को पुस्ताले नयाँ अभियान सुरु गर्छ । हामीले जति भूमिका खेलेका छौं, योगदान गरेका छौं, त्यसभन्दा बाँकी कार्यभार शुभेच्छुकहरुको पुस्ताले खेल्नेछ भन्नेमा म आशावादी छु । म सर्वहारा वर्गको मुक्ति, न्याय, स्वतन्त्रता, देशको स्वाधीनताका लागि बाँकी जीवन समर्पित गर्नेछु ।

शहिदका सपनाप्रति सधैं इमान्दार बन्नेछु, यहाँहरुसँग पनि यही अपेक्षा गर्दछु । बालकृष्ण ढुंगेल यहाँहरुको दाइ हो, भाइ हो, छोरा हो, सन्तान हो, मित्र हो, सदस्य हो, ममा पनि भावना छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु